लेखनाथ उद्योग वाणिज्य संघमा ३० वर्षपछि महिला अध्यक्ष

पोखरा । लेखनाथ उद्योग वाणिज्य संघमा पहिलोपल्ट महिला नेतृत्व निर्वाचित भएको छ । संघको तीन दशक लामो इतिहासमा पहिलोपल्ट जानुका अधिकारी पराजुली प्यानल निर्वाचित हुँदै इतिहास रचेको हो ।

संघको १५ औं महाधिवेशनअन्तर्गत आइतबार राति सम्पन्न गणनामा उनले अध्यक्षका प्रत्यासी राजेन्द्र ओझालाई १६३ मतान्तरले पराजित गर्दै आगामी २ वर्षका लागि निर्वाचित हुन सफल भएकी हुन् । लामो समयदेखि संघमा आबद्ध जानुका यसअघि महासचिव थिइन् । २०७२ मा संघमा आमा समूह तथा संघसंस्था परिचालन समिति संयोजक भई कुशलतापूर्वक भूमिका निर्वाह गरेकी उनी २०७४–७६ को कार्यकालमा महिला सदस्यको रूपमा संघमा निर्वाचित भएकी हुन् । क्रमशः कोषाध्यक्ष, उपमहासचिव हुँदै महासचिव निर्वाचित भएकी थिइन् ।

यसपालि कुल २०१९ मतदातामध्ये चुनावमा १८८१ मत खसेको थियो । जसमा विजयी जानुकाले ९९६ मत प्राप्त गरेकी हुन् । ओझाको पक्षमा ८३३ मत आएको निर्वाचन संयोजक वरिष्ठ अधिवक्ता खगेन्द्रराज आचार्यले जानकारी दिए ।

जानुका प्यानलबाट वरिष्ठ उपाध्यक्षमा गोपीचन्द्र बास्तोला निर्वाचित भए । उनले ९६६ मत प्राप्त गर्दाका ओझा प्यानलबाट उपेन्द्रराज सुवेदी (राजु) ले ८५३ मत ल्याएका छन् । प्रथम उपाध्यक्षमा निर्वाचित विक्रम कर्माचार्यले ११५० मत ल्याउँदा उनका प्रतिस्पर्धी मेनुका श्रेष्ठले ६७४ ल्याइन् ।

त्यस्तै, द्वितीय उपाध्यक्षमा ध्रुवबाबु भट्टराई (आईडी) १२१८ मत ल्याउँदै निर्वाचित भए । उनका प्रतिस्पर्धी धीरजकुमार श्रेष्ठले ६०३ ल्याएका छन् । महासचिवमा भरतराज ओझा निर्वाचित भए । उनले ९५५ मत ल्याए । उनका प्रतिस्पर्धी जीवन तिवारीले ८७६ ल्याए । महासचिवमा झिनो मतान्तरले भरतराज ओझा निर्वाचित भएका हुन् ।

उपमहासचिवमा गंगाकुमारी मल्लले लक्ष्मीप्रसाद ढुंगाना (एलपी) लाई पराजित गरिन् । गंगाले १०६६ ल्याउँदै निर्वाचित हुँदा लक्ष्मीले ७६६ मत ल्याएका हुन् । कोषाध्यक्षमा हरि बस्ताकोटीले १०२७ मत ल्याउँदै निर्वाचित हुँदा अर्का उम्मेदवार टीकाराम सापकोटाको पक्षमा ७७८ मत परेको छ ।

संस्थागत सदस्यमा दुवै समूहका साझा उम्मेदवार वीरभद्र कँडेल निर्विरोध भए । एसोसियट सदस्यमा जानुका प्यानलकै दयाराज भण्डारी निर्वाचित भए । संघको शुक्रबारदेखि २९ औं साधारणसभा तथा १५ औं महाधिवेशन सुरु भएको हो । २ वर्षे कार्यकालका लागि पदाधिकारीसहित १९ सदस्यीय कार्यसमितिका लागि कुल ३७ जना उम्मेदवार प्रतिस्पर्धामा थिए ।

सदस्यहरुतर्फ पनि जानुकाकै प्यानलका सबैजना निर्वाचित भए । खुला सदस्यमा जानुका प्यानलबाट भविन्द्र पुन (भविन), वीरेन्द्रराज भूर्तेल, दीपक अधिकारी, कृष्णप्रसाद तिमिल्सिना, प्रतीक्षा रानाभाट, प्रभाकुमारी पौडेल लामिछाने, सन्दीप बुढाथोकी र सुजन न्यौपाने छन् । महिला सदस्यमा गंगा सापकोटा परियार र शर्मिला श्रेष्ठ निर्वाचित भएका हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 79 times, 1 visits today)

epaper

ताजा समाचार

एमाले अठोट : 'खरानीमाथि उभिएर संविधान दिवस मनाउँदै निर्वाचन तयारीमा लाग्छौं'