काठमाडौं । जेनजी पुस्ताले देशका विभिन्न भागमा आन्दोलन चर्काएका छन् । कोशी प्रदेशका मुख्य शहरमा आन्दोलन चकाएएका छन् । इटहरीलगायतका शहरमा आन्दोलन नियन्त्रणभन्दा बाहिर छ । विभिन्न स्थानमा झडप भएको छ भने प्रदर्शनकारीले इटहरी उपमहानगरपालिकाको कार्यालय तोडफोड गरेका छन् ।
प्रहरीले अश्रुग्यास प्रहरा गरेको छ भने विराटनगर महानगरपालिकामा पनि प्रदर्शनकारी प्रहरीको ब्यारिगेट ढालेर महानगर परिसर प्रवेश गरेका छन् । प्रर्दशनकारीले प्रधानमन्त्री केपी शर्मा ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल र विराटनगरका मेयर नागेश कोइरालाविरुद्ध चर्का नारा लगाएका छन् भने काठमाडौँं महानगर का मेयर बालेन साह र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको पक्षमा नाराबाजी गरेका छन् ।
जेनजी आन्दोलनः भरतपुर महानगरपालिका तोडफोड
चितवनको भरतपुर तनावग्रस्त बन्यो । आन्दोलनकारीले भरतपुर महानगरपालिका कार्यालयमा तोडफोड गरेका छन् । केही आन्दोलनकारीले ढुंगामुढा सुरु गरेपछि प्रहरीले पनि बल प्रयोग गरेको छ । प्रहरीका तर्फबाट अश्रुग्यास प्रहार गरिएको छ । प्रदर्शनकारीहरु महानगरभित्र प्रवेश गर्ने प्रयास गरेका थिए । प्रहरीद्धारा दर्जनौ राउण्ड अश्रुग्यास प्रहार गरेका छन् ।
गण्डकी मुख्यमन्त्री कार्यालयमा आगजनी प्रयास
आन्दोलनकारीले गण्डकी प्रदेशका मुख्यमन्त्रीको कार्यालयमा आगजनी प्रयास गरेका छन् । आगजनी प्रयास गरेपछि प्रहरीले अश्रुग्यास र पानीका फोहरा प्रहार गरेको छ । प्रदर्शनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले घुसपैठ गरेपछि आन्दोलन रोकिएको जेनजी प्रदर्शनकारीले जनाएका छन् । पोखराको सभागृह चोकबाट सुरू भएको आन्दोलन मानव अधिकार चोक पुगेर स्थगित गरिएको आन्दोलनका अगुवा आशिष पुरीले बताए ।