काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाण्डूले चक्रपथ क्षेत्रभित्र अनिश्चितकालीन कर्फ्यु लगाएको छ ।
प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बिहान ८ः३० बजेबाट लागू हुने गरी अर्को आदेश नभएसम्मका लागि कफ्र्यु जारी गरिएको बताए । बालकुमारी पुलदेखि कोटेश्वर चोक, सिनामंगल, गौशाला, चाबिहल, नारायण गोपाल चोक, गोंगबु, बालाजु, स्वयम्भू, कलंकी, बल्खु हुँदै बागमती पुलसम्मको चक्रपथभित्रको सम्पूर्ण भू–भागमा कर्फ्यु लगाइएको हो ।
तोकिएका क्षेत्रमा आवत जावत नगर्न, कुनै प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न रोक लगाइएको छ । सोमबार जेनजी पुस्ताले गरेको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा १९ प्रदर्शनकारीको ज्यान गएको थियो । करिब ४ सय घाइते भएका छन् । गृहमन्त्री रमेश लेखकले हिजै नैतिकताका आधारमा राजीनामा दिएका थिए ।
प्रदर्शनकारीले प्रधानमन्त्री केपी ओलीको राजीनामा मागेर प्रदर्शन गर्ने तयारी गरिरहेका बेला सरकारले थप कडाई गरेको हो ।
