खोटाङ, । जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङले दसैँ, तिहार तथा छठ पर्वको समयमा हुने यात्रुको चापलाई व्यवस्थापन गर्न जिल्लाका दुई ठाउँमा यात्रु सहायता कक्ष संञ्चालनमा ल्याएको छ । यात्रुको सुरक्षित, सहज र व्यवस्थित यात्राका लागि दिक्तेल बजारको रत्नपार्कस्थित किँरातचोक र जिल्ला प्रवेश गर्ने प्रमुख नाका जयरामघाटमा सहायता कक्ष सञ्चालन गरिएको हो ।
चाडपर्वको समयमा हुनसक्ने समस्या समाधान गर्न जिल्लाका दुई प्रमुख स्थानमा यात्रु सहायता कक्ष स्थापना गरि संञ्चालमा ल्याईएको जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी सहायक निरीक्षक बाबुराम न्यौपानेले जानकारी दिए । यात्रु सहायता कक्षमा यात्रुहरूले भिडभाडका बीचमा यात्रा गर्दा पर्न सक्ने समस्या समाधान, ट्राफिक नियम’bout सचेतना, टिकट परीक्षण र भाडासम्बन्धी गुनासो राख्न सक्ने व्यवस्था गरिएको छ ।
क्षमताभन्दा बढी यात्रु बोक्ने, तोकिएभन्दा बढी भाडा असुल्ने वा मादकपदार्थ सेवन गरेर सवारी साधन चलाउने घटना भएमा तत्काल प्रहरीलाई जानकारी दिन यात्रु तथा सरोकारवाला निकायलाई आग्रह गरिएको छ । कार्यक्रममा यातायात व्यवसायीले अनिवार्य टिकट दिन र यात्रुलाई टिकट लिएर मात्र यात्रा गर्न सचेत गराइएको छ । सहायता कक्षबाट ट्राफिक प्रहरी नियमित अनुगमन गर्ने र आवश्यक परे यात्रुको गुनासो तत्काल समाधान गर्ने व्यवस्था मिलाइएको ट्राफिक प्रहरीले जनाएको छ ।
सहायता कक्ष उद्घाटन कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका ९१ वर्षीय ज्येष्ठ नागरिक दलबहादुर खत्रीलाई सम्मान गरिएको छ र उनलाई दिक्तेलबाट सोल्मासम्म निःशुल्क यात्रा गराइएको ट्राफिक प्रहरीले जनाएको छ । जिल्ला प्रशासन कार्यालय खोटाङले चाडपर्वको बहानामा यात्रुबाट बढी भाडा नलिन यातायात व्यवसायीलाई निर्देशन दिएको छ । प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले चाडपर्वको अवसरमा यात्रुको चाप बढी हुने भएकाले सिट क्षमताभन्दा बढी यात्रु नराख्न, अनिवार्य टिकटको व्यवस्था गर्न तथा गति सीमित गर्न यातायात व्यवसायीलाई निर्देशन दिएको बताउँदै प्रशासनको निर्देशनलाई अवज्ञा गरेको खण्डमा कारबाहीको दायरामा ल्याउने चेतावनी दिएकी छिन् ।
हरेक वर्ष चाडपर्वमा यात्रुको चाप बढ्ने हुँदा यातायात व्यवसायीले तोकिएको भन्दा बढी भाडा असुल्ने, क्षमताभन्दा बढी यात्रु चढाउने जस्ता समस्या देखिँदै आएकाले यसपटक प्रशासनले विशेष निगरानी गर्ने भएको हो ।






