सुदूरपश्चिमका कारागारबाट भागेका ९७७ जना पक्राउ, करिब ५ सय अझै फरार

धनगढी । गत भदौमा जेनजी आन्दोलनका क्रममा सुदूरपश्चिमका कारागारबाट भागेका करिब हजार कैदीबन्दी पक्राउ परेका छन् । २४ भदौको जेनजी प्रदर्शनका क्रममा भागेका ९ सय ७७ जना कैदीबन्दीलाई पक्राउ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

प्रदेश प्रहरी कार्यालयका प्रहरी कार्यालयले कैलालीसहितका विभिन्न कारागारबाट भागेका ९ सय ४१ र बाल सुधार गृह डोटीबाट भागेका ३६ गरेर ९ सय ७७ जना कैदीबन्दीलाई पक्राउ गरेको जनाएको छ । सुदूरपश्चिमका ९ जिल्ला कारागार शाखा र एक बाल सुधार गृहबाट नभागेका २ सय ९६ जनासमेत गरेर अहिले १ हजार २ सय ७२ जना कैदीबन्दी कारागारमा राखिएका छन् ।

अब बाल सुधार गृह र विभिन्न कारागारबाट भागेका ४ सय ८१ जना कैदीबन्दीलाई पक्राउ गर्न बाँकी रहेको छ । जेनजी आन्दोलनका दिन कैलाली कारागारबाट ६ सय ६६ जना कैदीबन्दी भागेका थिए । जसमध्ये जम्मा ३ सय ४१ जना कैदीबन्दीलाई मात्रै नियन्त्रणमा लिइएको छ ।

जिल्ला कारागार कञ्चनपुरका ४ सय ५८ कैदीबन्दीमध्ये ३ सय ४५, बझाङ कारागारका ५३, डडेलधुरा कारागारका ८० जना, बैतडी कारागारका ५९, दार्चुला कारागारका ६३ र बाल सुधार गृहका ३६ जना कैदीबन्दीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

जिल्ला कारागार डोटी, बाजुरा र अछामबाट भने कैदीबन्दी भागेका थिएनन् । कतिपय कारागारबाट भागेका कैदीबन्दी आफै कारागार फर्किए पनि धेरैजसो कैदीबन्दीलाई प्रहरीले पक्राउ गरेर कारागार ल्याएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 27 times, 1 visits today)

epaper

ताजा समाचार

२६आश्विन २०८२