काठमाडौं । हिमालयन बैंकमा पैसा राख्नुभएको छ र होटलमा खाजा खाँदा वा अस्पतालमा बिल तिर्दा मोबाइल बैंकिङ वा कार्डबाट भुक्तानी गर्ने बानी गर्नुभएको छ भने एक महिनायता कस्तो सास्ती व्यहोर्नुभयो ? सायद शब्दमा व्यक्त गर्न सकिनेभन्दा अलि जटिल हुनसक्छ ।
७ लाख निक्षेपकर्ताको रकम एक महिनादेखि बन्धक
पहिलो एक साता त बैंकबाट सेवा लिनै पाइएन । बैंकमा राखेको आफ्नै पैसा बैंक स्वयंले बन्धक बनाइदियो । त्यसपछि भने बैंक खुलेको समयमा शाखा कार्यालयमा लाइन लागेर चेकमार्फत पैसा निकालेर नगद कारोबार गर्नुपर्ने बाध्यता बैंकले सिर्जना गरिदियो ।
बैंकले सार्वजनिक सूचना प्रकाशन गरी ३ देखि १० कात्तिकसम्म ‘कोर बैंकिङ सफ्टवेयर स्तरोन्नति गर्न’ सेवा पूर्ण रूपमा बन्द रहने जानकारी गरायो । ११ कात्तिकदेखि बैंक खुलेको समयमा चेक काटेर पैसा निकाल्न पाइने व्यवस्था गरिएको बैंकको भनाइ छ ।
तर, मोबाइल बैंकिङ र अनलाइन बैंक सेवा भने अझै सञ्चालनमा आएको छैन । सफ्टवेयर स्तरोन्नति गर्दा समस्या भएकाले बैंकिङ सेवा पूर्ण सञ्चालनमा ल्याउन नसकिएको जानकारी बैंकले नेपाल राष्ट्र बैंकलाई गराएको छ ।
आफ्नै पैसा बैंकमा बन्धक
कोभिड महामारीपछि नियामक निकाय नेपाल राष्ट्र बैंकले नगदरहित बैंकिङ कारोबारलाई प्राथमिकता दिने नीति लियो । बैंक तथा वित्तीय संस्थाहरूले पनि मोबाइल बैंकिङ, कार्ड, भुक्तानी सेवा प्रदायकहरूमार्फत हुने कारोबारलाई प्रवर्धन गर्ने नीति लिए ।
नेपाल राष्ट्र बैंकका तत्कालीन गभर्नर महाप्रसाद अधिकारीले काठमाडौं उपत्यकाका तरकारी बजारहरूमा गएर क्यूआर भुक्तानीबाट तरकारी तथा फलफूल खरिद गर्दै यस्तो कारोबारलाई प्रवर्धन गर्न आग्रह गर्दै हिँडे ।
राज्यले लिएको नीति र बैंक तथा वित्तीय संस्थाहरूले गरेको प्रवर्धनअनुसार सर्वसाधारणहरू नगदरहित भुक्तानीमा अभ्यस्त हुँदै गए । पछिल्लो समय पेट्रोलपम्पमा पेट्रोल भर्दा, सामान्य चिया पसलमा चिया खाँदा वा सपिङमल वा मार्टमा सामान खरिद गर्दा पनि मोबाइल बैंकिङ वा क्यूआरबाट भुक्तानी गर्नेहरूको संख्या ठूलो छ । तर, हिमालयन बैंकको मोबाइल र अनलाइन बैंकिङ कारोबार लामो समयसम्म बन्द हुँदा सो बैंकका ठूलो संख्याका ग्राहक समस्यामा परेका छन् ।
बैंकका सूचना अधिकारी सुनिलप्रसाद गोर्खालीका अनुसार सो बैंकमा अहिले करिब ७ लाख ग्राहक छन् । तर, ती सबै ग्राहकले झन्डै एक महिनादेखि मोबाइल र अनलाइन बैंकिङ सेवा प्रयोग गरी आफ्नै रकम चलाउन पाएका छैनन् । बैंकले कोर बैंकिङ सफ्टवेयरमा समस्या आएको भन्दै सबै ग्राहकलाई अत्याधुनिक सेवा प्रयोग गर्नबाट वञ्चित गरिदिएको छ ।
के भन्छ बैंक ?
झन्डै एक महिनादेखि बन्द भएको हिमालयन बैंकको अनलाइन र बैंकिङ सेवा कहिलेदेखि सञ्चालन हुन्छ भनेर राजधानीले बैंकका सूचना अधिकारी सुनिलप्रसाद गोर्खालीलाई सोधेको छ । जवाफमा उनले ‘चाँडै सुरु हुने’ भन्दै यकिन समय भने बताउन सकेनन् ।
‘हामीले एक साताभित्र सबै काम पूरा गर्ने योजना बनाएका थियौं, तर डेटा ट्रान्सफरमा केही जटिल समस्या आएपछि यस्तो अवस्था सिर्जना भयो, सेवा विस्तारै सुधार हुँदै छ, आजभोलिमा पूर्ण रूपमा सुचारु हुने अपेक्षा छ,’ उनले भने । बैंकले सफ्टवेयर बिक्री गर्ने कम्पनीबाट प्राविधिक बोलाएर समस्या समाधानको प्रयास भइरहेको जानकारी दिएको छ ।
एक महिनामा ६ अर्ब निक्षेप बाहिरियो
बैंकले प्रभावकारी सेवा दिन नसकेपछि यसका ग्राहक पनि अन्यत्र मोडिन थालेको तथ्यांकले देखाएको छ । बैंकले प्रकाशित गरेको असोज मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणमा हिमालयन बैंकमा सर्वसाधारणको ३ खर्ब १५ अर्ब रुपैयाँ निक्षेप थियो ।
तर, बैंकका सूचना अधिकारी गोर्खालीले बैंकमा अहिले ३ खर्ब ९ अर्ब रुपैयाँ निक्षेप रहेको बताए । बैंकले प्रकाशित गरेको तथ्यांक र सूचना अधिकारीले दिएको जानकारीअनुसार एक महिनाको अवधिमा बैंकबाट करिब ६ अर्ब रुपैयाँ बाहिरिएको देखिन्छ ।
के गर्ला राष्ट्र बैंकले ?
बैंक तथा वित्तीय संस्थामा सर्वसाधारणको निक्षेप हुन्छ । बैंक तथा वित्तीय संस्थामा रहेको सर्वसाधारणको निक्षेप सुरक्षा गर्नु आफ्नो पहिलो दायित्व रहने राष्ट्र बैंकले बताउने गरेको छ । तर, विगत एक महिनादेखि हिमालयन बैंकमा रहेको निक्षेपकर्ताको निक्षेप सफ्टवेयर नचलेको नाममा बन्धक भएपछि राष्ट्र बैंकले यसलाई कसरी लिन्छ भन्ने अर्काे महत्वपूर्ण प्रश्न बनेको छ ।







