धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले ६ महिनादेखि मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक गरेको छैन । सरकारले गत जेठ २ गतेपछि बसेका मन्त्रिपरिषद्को बैठकका निर्णय गुपचुप राखेको हो ।
मन्त्रिपरिषद्ले गरेको निर्णय २४ घण्टाभित्र सार्वजनिक गर्नुपर्ने अभ्यास हुन्छ । तर सुदूरपश्चिम प्रदेश सरकारले भने जेठ २ गते मन्त्रिपरिषद्को २१३ औं बैठकको निर्णय सार्वजनिक गरेको छ । त्यसयताका बैठको निर्णय भने सार्वजनिक गरेको छैन ।
जेठयता ६ महिनामा कति पटक मन्त्रिपरिषद्को बैठक बस्यो र के–कस्ता निर्णय भए भन्ने कुरा मन्त्री बाहेक कसैलाई थाहा छैन । २४ घण्टापछि सार्वजनिक रुपमै हेर्नमिल्ने गरी राख्नुपर्ने निर्णयसमेत मुख्यमन्त्री कार्यालयले सार्वजनिक गर्न आवश्यक नठानेको भेटिएको छ ।
यो विषयमा मुख्यमन्त्री कार्यालयका प्रवक्ता नवराज ओझासँग जिज्ञासा राख्दा उनले कर्मचारी अभावका कारण मन्त्रिपरिषद्का निर्णय वेबसाइटमा राख्न नसकिएको बताए । उनले भने, ‘हामीले कर्मचारी अभावले मन्त्रिपरिषद्का निर्णय समयमै वेबसाइटका राख्न नसकेको हो । अहिले भने कम्प्युटर अभावले काम गर्न समस्या भएको छ । छिट्टै सबै अहिलेसम्मका निर्णय वेबसाइटका राख्ने छौँ ।’






