विराटनगरको अपराजित यात्रामा धक्का

कीर्तिपुर । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किंग्सको अपराजित यात्रामा धक्का लागेको छ । चितवन राइनोजका बायाँ हाते स्पिनर रन्जित कुमारले ५ विकेट लिएपछि लगातार तीन खेलमा अपराजित यात्रा कायम गरेको विराटनगरको विजय यात्रामा धक्का लागेको छ ।

बुधबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न आफ्नो चौथो खेलमा विराटनगर चितवनसँग ४८ रनले पराजित भयो । यस जितले चितवनलाई प्लेअफ यात्रामा अघि बढ्न बल मिलेको छ । चितवनले दिएको १ सय ७५ रनको लक्ष्य पछ्याएको विराटनगर १६ ओभर ५ बलमा १ सय २६ रन बनाउँदै अलआउट भयो ।

खेलको सुरुदेखि नै खराब प्रदर्शन गरेको विराटनगरका यसअघि भरपर्दा भनिएका ब्याटर सस्तैमा समेटिए । शीर्ष तीन ब्याटरले दोहोरो अंकको रन स्कोरसमेत गर्न सकेनन् ।

लोकेश बम ७ रन, जर्ज मुन्से र नरेन भट्टले ४–४ रन बनाउँदै आउट भए । बमलाई दोस्रो ओभरमा कमलसिंह ऐरीको बलमा विकेटपछाडि अर्जुन साउदले क्याच गरे । तेस्रो ओभरमा मुन्से सोहेल तन्विरको बलमा दीपक बोहोराबाट क्याच हुन पुगे भने नरेन रञ्जित कुमारको बलमा कुशल मल्लबाट क्याच भए । सूर्य तामाङ र बासिर एहेमद शून्य रनमा आउट हुँदा नारायण जोशी पनि जम्मा ४ रनमै आउट हुन पुगे । तीनै जना खेलाडी रञ्जित कुमारको बलमा सिकार भए । शुभम रन्जनेले ६ रन मात्र बनाउन सके ।

रन्जित कुमारले पाँचौ ओभरको तेस्रो बलमा साम हिजलेटलाई २२ रनमा एलबीडब्लूको धरापमा पारे । त्यसपछि मस्र्याङ डी लाङ आक्रामक रूपमा देखिए । उनले चितवनका बलरलाई लगातार आक्रामक ब्याटिङ गरेपछि खेलले अर्कै मोड लिने स्थिति बन्यो ।

१३औं ओभरमा ६४ रन बनाउँदा ८ विकेट गइसकेको स्थितिमा रहेको विराटनगरलाई उनले लक्ष्यतर्फ उन्मुख बनाउने प्रयास गरे । तर, उनी १६औं ओभरमा ३९ रन बनाएर आउट हुन पुगे । २२ बलमा २ चौका र ४ छक्का प्रहार गरेका लाङलाई कमलसिंह ऐरीले बोल्ड गरे । प्रतिश जिसीसँग नवौं विकेटका लागि ३६ रनको साझेदारी गरेपछि विराटनगरले सय रन कटाएको थियो । अन्त्यमा प्रतिश जिसीले पनि आक्रामक खेल्दै १२ बलमा २ चौका र ३ छक्का प्रहार गरेर ३० जोडे । तर, उनी चितवनका कप्तान कुशल मल्लबाट १६ ओभर ५ बलमा बोल्ड हुँदा विराटनगर अलआउट भयो ।

बलिङमा चितवनका रन्जित कुमारले ४ ओभरमा २१ रन दिएर ५ विकेट लिए । कमलसिंह ऐरीले २ विकेट लिए भने सोहेल तन्विर, सइफ जइब र कुशल मल्लले थप १–१ विकेट हात पार्न सफल भए ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर विराटनगरले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७४ रनको योगफल तयार पा¥यो ।

चितवनका लागि रवि बोपाराले अर्धशतक प्रहार गरे । उनले ३८ बलमा ३ चौका र ४ छक्काको मद्दतमा ६५ रन जोडे । बोपारा शुभम रन्जनेको बलमा साम हेजलेटबाट क्याच आउट भए ।

त्यसअघि ओपनरद्वय दीपक बोहराले ५ रन र डेभिड मलानले १७ रन बनाए । बोहरालाई विराटनगरका तीव्र गतिका बलर मास्र्याङ डी लाङले दोस्रो ओभरमा विकेटकिपर लोकेश बमबाट क्याच गराए । चौथो ओभरमा लाङले मलानलाई बोल्ड गरेका थिए ।

त्यसपछि देव खनाल २८ रन बनाउँदै आउट भए । उनी नवौं ओभरमा सन्दीप लामिछानेको बलमा साम हिजलेटबाट क्याच आउट भए ।

मध्यक्रमका ब्याटर साइफ जइबले ३२ रन बनाउँदा उनी १४औं ओभरमा सन्दीपकै बलको सिकार भए । उनले ३० बलमा १ चौका र १ छक्का प्रहार गरेका थिए ।

कप्तान कुशल मल्लले नटआउट २० रन बनाए । उनले १४ बलमा १ चौका र १ छक्का प्रहार गर्दा अमरसिंह रौटेलाले नटआउट ३ रन जोडे । बलिङमा विराटनगरका कप्तान सन्दीप र डी लाङले २–२ विकेट लिए । अर्को १ विकेट रन्जनेको नाममा रह्यो ।

बिहीबार (आज) पहिलो खेल पौने १२ बजे लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच तथा दिउँसो पौने ४ बजे जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच हुनेछ ।

रवि बोपाराको लगातार ३ अर्धशतक, सर्वाधिक रनकर्ता
चितवनका लागि रवि बोपाराले लगातार अर्धशतक प्रहार गरेका छन् । बोपाराले जारी सिजनमा तीन खेल खेल्दा तीनै खेलमा अर्धशतक पूरा गरेका छन् । यसअघि उनले लुम्बिनी लायन्सविरुद्ध ६६ रन र कर्णाली याक्सविरुद्ध ५२ रन बनाएका थिए ।

उनले बुधबार विराटनगरविरुद्ध ३८ बलमा ३ चौका र ४ छक्काको मद्दतमा ६५ रन बनाए । बोपारा १९ दशमलव ४ ओभरमा शुभम रन्जनेको बलमा साम हेजलेटबाट क्याच आउट भए । बुधबार अर्धशतक प्रहार गरेसँगै उनी जारी दोस्रो सिजनको एनपीएलमा सर्वाधिक रन प्रहार गर्ने ब्याटरको सूचीमा शीर्ष स्थानमा उक्लिएका छन् । उनले तीन खेलमा तीन अर्धशतकको मद्दतमा १ सय ८३ रन बनाइसकेका छन् ।

अघिल्लो सिजन पनि उनले तीन अर्धशतक प्रहार गरेका थिए । उनी एनपीएलमा सर्वाधिक अर्धशतक प्रहार गर्ने ब्याटरसमेत हुन् ।

रन्जीत कुमारको ५ विकेट
चितवन राइनोजका रन्जीत कुमारले एकै खेलमा ५ विकेट लिएका छन् । उनले विराटनगरविरुद्धको खेलमा ४ ओभरमा २१ रन खर्चिएर ५ विकेट लिएका छन् । जारी सिजनमा यो उनको पहिलो खेल हो ।

सर्वाधिक विकेट लिनेको सूचीमा सन्दीप अगाडि
विराटनगरका कप्तान सन्दीप लामिछानेले जारी सिजनमा अहिलेसम्म ४ खेलमा ९ विकेट लिएर सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा पहिलो नम्बरमा आएका छन् । बुधबार चितवनविरुद्धको खेलमा थप २ विकेट लिएपछि उनी धेरै विकेट लिने खेलाडीको सूचीमा पहिलो नम्बरमा उक्लिएका हुन् । उनले ९६ बलको सामना गर्दै ७९ रन खर्चिएका छन् । उनीपछि कर्णाली याक्सका मिलिन्द कुमार र करण केसी तथा विराटनगर किंग्सका एमडी लाङ्गेले ७–७ विकेट लिएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 73 times, 1 visits today)

epaper

ताजा समाचार

धनगढीमा जेन्जी युवा र युवा संघबीच झडप