आफ्नै विद्यार्थीबाट कुटिए शिक्षक

  • शिक्षक धामीको उपचार सिन्धुली अस्पतालमा हुँदै
  • घटनामा संलग्न विद्यार्थी छेडुप लामा पक्राउ
  • शिक्षक महासंघ, शिक्षकका संघ संगठनहरु र विद्यालयद्वारा कारवाहिको माग
  • अर्को सूचना जारी नभएसम्मका लागि विद्यालय बन्द

सिन्धुली । शिक्षकले विद्यार्थी कुटेको त सुनिएकै हो तर विद्यार्थीले आफुलाई पढाउने शिक्षकलाई कुटेको भने नौलो घटना हो । जिल्लाको घ्याङ्लेख गाउँपालिकाको एक विद्यालयमा यस्तै घटना भएको छ । जहाँ आफुलाई पढाउने शिक्षकलाई विद्यार्थीले कुटपिट गरेर शिक्षकको दाहिने हात नै भाँचिदिएका छन् । टाउको फुटाई दिएका छन्, खुट्टामा चोट लागेको छ र शरीरभरी निलडाम पारेका छन् ।

घ्याङलेख गाउँपालिका वडा नं. ५ मा रहेको नेत्रकाली मा.वि.आपडाँडा रामपुरका बाली विज्ञान शिक्षक धनबहादुर धामीले बुधबार साँझ त्यहि विद्यालयमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीबाट कुटाई खानु परेको छ ।

सिंगाश गाउँपालिका ६ बैतडीका घर भएका धामीलाई डेराकै शौचालयबाट बाहिर निस्कँदा उनकै विद्यार्थी छेडुप लामाले आक्रमण गरेका हुन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार साँझमा शिक्षक बस्ने घर घेरी चिर्पट दाउराले हानेका छन् । शिक्षक धामी घाईते भई उपचाररत रहेका छन् ।

घाईते भएका शिक्षक धामीको बुधबार राती नै स्थानीय मेडिकलमा सामान्य उपचारपछि थप उपचारका लागि सिन्धुली अस्पतालमा ल्याईएको छ । उनको त्यहिँ उपचार भईरहेको छ । धामीको हात भाँचिएको छ भने टाउकोमा ८ वटा टाँका लगाईएको छ । खुट्टामा र शरीरका अन्य भागमा समेत चोट लागेको छ ।

लामाले अन्य व्यक्तिहरुलाई समेत कुटपिटका लागि लगेको बताईएको छ । तथापी घाईते शिक्षकले अरुलाई नदेखेको बताएका छन् । आक्रमणमा संलग्न लामालाई विहिबार प्रहरीले पक्राउ गरेको छ । घाईते शिक्षकले प्रहरी चौकी रामपुरमा ठाडो उजुरी दिएका छन् । बिहिबार इलाका प्रहरी कार्यालय बस्तीपुरले छलफल गराउने प्रयास गरेको भए पनि छलफल हुन सकेको छैन ।

विहिबार शिक्षक महासंघ सिन्धुली, जिल्लामा क्रियाशिल चार शिक्षक संगठनहरु, शिक्षक महासंघ घ्याङ्लेख र नेत्रकाली माविका शिक्षक तथा विद्यालय परिवारले दोषीलाई कडा कारवाहि गर्न माग गर्दै विज्ञप्ती प्रकाशन गरेका छन् ।

विद्यालयले विद्यालयको सार्वजनिक सम्पत्ति क्षति गर्ने क्रममा सम्झाएको र सम्झाउने क्रममा मोवाईल रेकर्ड गर्न खोजेपछि भएको सामान्य विवादलाई लिएर शिक्षकमाथि निर्घात कुटपिट भएको विद्यालयले विज्ञप्तीमा जनाएको छ ।

घटनापछि विद्यालयको पठन पाठन बन्द गरिएको छ । शिक्षक तथा विद्यालयले जारी गरेको विज्ञप्तीमा शिक्षकहरुमाथि अविभावक र विद्यार्थीहरुबाट धाक धम्कि आईरहेको भन्दै अशान्त वातावरणमा विद्यालयको पठनपाठन सुचारु गर्न नसकिने उल्लेख गरिएको छ । विज्ञप्तीमा अर्को सूचना नभएसम्मको लागि विद्यालयको पठनपाठन बन्द रहने उल्लेख गरिएको छ ।

विद्यालयका प्रधानाध्यापक मधुसुदन सापकोटाले विद्यालयमा विद्यार्थीलाई पढ्न नदिएको, कक्षा कोठाका सामान जथाभावी चलाएको उजुरीपछि बोलाएर त्यसो नगर्न सम्झाएका कारण शिक्षक धामीमाथि कुटपिट भएको बताए ।

उनले विद्यालयमा विद्यार्थीलाई गलत नगर्न सम्झाएको घटनालाई लिएर ती विद्यार्थीले प्रहरी चौकी रामपुरमा शिक्षक विरुद्ध उजुरी दिएको, उजुरी उपर शिक्षकलाई बोलाएर छलफल भएको समेत बताएका छन् । प्रहरी चौकीबाट फर्केपछि साँझ शिक्षक बसेकै घरमा पुगेर लुकेर शिक्षकमाथि आक्रमण गरिएको सापकोटाले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 15 times, 1 visits today)

epaper

ताजा समाचार

डडेल्धुरा अस्पतालको ओपीडी सेवा दुई सिफ्टमा सञ्चालन