गुल्मी । साइन रेसुंगा डेभलपमेन्ट बैंक तम्घास शाखाले विपन्न विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । बैंकले इस्मा गाउँपालिका–१ हस्तिचौरका १० जना विद्यार्थीलाई ज्याकेट, झोला, टोपी, कापीलगायतका स्टेसनरीलगायत सामग्री वितरण गरेको हो ।
बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत वडाको सिफारिसका आधारका ५० हजारबराबरका सामग्री वितरण गरेको शाखा प्रबन्धक भुवन श्रेष्ठले जानकारी दिए । बैंकका तम्घास शाखा प्रबन्धक श्रेष्ठसहित वडाध्यक्ष शेरबहादुर कुँवर, पूर्ववडाध्यक्ष एवं हिमालय माविका व्यवस्थापन समिति अध्यक्ष चुराबहादुर खत्री, प्रधानाध्यापक मनबहादुर खत्री, कार्यपालिका सदस्य रेनुका विष्टलगायतले सामग्री हस्तान्तरण गरेका हुन् । बैंकका शाखा प्रबन्धक श्रेष्ठले आर्थिक अवस्था कमजोर भएका नागरिकका लागि बैंकले काम गर्ने बताए ।
हाल बैंकले खाता सञ्चालन र कारोबार, कर्जा र ऋण सुविधा, डिजिटल बैंकिङ सेवा, रेमिट्यान्सलगायतका सेवाका साथै गाउँघरमै पुगेर बैंकिङ सेवासमेत प्रदान गर्दै आएको छ ।






