तेह्रौं दिनमा उठ्यो सुशीलाको शव

सिन्धुली । पुस ६ गते आफ्नै घरका परिवारका सदस्यले पेट्रोल छर्केर आगो लगाई हत्या गरिएकी शुशिला बम्जनको शव तेह्रौं दिनमा उठेको छ । हत्या भएको तेह्रौं दिनमा उनको शव माइती र घर परिवारले संयुक्त रुपमा बुझेका हुन् ।

मानवअधिकार अधिकार आयोगले गर्‍यो सहजीकरण

माईती परिवारको तर्फबाट मृतकका दाजु भिम बहादुर घिसिङ, भाउजु निर्मला स्याङतान, भाई प्रेम बहादुर घिसिङ र मृतकका देवर वृख बहादुर बम्जनले भाउजुको शव बुझेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी लालध्वज सुवेदीले बताएका छन् ।

मृतकका ७ वर्षका तीन जना छोराछोरीको पठन पाठन र भरणपोषणका विषयमा माईती पक्ष र घर पक्षबीच सहमति भएपछि शुशिलाको शव उठेको हो । शुशिलाका ७ वर्षका दुई छोरा र १ छोरी रहेका छन् । नावालकहरुको पठनपाठन र संरक्षणका सवालमा माइती र घर पक्षबीच सहमति जुटेपछि शव बुझाईएको एसपी सुवेदीले बताएका छन् ।

शव बुझ्नु अघि जिल्ला प्रशासनमा भएको छलफलमा मृतक शुशिलाका छोराछोरीले अध्ययन गर्ने विद्यालय न्यु स्टार बोर्डिङ स्कुलको होस्टलमा पूर्ण आवासिय रुपमा राख्ने र १५ महिनाको भरणपोषण र पठनपाठनको रकम मृतकका देवर वृख बहादुर बम्जनले खर्च बेहोर्ने सहमति भएको छ ।

यस्तै माईती पक्षले बालबालिकालाई जुनसुकै समयमा भेट्न पाउने, रेखदेख गर्न दिने गरि सहमति जुटेको हो । जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी लालध्वज सुवेदी, कमलामाई नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष महेन्द्र प्रसाद ढकाल सहितको सहभागिता तथा वडाअध्यक्ष ढकालको रोहवरमा घर र माईती पक्षबीच सहमति भएको हो ।

शुक्रबार भएको सहमतिमा नावालकहरुको नाममा सहमति भएको मितिले ६ महिना भित्र नावालक बच्चाहरुको संयुक्त रुपमा बैंक खाता खोली उनीहरुको बाबु सुर्य बहादुर बम्जनको अंशबाट कट्टा हुने गरि ४० लाख बैंक दाखिला गरिदिने सहमति भएको छ । बाँकी रहेको सम्पत्तिमा सुर्य बहादुर बम्जनको तर्फबाट अंशमा नावालकहरुको हक अधिकार यथावत रहने सहमति भएको छ ।

माईती पक्षबाट मृतकका भाई प्रेम बहादुर घिसिङ र घर पक्षबाट देवर वृख बहादुर बम्जनले सहमतिमा हस्ताक्षर गरेका छन् । रोहवरमा दाजु भिम बहादुर स्याङतान, भाउजु निर्मला स्याङतान, स्थानीय पदम बहादुर अस्थानी मगर, कनपा ५ का उषा स्याङतान, कनपा ६ का रामकाजी वाईवा रहेका छन् ।

प्रशासनले तेह्रौ दिनसम्म शव बुझाउन नसकेपछि राष्ट्रिय मानवअधिकार आयोग बागमती प्रदेशको टोलीले शव बुझाउन र सहमति जुटाउन सहजीकरण गरेको थियो । आयोगको सहजीकरणपछि परिवारले शव बुझ्न सहमत भएका थिए ।

सहमति जुट्नु अघि आयोगको टोलीले जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदी, मृतकका माईती र घरतर्फका परिवार, प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, वडा अध्यक्ष महेन्द्रप्रसाद ढकाल, मानवअधिकारकर्मीहरु, पत्रकारहरुलाई समेत भेट गरेको थियो भने घटनास्थलको अध्ययन समेत गरेको थियो । आयोगका मानव अधिकार अधिकृत कृष्ण मिश्र सहितको टोली सिन्धुलीमा आएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 730 times, 1 visits today)

epaper

ताजा समाचार

कान्ति लोकपथ अस्थायी रूपमा बन्द