सिन्धुली । गत ८ पुसदेखि हराएकी तीनपाटन गाउँपालिका–३ राम्चे कोलवोटेकी ५३ वर्षीया टंकमाया बुढाथोकीको शव सोमबार साँझ साढे ५ बजेतिर फेला परेको छ । टंकमायाको शव घरदेखि करीब साढे तीन किलोमिटर उत्तरतर्फ दाह्रेगौडामुनिको बाँसको झ्याङमा फेलापरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
१४ दिनदेखि सम्पर्कविहीन टंकमायाको गत १० पुसदेखि निरन्तर खोजी कार्य भइरहेको थियो । बागमती प्रदेश प्रहरी कार्यालय हेटौडा, जिल्ला प्रहरी कार्यालय सिन्धुली र इलाका प्रहरी कार्यालय बेलघारी टोलीले निरन्तर खोजी गरिरहेको थियो । प्रहरीसँगै स्थानीय जनप्रतिनिधि, स्थानीय र आफन्तसमेत १२ दिनदेखि खोजी कार्यमा थिए ।
उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी लालध्वज सुवेदीले पुष्टि गरेका छन् । उनका अनुसार स्थानीय महिलाले जंगलमा घाँसदाउरा काट्न जाँदा शव भेटेपछि जानकारी गराएका थिए । प्रहरीले घटनास्थल र शव रातभर सुरक्षित गर्ने र घटनास्थलको मुचुल्का र शव उठाउने काम मंगलबार (आज)मात्र गरिने जनाएको छ ।
शव कुहिएको अवस्थामा भेटिएको छ । घटना सन्दर्भमा प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ । स्थानीयका अनुसार दुई दिनअघिसम्म शव भेटिएको बाँसको झ्याङमा खोजी गर्दा केही पनि देखिएको थिएन । दुई दिनपछि सोही झ्याङमा शव भेटिएकाले घटना घटाउने व्यक्तिले शव डुलाइरहेको हुनसक्ने आशंकासमेत गरिएको छ ।
यसअघि, टंकमायाको घरमुनिको बाँसको झ्याङमा टर्च, औंठीलगायत सामान भेटिएका थिए । प्रहरीले टंकमायाको खोजीका लागि ड्रोनसमेत प्रयोग र तालिमप्राप्त कुकुरसहितको टोली परिचालन गरेको थियो ।






