‘बलात्कारीलाई सजाय दिन सहयोग गर्छु भन्नेहरुले नै फोन ब्लकलिस्टमा राखे…’

इटहरी । मोरङको बुढीगंगा गाउँपालिका ७ बडहराकी १५ बर्षीया किशोरीमाथि दुई महिना अगाडि ५ जनाको समूहले सामुहिक बलात्कार गरेर गाउँ निकाला गरिएपछि राजधानी दैनिकमा समाचार प्रकाशित भएसँगै पीडितले स्थानीय सहयोग गर्छु भन्ने अगुवाहरुले नै फोन ब्लकलिस्टमा राखेको गुनासो गरेकी छिन् ।

बलात्कारपछि गाउँ निकाला नै गरिएकी पीडितकी सानिमाले सहयोग गर्छु भन्ने स्थानीय सरोकारवालाहरुले अहिले फोन नउठाउने गरेको र फोन नै ब्लकलिस्टमा राखेको गुनासो गरेकी हुन् । ‘उहाँहरुले सहयोग गर्न तयार छु भन्नुभएको थियो,’ उनले भनिन्, ‘तर सहयोग गर्न तयार छु भन्नेहरुले नै अहिले फोन ब्लकलिस्टमा राखेका छन् ।’ आफूले स्थानीय अगुवाहरुलाई पटक–पटक सम्पर्क गरेपनि फोन नउठाउने, उठाएपनि झर्किने गरेको बताउँदै उनले भनिन्, ‘उहाँहरुले हामी यहाँको मन्त्री हो भन्नुहुन्छ, हामी पीडितको त बोली नै बिक्दैन ।’ स्थानीय मानिसले आफ्नो मन्त्रीसँग लिंक भएको भन्दै पीडितलाई यसअघि देखि नै धम्की दिने गरेका थिए । ‘एकजना दिदी हुनुहुन्छ, उहाँले त आफूले सहयोग गर्ने बताएपनि अहिले फोन नै नलाग्ने भएको छ ।’ न्याय दिन्छु भन्नेहरुले नै फोन नलाग्ने बनाएको उनको गुनासो थियो ।

समाचार प्रकाशितपछि दुईजना मानिसहरु आएर सान्त्वना दिएको बताउँदै उनले भनिन्, ‘दुईजना आएर मेरो नम्बर लिएर जानुभएको छ, अस्ति हामीलाई हप्काउने प्रहरीले नै अहिले त फोन गरेर के कसो छ भनेर सोध्नुभयो । अहिले इटहरीमा कोठाभाडा गरेर बस्दै आएको छु, नानीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको छ ।’ बलात्कारीलाई सजाय हुनुपर्छ भनेर न्याय माग्दा हप्काउने प्रहरी स्वयम्ले समाचार प्रकाशित पछि फोन गरेर सोधखोज गरेको उनको भनाई थियो । ‘न्याय दिलाउँछु भनेर नभने पनि कम्तीमा फोन चैँ आयो,’ न्याय पाउने झिनो आशा व्यक्त गर्दै उनले भनिन्, ‘स्थानीय मानिसहरुले नआत्तिनुहोस् भन्ने आश्वासन मात्र दिनुहुन्छ ।’

बलात्कारमा संलग्न ५ जनामध्ये इन्द्र राई र लक्ष्मण राईलाई जिल्ला अदालत विराटनगरको आदेशमा नाबालक भनेर छाडिएको प्रहरीले जनाएको छ । संलग्न तीनजना मध्ये दुईजनालाई मात्र प्रहरीले पक्राउ गरी कारबाहीको प्रक्रिया अगाडि बढाएपनि बलात्कारमा संलग्न पाँचै जनालाई कारबाही गर्न पीडितको माग छ । पीडित बालिकालाई बलात्कार गरिएपछि स्थानीयले गाउँ नै निकाला गरेको र अहिले पेटमा एक महिनाको बच्चा रहेको र स्वास्थ्य अवस्था पनि कमजोर बन्दै गएको पीडितको गुनासो छ ।

उता, बुढीगंगा गाउँपालिका वडा नं. ७ बडहराका वडाध्यक्ष मुरारीलाल चौधरीले भने खास गाउँ निकाला भएको भन्ने बिषयमा स्वीकार्न तयार छैनन् । उनले फोन सम्पर्कमा राजधानीसँग भने, ‘खास गाउँ निकाला भएको हैन, म पटक–पटक बालिकाको घर गएर सहयोग गर्छु भनेको थिएँ ।’ उनले ती बालिकामाथि त्यो भन्दा अगाडि पनि पटक–पटक बलात्कारको प्रयास भएको बताउँदै भने, ‘मैले घटना भएपछि प्रहरी र स्थानीयसँग बसेर सुरक्षा दिनुपर्छ भनेर भनेको हुँ ।’

उनले आफू राहतमा व्यस्त भएको र पछि पीडित इटहरी गएको दाबी गर्दै भने, ‘यहाँबाट गाउँ निकाला भएको हैन, बिचौलियाले गरे भने अलग कुरा हो ।’ बालिकालाई पटकपटक बलात्कार गर्ने प्रयास भने भएको उनको भनाई छ । उनले अहिले बालिका घर आएर बसेमा सुरक्षाको प्रत्याभूति हुने काम गर्ने दाबी गर्दै भने, ‘मैले पीडितलाई म तिम्रो बुवा नै हुँ भनेको छु, केही समस्या परेमा मलाई भनेमा हुन्छ ।’

तपाइको प्रतिक्रिया
(Visited 219 times, 1 visits today)

epaper

ताजा समाचार

‘नेपाली ब्रो’द्वारा श्रीमती हत्या प्रकरणमा थप तीन जना पक्राउ