दैलेख निर्वाचन क्षेत्र नम्बर–२ बाट शाहीको उम्मेदवारी

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा कर्णाली प्रदेश योजना आयोगका पूर्वउपाध्यक्ष योगेन्द्र शाहीले दैलेख निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

शाहीले दैलेखको दुल्लु पुगेर मनोनयन दर्ता गराएका हुन्। मनोनयनपछि प्रतिक्रिया दिँदै उनले आफूलाई विश्वास गरी उम्मेदवार बनाएकोमा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधव नेपाल तथा पार्टी नेतृत्वप्रति आभार व्यक्त गरे।

शाहीले दैलेखी जनताको विश्वास र अपेक्षालाई केन्द्रमा राख्दै विकास र समृद्धिका लागि निरन्तर काम गर्ने प्रतिबद्धता जनाए। राज्यको कुनै पनि पदमा रहँदा वा नरहँदा जनताको एक रुपैयाँसमेत दुरुपयोग नगरेको दाबी गर्दै उनले आफ्नो निर्वाचन क्षेत्रको समग्र विकासका लागि अहोरात्र खटिने बताए।

मनोनयन दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै शाहीले कर्णालीको ऐतिहासिक पहिचान र सभ्यताको संरक्षण तथा पुनरुत्थान आफ्नो प्रमुख एजेन्डा रहेको उल्लेख गरे । “हाम्रा पुर्खाले निर्माण गरेको कर्णालीको गौरवपूर्ण खस सभ्यता, यसको ऐतिहासिक राजधानी दुल्लु र कैलाश मानसरोवरसम्म जोडिने प्राचीन रेशम मार्गको पुनरुत्थानका लागि म निरन्तर लागिरहनेछु,” उनले भने, “कर्णालीको समृद्धिका लागि रेशम मार्गको विषयमा मैले शुरुदेखि नै निरन्तर आवाज उठाउँदै आएको छु ।”

त्यस्तै, दैलेखमा रहेको पेट्रोलियम ग्यास उत्खननलाई दैलेख र समग्र नेपालको आर्थिक समृद्धिको प्रवेशद्वारका रूपमा चित्रण गर्दै शाहीले यसलाई मूर्तरूप दिन आफू पूर्ण प्रतिबद्धताका साथ लाग्ने बताए । “विगतमा पार्टी नेतृत्व र मैले आ–आफ्नो हैसियतबाट यस विषयमा महत्वपूर्ण पहल र योगदान गरेका छौँ,” उनले दाबी गरे।

नेकपाभित्र बौद्धिक छवि भएका नेताका रूपमा परिचित शाहीको उम्मेदवारीलाई दैलेख–२ को चुनावी प्रतिस्पर्धामा महत्वपूर्ण मानिएको छ।

तपाइको प्रतिक्रिया
(Visited 111 times, 1 visits today)

epaper

ताजा समाचार

१९ माघ २०८२