काठमाडौं । नेपाल स्पोर्टस समिट कमिटीले ‘नेपाल स्पोट्र्स समिट २०२६’ घोषणा गरेको छ । आगामी ५ फेब्रुअरीमा काठमाडौंमा समिट आयोजना हुन लागेको हो । यो नेपालकै पहिलो राष्ट्रिय खेल सम्मेलन भएको आयोजकको दावी छ ।
सम्मेलनले उच्चस्तरीय कूटनीतिज्ञ, अन्तर्राष्ट्रिय प्रतिनिधि, कर्पोरेट नेतृत्व, सरकारी अधिकारी, खेल प्रशासक, सञ्चारकर्मीदेखि विश्वव्यापी सरोकारवालासम्मलाई एउटै छानामुनि एकत्रित गरिने बताइएको छ ।
समिटमा नेपालका खेल क्षेत्रका नीतिगत, पूर्वाधार, सञ्चार, डिजिटल सामग्री तथा अन्तर्राष्ट्रिय सहकार्य विषयमा छलफल हुनेछ ।
पहिलो सत्रमा खेल कूटनीति, दोस्रोमा खेल पूर्वाधार, तेस्रोमा उदयमान खेल, चौथोमा खेलमा सञ्चार तथा प्रसारण तथा पाचौंमा खेल सामग्री तथा कचइन्फ्लुएन्सर विषयमा छलफल हुनेछ । ‘नेपाल स्पोर्टस समिट २०२६’का आयोजक आमिर अख्तरले आइतबार आयोजित पत्रकार सम्मेलनमा ‘नेपाल स्पोर्टस समिट २०२६’ केवल एउटा कार्यक्रम नभएर यो खेल, कूटनीति, पर्यटन र आर्थिक विकास एकीकृत गर्ने राष्ट्रिय अभियान भएको बताए । ‘हाम्रो दृष्टिकोण नेपालको खेल इकोसिस्टमलाई विश्वव्यापी अवसरसँग जोड्दै अन्तर्राष्ट्रिय सहकार्यमार्फत देशको खेल भविष्यलाई रूपान्तरण गर्नु हो,’ उनले भने ।
अर्का आयोजक तथा मिडिया उद्यमी भास्कर राजकर्णिकारले समिटले नीति निर्माता, लगानीकर्ता, खेल नेतृत्व र विश्व संस्थाबीच संरचित संवादको वातावरण बनाउने बताए । ‘नेपालसँग प्राकृतिक लाभ, युवा ऊर्जा र अन्तर्राष्ट्रिय सद्भावना छ,’ उनले भने, ‘समिटले यस सम्भावनालाई व्यावहारिक साझेदारी र दीर्घकालीन वृद्धिमा रूपान्तरण गर्ने विश्वास लिएका छौं ।’








