कपिलवस्तु। सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले सञ्चालन गरेको लागुऔषध (लापसे) तथा मादक पदार्थ सेवन, स्वास्थ्य र कागजात जाँच अभियानका क्रममा ५० जना सवारी चालकको परीक्षण गर्दा ७ जना चालक लापसे सेवन गरी सवारी साधन चलाइरहेको अवस्थामा फेला परेका छन्।
सार्वजनिक सडकमा यात्रु तथा सर्वसाधारणको ज्यान जोखिममा पार्ने गरी गाँजा तथा मादक पदार्थ सेवन गरेर सवारी चलाइरहेका ती चालकलाई तत्काल नियन्त्रणमा लिई कानुन बमोजिम कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी निरीक्षक राजन ढकालले जानकारी दिए ।
उनका अनुसार पछिल्लो समय भएका धेरैजसो सवारी दुर्घटनाको प्रमुख कारण लागुऔषध तथा मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउनु रहेको पाइएको छ। यही अवस्थालाई मध्यनजर गर्दै प्रहरीले यस्ता गतिविधिविरुद्ध शून्य सहनशीलताको नीति अपनाएको जनाएको छ।
अभियानका क्रममा चालकहरूको स्वास्थ्य अवस्था, लागुऔषध तथा मादक पदार्थ सेवनको अवस्था र सवारी कागजात लगायत विषयमा गहिरो जाँच गरिएको ट्राफिक प्रहरीले जनाएको छ। सवारी दुर्घटनाको जोखिम न्यूनीकरण गर्न यस्ता जाँचलाई निरन्तरता दिइने प्रहरीको भनाइ छ।
जनगुनासोका आधारमा दुर्घटनाको जोखिम बढ्दै गएको भन्दै लागुऔषध नियन्त्रण ऐन, २०३३ अनुसार दोषी चालकलाई कानुनी दायरामा ल्याइने ईलाका प्रहरी कार्यालय पिपराका प्रमुख प्रहरी निरीक्षक अर्जुन पौडेलले बताए । उनले सार्वजनिक यातायातमा यात्रुको सुरक्षासँग खेलवाड गर्ने जो–कोहीलाई कानुनअनुसार कारबाही गरिने स्पष्ट पारे।
नियन्त्रणमा परेका चालकहरूमध्ये केही पश्चिम नेपाल बस व्यवसायी समिति, बुटवल यातायात रूपन्देही तथा देउराली यातायात अर्घाखाँचीसँग आबद्ध रहेको पाइएको छ। यसले सार्वजनिक यातायात क्षेत्रमा अनुशासन र जिम्मेवारीप्रति गम्भीर प्रश्न उठाएको प्रहरीको निष्कर्ष छ।
उक्त अभियान जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुको आयोजनामा, ईलाका प्रहरी कार्यालय पिपराको सह–आयोजनामा तथा पिपरा अस्पताल कपिलवस्तुको प्राविधिक सहयोगमा सञ्चारकर्मी र सम्बन्धित निकायको संयुक्त सहभागितामा सम्पन्न भएको हो।
ट्राफिक प्रहरीले आगामी दिनहरूमा पनि आकस्मिक जाँच तथा कडा निगरानी अभियानलाई निरन्तरता दिने बताउँदै सबै सवारी चालकलाई कानुनको पालना गर्दै जिम्मेवार र सचेत भएर सवारी चलाउन आग्रह गरेको छ।
सम्बन्धित समाचार
रुरुधाममा पाँच दिनसम्म माघे सङ्क्रान्ति मेला चल्ने
माघे सक्रान्तिमा रुरु क्षेत्र धाममा भक्तजनहरूको भिड
गुल्मीमा निर्वाचन प्रहरी अपुग
नेकपाबाट गुल्मी २ मा श्रीराम महत
नेपालगञ्ज भन्सारमा ६ महिनामा नौ अर्ब ३४ करोड राजस्व सङ्कलन
गुल्मीमा ४३ जनाको उम्मेदवारी कायम
कपिलवस्तुमा कुष्ठरोग अझै चुनौती, छ महिनामा ३९ नयाँ बिरामी पहिचान
प्रतिनिधिसभाको निर्वाचनः १२ बर्षपछि फर्कियो नेकपाको चुनाव चिन्ह






