गुल्मी । आगमी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा गुल्मीमा ४३ जनाको उम्मेदवारी कायम भएको छ । जिल्ला निर्वाचन कार्यालयले सार्वजनिक गरेको तालिकाअनुसार जिल्लामा कुनै पनि उम्मेदवारमाथि दाबी, विरोध वा उम्मेदवारी फिर्ता नभएपछि उम्मेदवारी दिएका सबैको उम्मेदवारी कायम भएको हो ।
जिल्लामा प्रतिनिधिसभाका दुईवटा निर्वाचन क्षेत्र रहेका छन् । जसमा क्षेत्र नम्बर १ मा २१ र क्षेत्र नम्बर २ मा २२ जनाको उम्मेदवार रहेका छन् । जिल्लामा काँग्रेस, एमाले, नेकपा र रास्वपाबीच मुख्य प्रतिस्पर्धा हुनेछ । क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसबाट चन्द्र भण्डारी, एमालेबाट प्रदिप ज्ञवाली, नेपाली कम्युनिष्ट पार्टीबाट सुदर्शन बराल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सागर ढकाल लगायत रहेका छन् । त्यसैगरी क्षेत्र नम्बर २ मा काँग्रेसबाट भुवन प्रसाद श्रेष्ठ, एमालेबाट गोकर्ण विष्ट, नेपाली कम्युनिष्ट पार्टीबाट श्रीराम महत, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गोविन्द पन्थी लगायतका उम्मेदवार रहेको हरीहर पौडेलले बताए ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लामा दुई लाख २९ हजार पाँच सय ४९ जना मतदाता रहेका छन् । जसमा क्षेत्र नम्बर १ मा ५९ हजार नौ सय १४ पुरुष र ६२ हजार दुई सय ७२ पुरुष गरी एक लाख २२ हजार एक सय ८६ र क्षेत्र नम्बर २ मा ५४ हजार चार सय २३ पुरुष र ५२ हजार नौ सय ३८ हजार महिला र दुईजना तेस्रोलिङ्गी गरी एक लाख सात हजार तीन सय ६३ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय प्रमुख ऋषि घिमिरेले जानकारी दिए । निर्वाचनलाई लक्षित गर्दै राजनीतिक दलहरुले प्रचार–प्रसारलाई पनि तिब्रता दिएका छन् ।






