काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज (आइतबार) जापानको औपचारिक भ्रमणमा जाने भएका छन् । नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठका अवसरमा जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जापान भ्रमणमा जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
राष्ट्रपति पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल एयरलाइन्सको उडान नम्बर ४३३ बाट आज राति ११ः३० बजे जापान प्रस्थान गर्ने परराष्ट्र सचिव अमृतबहादुर राईले जानकारी दिए । भ्रमण सम्पन्न गरी उनी माघ २१ गते अपराह्न ४ः३० बजे स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
भ्रमणका अवसरमा राष्ट्रपति पौडेलले माघ १९ गते नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव मनाउने सन्दर्भमा जापान सरकारका तर्फबाट आयोजना हुने विशेष स्वागत समारोहमा सहभागिता जनाउने छन् ।
उनले माघ २० गते टोकियोस्थित इम्पेरियल प्यालेसमा जापानका सम्राट नारुहितोसँग राजकीय शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र सचिव राईले बताए । सोही दिन राष्ट्रपति पौडेल र जापानका प्रधानमन्त्री सुश्री ताकाइची सानाएबीच पनि भेटवार्ता हुने तालिका छ । यस्तै, भ्रमणका क्रममा जापानका विदेश राज्यमन्त्री होरिइ इवाओले पनि राष्ट्रपति पौडेलसँग शिष्टाचार भेटवार्ता गर्ने छन् ।
यसैगरी जापानी व्यावसायिक समुदायसँगको बैठकमा सहभागिता जनाउनुका साथै राष्ट्रपति पौडेलले जापानस्थित नेपाली राजदूतावासले उनको सम्मानमा आयोजना गर्ने स्वागत समारोहमा पनि सहभागी हुने मन्त्रालयले जनाएको छ । राष्ट्रपति पौडेलका साथ उनकी धर्मपत्नी श्रीमती सबिता पौडेल तथा उच्चस्तरीय सरकारी अधिकारीहरू भ्रमणमा सहभागी हुनेछन् ।
सम्बन्धित समाचार
देउवा पक्षको रिट सर्वोच्चमा दर्ता, माघ ६ गतेलाई तोकियो पेसी
शेखर कोइरालाले बोलाए आफू निकट नेताहरूको भेला
उम्मेदवार मनोनयन दर्ताका लागि सम्पत्ति विवरण बुझाउनुपर्ने, अन्य के के चाहिन्छ कागजात ?
आजपा र पहिला देश अभियानबीच पार्टी एकता
निर्वाचन आचारसंहिता लागू
आशिष गजुरेलले निर्देशक पदबाट दिए राजीनामा
ईश्वर पोखरेल काठमाडौं ५ बाट निर्वाचन लड्ने
भू–राजनीतिक सन्तुलनको आवश्यकताले गोरखाबाट मेरो उम्मेदवारीः डा भट्टराई






