इलाम । निर्वाचन केवल सांसद चयन गर्ने प्रक्रिया मात्र नभई शिक्षा र युवाको भविष्य सुरक्षित गर्ने महत्वपूर्ण निर्णयको क्षण पनि हो । यस्तो अवस्थामा शिक्षित र ऊर्जावान युवा नेताको उपस्थितिलाई इलाम–१ मा नेपाली कांग्रेसले अवसरका रूपमा हेरेको छ ।
२०४८ सालयताका निर्वाचनमध्ये २०५१ सालको निर्वाचनमा नेपाली कांग्रेसका बेनुपराज प्रसाईंले एकपटक जितेको कांग्रेसले यसपटक निष्कल राईलाई नयाँ अनुहार र युवा पुस्ताका प्रतिनिधिका रूपमा अघि सारेको छ । जसका कारण एमालेको लालकिल्ला मानिएको इलाम–१ लाई यसपटक कांग्रेस तोड्ने दाउमा छ ।
३५ वर्षको उमेरमै प्रतिनिधिसभा उम्मेदवार बनेका निष्कल राई केवल चुनावी नारामा सीमित होइन, नेतृत्व र निर्णय प्रक्रियाको केन्द्रमा पु¥याउनुपर्ने धारणा राख्छन् । रोजगारी सिर्जना, सीप विकास, उद्यमशीलता प्रवर्धन तथा युवाको बढ्दो विदेश पलायन रोक्नु उनका मुख्य राजनीतिक एजेन्डा हुन् । विद्यार्थी राजनीतिबाट सक्रिय हुँदै संसद् यात्रामा होमिएका राईले शिक्षण र अन्तर्राष्ट्रिय अनुभवलाई राजनीतिक अभ्याससँग जोड्दै आएका छन् ।
काठमाडौंस्थित शंकरदेव क्याम्पसमा अध्ययन गरेका राईले कृषि, शिक्षा सुधार, गुणस्तरीय पढाइ र सबैका लागि पहुँचयोग्य शिक्षालाई प्राथमिक एजेन्डाका रूपमा अघि सारेका छन् ।
३५ वर्षमा संसद् छिर्ने दाउमा चुनावी मैदानमा आएका राईले व्यवस्थापन विषयमा स्नातकोत्तर अध्ययन पूरा गरिसकेका छन् भने हाल अर्थशास्त्रमा एमफिल अध्ययनरत छन् । अध्ययन तथा अनुसन्धानका क्रममा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सभा–सम्मेलनमा सहभागिता जनाउँदै दक्षिण कोरिया, हंगेरीलगायतका देशहरूको भ्रमण तथा अवलोकन गरेका राई यो पटक एमालेको विरासत तोड्ने दाउमा छन् । उनलाई जिम्मेवार, सक्षम र भरोसायोग्य युवा नेताका रूपमा स्थापित गरेको कांग्रेसका युवा नेता सुरेश भट्टराई बताउँछन् ।
पूर्वप्रधानमन्त्री झलनाथ खनालको क्षेत्र भनेर चिनिने इलाम क्षेत्र नम्बर–१ मा अहिले चुनावी माहौल निकै बढेको छ । विगतका निर्वाचनहरूमा एमालेले विजय हासिल गर्दै आएको यो क्षेत्रमा यसपटक कसले
बाजी मार्ला त्यो त निर्वाचनको मत परिणाम पर्खनै पर्छ । यो क्षेत्रमा १३ राजनीतिक दलका १३ जना उम्मेदवार चुनावी मैदानमा छन् । प्रतिस्पर्धा भने ठूला दल नेकपा एमाले र नेपाली कांग्रे बीच नै हुने निश्चित जस्तै छ ।
इलाम क्षेत्र नम्बर १ क्षेत्र नम्बर २ को तुलनामा भौतिक पूर्वाधार र अन्य विकास निर्माणमा निकै सुविधा सम्पन्न मानिन्छ । चिया, दूध उत्पादन, छुर्पी, चीज, ललिपप जस्ता दूधजन्य पदार्थको उत्पादन, आलु, अदुवा, अम्लिसो, अकबरेलगायतका तरकारी उत्पादनको क्षेत्रमा अग्रणी मानिने इलाम क्षेत्र नम्बर १ पर्यटकीय हिसाबले पनि महत्वपूर्ण छ । यसपटकको चुनावी मैदानमा हुने प्रायः सबै जसो उम्मेदवारको मुख्य मुद्दा पनि इलाम–१ को कृषि उत्पादन, किसानलाई आत्मनिर्भर बनाउने लक्ष्य र पर्यटन पूर्वाधार तथा पर्यटन क्षेत्रको विकास नै रहेको पाइन्छ । यसअघि यो क्षेत्रमा ठूलो दल मानिएको एमालेले उठाएका उम्मेदवार काजीमान कागते मैदानमा छन् ।
अघिल्लो निर्वाचनमा पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई पछि पार्दै एमालेका महेश बस्नेतले २५ हजार ७ सय ५३ मत ल्याएर विजयी बनेका थिए । कांग्रेससँगको गठबन्धनमा रहेका पूर्व प्रधानमन्त्री खनालले २३ हजार ८९ मत प्राप्त गरेका थिए ।
इलाम–१ मा एमालेका काजीमान, नेपाली कांग्रेसका निष्कल, नेपाली कम्युनिस्ट पार्टीका रणबहादुर राईसहित राप्रपाका ज्वाला नेपाल, रास्वपाका विमल गदाल, नेमकिपाका तुलसीकेशरी छुँजूू, मंगोल नेसनल अर्गनाइजेशनका बुद्धलाल मेचे, उज्यालो नेपाल पार्टीका हरिबहादुर गुरुङ, श्रम संस्कृति पार्टीका विनोद नेम्वाङ लिम्बु, नेपाल जनमुक्ति पाटीका डम्बरसिंह लिम्बू, नेपाल कम्युनिस्ट पाटीका नारदमणि साङपाङ, जनता समाजवादी पार्टीको तर्फबाट लीलाबहादुर सुनुवार र संघीय लोकतान्त्रिक मञ्चका रामप्रसाद लिम्बु चुनावी मैदानमा छन् ।






