सल्यान । सल्यानमा राष्ट्रिय स्वतन्त्र पार्टीको गाडीबाट प्रहरीले रक्सी र खाद्यन्न बरामद गरेको छ । देवस्थल बाट खटिएको प्रहरी टोलीले राष्ट्रिय स्वतन्त्र पार्टीको झण्डा राखिएको क.प्र.०२–००१ च ०४२९ नम्बरको बोलेरो जिप जाँच गर्दा “गोली डाईमण्ड” लेखिएको प्लास्टिक मदिरा २१० थान, बियर २४ बोतल, खाने तेल ३० बोतल र २ बोरा चामल बरामद गरेको हो ।
स्थानीयले जीपमा रक्सी, बियर लगायतका खाद्यन्न राखेको भन्दै विरोध गर्न थालेपछि प्रहरीले उक्त गाडी चेकजाँच गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी डा. हेम बहादुर केसीले जानकारी दिए ।
वनगाड कुपिण्डे नगरपालिका–१, सल्लीबजार माथिल्लो बजार क्षेत्रमा निर्वाचनलाई लक्षित गरी वितरण गर्न सकिने आशंकामा सामग्रीसहित एक बोलेरो जिप र दुई जना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको डिएसपी केसीले बताए ।
त्यसैगरी प्रहरीले जिप चालक २४ वर्षका चन्द्र प्रकाश बुढाथोकी र सोही जिपमा सवार २७ वर्षका मोहन बिसीलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको छ ।






