चलचित्र ‘आँखा’लाई ‘निर्देशन–क्राफ्ट’मा ‘गोल्ड अवार्ड’


काठमाडौं । नेपाली चलचित्र ‘आँखा’ ले संयुक्त राज्य अमेरिकामा दुई वटा अन्तर्राष्ट्रिय अवार्ड जितेको छ । जोन योञ्जनद्वारा निर्देशित यो चलचित्रले अमेरिकाको ‘वल्र्ड फेस्ट–ह्युस्टन अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’मा दुई वटा प्रतिष्ठित ‘रेमी अवार्ड’ जितेको हो ।

गत साता मात्र भत्काइएको थापाथलीमा रहेको सुकुम्वासी बस्तीमा यो चलचित्रको सबै दृश्य छायांकन गरिएको थियो । सुकुम्वासी बस्तीमा जीवनयापन गरिरहेका सामान्य मानिसहरूको कथा, संघर्ष र यथार्थलाई यो चलचित्रमा मार्मिक प्रस्तुत गरिएको थियो ।

सन् १९६१ मा स्थापना भएको ‘वल्र्डफेस्ट–ह्युस्टन अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ विश्वकै सबैभन्दा पुरानो स्वतन्त्र चलचित्र महोत्सवमध्ये एक मानिन्छ । यो अन्तर्राष्ट्रिय महोत्सवमा अवार्ड जित्ने पहिलो नेपाली चलचित्र ‘आँखा’ बन्न सफल भएको छ । यस चलचित्रले ‘विदेशी फिचर’ प्रतिस्पर्धामा उत्कृष्ट हुँदै ‘प्लेटिनम रेमी अवार्ड’ र ‘निर्देशन–क्राफ्र्ट’ प्रतिस्पर्धामा ‘गोल्ड अवार्ड’ जितेको छ ।

विश्वभरका चलचित्र निर्माता र सिर्जनाहरूलाई एकै ठाउँमा ल्याउने यो महोत्सव अमेरिकाको टेक्ससस्थित ह्युस्टनमा आयोजना भएको हो । स्टिभन स्पिलबर्ग, जर्ज लुकास, डेभिड लिन्च र आङ ली जस्ता दिग्गज हलिउड निर्देशकहरूले पनि आफ्नो करियरको सुरुवातमा यही महोत्सवबाट ‘रेमी अवार्ड’ प्राप्त गरेका थिए । यस्तो विश्व प्रसिद्ध मञ्चमा चलचित्र र निर्देशकमा ’प्लेटिनम’ र ’गोल्ड’ जस्ता सर्वोच्च अवार्ड जित्नुले नेपाली चलचित्र उद्योगका लागि खुसीको खबर भएको निर्देशक जोनले बताएका छन् । यो सफलताले विश्वव्यापी प्लेटफर्ममा नेपाली चलचित्र पनि अब्बल बन्ने सकेको पनि निर्देशक जोनले बताए ।

यस अघि ६२औँ संस्करणको एसिया प्यासिफिक चलचित्र महोत्सवमा आफ्नो चलचित्रले ‘उत्कृष्ट चलचित्र’को उपाधि जितेको पनि यी निर्देशकले जानकारी गराए । एसिया प्यासिफिक चलचित्र महोत्सवको सर्वोच्च सम्मान प्राप्त गर्ने पहिलो नेपाली चलचित्र पनि ‘आँखा’ नै हो।

एसियामा ऐतिहासिक जित र अमेरिकामा प्रतिष्ठित दुई रेमी अवार्डको प्राप्तिसँगै, ‘आँखा’ विश्वका थुप्रै अन्तर्राष्ट्रिय महोत्सवमा छानिएको पनि यस चलचित्रका निर्देशकले बताएका छन् । यसले प्राप्त गरिरहेको यि अन्तर्राष्ट्रिय मान्यताले ‘नेपाली कथाहरूले विश्वव्यापी दर्शकहरूको मन छुन सक्छन्’ भन्ने कुरा पुष्टि गरेको निर्देशक जोनले बताएका छन् ।

गत वर्ष रिलिज भएको यो चलचित्रले नेपालमा व्यावसायिक सफलता हासिल गर्न नसके पनि चलचित्र समीक्षकहरूबाट राम्रो प्रतिक्रिया पाएको थियो । चलचित्र ‘आँखा’मा विजय बराल, बुद्धि तामाङ, स्मिता लामिछाने, पशुपति राई, निशा अधिकारी, आरके मेहतालगायतका कलाकारहरूको अभिनय रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 28 times, 1 visits today)

epaper

ताजा समाचार

प्रदान गरियो कलाकारलाई नातिकाजी राष्ट्रिय संगीत पुरस्कार