नुवाकोट (बेलकोटगढी) । सिन्धुपाल्चोकको लप्सीफेदीदेखि तनहुँको दमौली र मकवानपुरको हेटौंडासम्म जोड्ने २९७ किलोमिटर लामो विद्युत् प्रसारण लाइन निर्माणको शुभारम्भ भएको छ ।
मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समितिले बुधबार मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्टको विद्युत् प्रसारण आयोजनाअन्तर्गत रातमाटे सबस्टेशन र नयाँ दमौली सबस्टेशन तथा २९७ किलोमिटर लामो विद्युत् प्रसारण लाइनको निर्माण कार्य औपचारिक रूपमा शुभारम्भ गरिएको हो ।
बुधबार शिलान्यास गरिएको २९७ किलोमिटर लामो प्रसारण लाइन सञ्जालमा लप्सीफेदी–रातमाटे–न्यु हेटौंडा प्रसारण लाइन खण्ड, रातमाटे–न्यु दमौली प्रसारण लाइन खण्ड र न्यु दमौली–न्यु बुटवल प्रसारण लाइन खण्ड रहेका छन् । रातमाटेमा आयोजित एक समारोहमा तीन वटा प्रसारण लाइन र सबस्टेशनको ठेकेदारहरूलाई अर्थसचिव डा. घनश्याम उपाध्यायले साबेल प्रदान गरेका थिए ।
नेपाल सरकार र संयुक्त राज्य अमेरिकाको संयुक्त लगानी रहेको एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रम अन्तर्गत विद्युत् प्रसारण आयोजनाअन्तर्गत तीन वटा ४०० केभी सबस्टेशन तथा ३१५ किलोमिटर प्रसारण लाइन निर्माण हुन लागेको हो ।
संयुक्त राज्य अमेरिकाबाट प्राप्त ५५ करोड अमेरिकी डलर अनुदान र नेपाल सरकारको १९ करोड ७० लाख अमेरिकी डलर लगानीमा भइरहेको यस परियोजनाले अन्तर्राष्ट्रिय स्तरको विद्युत् प्रसारण पूर्वाधार निर्माण र महत्वपूर्ण सडक सञ्जालको निर्माण हुनेछ ।
नेपाल सरकारले यो आयोजनालाई देशको आर्थिक भविष्यका लागि गरिएको महत्वपूर्ण लगानीका रूपमा हेरिएको अर्थसचिव डा. उपाध्यायले बताए । एमसीए–नेपाल सञ्चालक समितिका अध्यक्षसमेत रहेका डा. उपाध्यायले भने, ‘ऊर्जा सुरक्षा सुनिश्चित गर्न, लगानी र औद्योगिक विस्तार प्रवर्धन गर्न र नेपालको ऊर्जा सम्भाव्यताबाट अधिकतम लाभ प्राप्त गर्न विद्युत् प्रसारण पूर्वाधारलाई सुदृढ पार्नु आवश्यक छ ।’
कार्यक्रममा नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमले नेपालसँग संयुक्त राज्य अमेरिकाको लामो समयदेखिको साझेदारी र एमसीसी नेपाल कम्प्याक्टप्रतिको प्रतिबद्धता स्मरण गराएकी थिइन् । ‘यस कम्प्याक्टमार्फत नेपालको ऊर्जा भविष्यको मेरुदण्ड निर्माण हुनेछ,’ उनले भनिन्, ‘भरपर्दो बिजुली देशका कुना कुनाका साथै सीमापार गर्न यस परियोजनाले सहयोग गर्नेछ ।’
एमसीसीका आवासीय राष्ट्रिय निर्देशक डायन फ्रान्सिस्कोले नेपालको आर्थिक वृद्धि र क्षेत्रीय ऊर्जा एकीकरणको दीर्घकालीन महत्वलाई यस परियोजनाले घरपरिवार, व्यवसाय र उद्योगहरूका लागि भरपर्दो बिजुली आपूर्ति गर्न आवश्यक प्रसारण लाइनको निर्माण हुने बताए ।
नेपाल विद्युत् प्राधिकरणका कार्यवाहक कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले एमसीसी नेपाल कम्प्याक्टअन्तर्गत निर्माण भइरहेका यी पूर्वाधार कुनै छुट्टै प्रणाली नभई नेपालको राष्ट्रिय प्रसारण लाइनकै अभिन्न अंग भएको बताए ।
एमसीए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले निर्माणाधीन परियोजना सशक्त, थप भरपर्दो र नवीन विद्युत् प्रसारण सञ्जालले नेपालीलाई लामो दीर्घकालसम्म फाइदा दिने बताए ।
शिलान्यास गरिएका सबस्टेशनहरू तथा प्रसारण लाइन निर्माण कार्यमा चार निर्माण कम्पनी संलग्न रहेका छन् । टेक्नो इलेक्ट्रिक एन्ड इन्जिनियरिङ कम्पनी लिमिटेडले रातमाटे र न्यु दमौली सबस्टेशन निर्माण गर्ने जानकारी गराइएको थियो ।
आशीष–बोझ्लर संयुक्त उपक्रमले ११७ किलोमिटर लामो लप्सीफेदी–रातमाटे–न्यु हेटौंडा प्रसारण लाइन खण्ड र एञ्जेलिक–स्किपर संयुक्त उपक्रमले ९० किलोमिटर लामो रातमाटे–न्यु दमौली प्रसारण लाइन खण्ड निर्माणको जिम्मा पाएका छन् भने वाइबा–सालसर संयुक्त उपक्रमले ९० किलोमिटर लामो न्यु दमौली–न्यु बुटवल प्रसारण लाइन खण्ड निर्माण गर्नेछ ।
निर्माण सम्पन्न भएपछि रातमाटे सबस्टेशन र न्यु दमौली सबस्टेशन नेपालका सबैभन्दा ठूला उच्च–भोल्टेज क्षमताका सबस्टेशनमध्येको हुने एमसीए नेपालले जनाएको छ ।
सम्बन्धित समाचार
शुक्रबार आगामी आवको बजेट आउँदै
देशभर ३२ हजार ३२५ सहकारी, शेयर पूँजी एक खर्ब ४३ अर्ब २९ करोड
कर्मचारीको तलब २१ प्रतिशत वृद्धि
उदारवादी, उत्पादनमुखी र प्रविधिमैत्री बजेट
नेप्से परिसूचक ११ दशमलव ३७ अङ्कले घट्यो
बीवाईडी भन्सार छली प्रकरण : सरकारले बनायो छानबिन समिति, नाकामै अनुसन्धान
लमजुङको लेकाली भेकमा धान रोपाई सुरु
बजेट विवादले आलोचनामा चर्चित अर्थमन्त्री






