वीरगन्ज । मध्य तराईमा विगत चार–पाँच वर्षयता देखिएको खानेपानी समस्या यो वर्ष थोरै पर धकेलिएको छ । खानेपानीको दीर्घकालिन विकल्पमा नेपाल खानेपानी संस्थानले वितरण गर्ने धाराको पानी पछिल्लो सयम उपभोक्ताको रोजाइमा थिएन । तर सर्वसाधारण आफैले गाडेका चापाकलको पानी एकाएक सुक्न साथेपछि खानेपानी शंकट हटाउन पुनः सर्वसाधारण नेपाल खानेपानी संस्थानले वितरण गर्ने धाराको पानीतर्फ आकर्षित भएपछि यो वर्ष पानी शंकट पनि कम भएको हो ।
केही वर्ष अगाडीसम्म धारामा आउने पानी काटिदिनुस् भन्दै नेपाल खानेपानी संस्थानमा आउने सेवाग्राही अहिले भने उल्टै धारा जडान गरिदिनुस् भन्दै आउन थालेको त्यहाँका कर्मचारीले अनुभव छ । धारा जडान गरिदिन भन्दै अहिले ८–१० जना जति सेवाग्राही दैनिक कार्यालयमा आइपुग्ने गरेको नेपाल खानेपानी संस्थान वीरगन्ज शाखाका कार्यालय प्रमुख ईन्जिनियर मोहनदत्त भट्टले राजधानी दैनिकसँग बताए ।
विगतका केही वर्ष पानीको निकै हाहाकार हुने समयमा यो वर्ष खानेपानीको त्यस्तो समस्या नदेखिएको उनको भनाइ छ । अघिल्लो वर्षभन्दा यो वर्ष २ हजार बढि धारा कार्यालयले वितरण गरिसकेको र अलि–अलि पानी पनि यो वर्ष पर्दै गरेकोले जमिनमुनिको पानी पुनःर्भरण (चार्ज) प्रणालीमा बल पुग्दा विगतका वर्ष जस्तो खानेपानीको जटिल समस्या यो वर्ष नदेखिएको शाखा प्रमुख भट्टको तर्क छ । खानेपानी संस्थानले अहिले कुल ९५ हजारदेखि १ लाखसम्म उपभोक्तालाई खानेपानी उपलब्ध गराउँदै आएको लगत खानेपानी संस्थान शाखा कार्यालयको छ ।
एक वर्षमा २ हजार धारा जडान
नेपाल खानेपानी संस्थानबाट अहिले कुल १३ हजार ८ सय १ वटा धाराबाट सेवाग्राहीले खानेपानीको जोहो गरिरहेको नेपाल खानेपानी संस्थानको लगत छ । अघिल्ला वर्ष धारा वितरण संख्या ११ हजार ८ सय ६४ मात्र रहेको थियो । खानेपानी संस्थान अन्तर्गत पर्सामा कुल ७ वटा ओभर हेड ट्यांकी छन् । १३ वटा बोरिङ छन् । जसमध्ये पर्साको वीरगन्ज ३२ मा रहेको सोलकपुर, वडा नम्बर ३० र ३१ को लालपर्सा र वडा नम्बर १९ को विन्दवासीनीको ओभर हेड टेंकीबाट भने पानी वितरण कार्य नभएको खानेपानी संस्थान वीरगन्जले जनाएको छ । कारण सो ठाउँका सर्वसाधारणले खानेपानीको धारा जडान गर्न नचाहेर पनि ती ठाउँमा पानी सप्लाई हुन नसकेको कार्यालयको दावी छ ।
वीरगन्ज खानेपानी संस्थान अन्तरगतका १४ वटा बोरिङहरु मध्ये १० वटाबाट पानी सप्लाई भइरहेको छ । ती सबै बोरिङबाट उत्पादित पानी जुन एरियामा पनि सम्लाई गर्न मिल्ने गरी आन्तरिक सिष्टम बनाइएको पनि खानेपानी संस्थानले जनाएको छ ।
एकवर्षबाट संस्थानकै धाराको भर
वर्षौं संचालनमा आएको चापाकल गतवर्ष एकैपटक पुरै पानी नदिने भएपछि एकवर्ष यता पुरै खानेपानी संस्थानकै पानीको भर पर्नु परेको वीरगन्ज ११ श्रीपुरका सेठ्ठी कुशवाहाले बताए । आफ्नो घरमा गएको वर्षबाट खानेपानी संस्थानकै धारा जडान गरी त्यसैबाट पूर्णरुपमा काम चलाइरहेको उनको भनाइ छ । अहिले भने धारामा पानी आउने क्रम अलि कम भएको सेठ्ठीले बताए ।
आफै भू–गर्भको पानी निकालेर खुल्ला रुपमा काम चलाईरहेका मध्य तराईको पर्सा बाराका सर्वसाधारणका चापाकलमा पानी सुकेपछि खानेपानीको समस्या सतहमा आएको थियो । त्यसमा वीरगन्ज महानगरपालिकाका अधिकाँश वडा सहित जिल्लाका अन्य क्षेत्रहरुको पनि सर्वसाधारणका चापाकल सुक्ने समस्या देखिएको थियो । भू–सतहमा रहेको पानीको लेयर कम हुनुले त्यस्तो समस्या देखिएको खानेपानी संस्थानका ईन्जिनियरहरुको भनाइ छ ।
मनलाग्दी गाडिएका बोरिङबाट भने भविष्यमा समस्या
वीरगन्ज महानगरपालिका त खानेपानी समस्याको निकै समस्यामा थियो । यो समस्या कम गर्न स्थानीय सरकार र संघ सरकारले पनि खानेपानी प्रयोगका लागि पहुँचवाला र पैसावालाहरुको घरै पिच्छे जस्तो बोरिङ गाडेको थियो । ती बोरिङ गाड्दा केही अवैध लाभ पनि हुने भएपछि उनीहरु निकै हौसिएको पनि स्थानीयको दावी थियो । तथापि धेरै उपभोक्ताको पानीको समस्या भने हल भएको स्थानीय सरकारका जनप्रतिनिधिको दावी छ । तर मनलाग्दी गाडिएका बोरिङको मापदण्डले अहिले केही सेवाग्राही पानीको समस्याबाट मुक्त भए जस्तो देखिए पनि भविष्यमा मापदण्ड विपरित गाडिएकै बोरिङका कारण थप समस्या आउन सक्ने भू–गर्भविद तथा विज्ञहरुको तर्क छ । एउटा बोरिङ गाडिएको ठाउँबाट ४ सय मिटर वरिपरि अर्को बोरिङ गाड्न नहुने उनीहरुको सुझाव छ ।
यो मापदण्ड विपरित पैसा र पहुँचका भरमा राज्यकै जिम्मेवार व्यक्ति र निकायले पनि घरैपिच्छे जस्तो गाडिदिएका बोरिङबाट भविष्यमा समस्या भित्रिने विज्ञहरुले दावी गरे । भूगर्भको पानीको ’bout जानकार तथा विज्ञ कविराज पौडेलले पनि मधेशमा पानी सुक्नुमा पानी प्रयोगको तरिका नमिलेको, चुरेको विनाश, पानी चार्ज प्रणालीमा असर, जस्ता कारणले पानीको समस्या देखिएको उनले बताए ।
समयमा नै भूगर्भको पानी चार्ज हुने प्रणालीलाई व्यवस्थित गर्न सक्नु पर्ने उनले सुझाव दिए ।
अव्यवस्थित बढ्दो शहरीकरण, सो क्रममा बनाइएका भौतिक संरचना, पानी पुनर्भरण (चार्ज) हुने प्रणालीमा असर, चुरेको विनास, वातावरणीय असन्तुलन, मनलाग्दी बोरिङ गाड्दा आउने समस्या लगायत विभिन्न कारण विगत पाँच सात वर्ष यता मधेशमा खानेपानीको समस्या देखिएको विज्ञहरुको भनाइ छ ।
ठोस कारण पहिचानसँगै खानेपानीको समस्या दीर्घकालिन रुपमा न्यूनिकरण हुने गरी अहिलेदेखि नै जिम्मेवार व्यक्ति, निकाय र उपभोक्ताहरुले पनि सतर्कता अपनाउनु पर्ने भूगर्भविद् तथा विज्ञहरुको सुझाव छ ।
सम्बन्धित समाचार
इटहरीमा कोसी प्रदेशकै ठूलो सम्मेलन केन्द्र निर्माण हुने
बाँके निकुञ्जमा भौतिक पूर्वाधारमा लगानी गर्न आग्रह
पूर्वराज्यमन्त्री सिंहलाई चार वर्ष एक महिना कैद
बीस मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने
पोखरी निर्माणपछि सिक्रेटारको १५ सय रोपनी सुख्खा क्षेत्रमा सिँचाइ
साउनदेखि नागढुङ्गा-नौबिसे सुरुङमार्ग सञ्चालनमा आउँदै
बैंकिङ कसुरमा वडाध्यक्ष महतो पक्राउ
लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन





