विदेश होइन, गाउँमै भविष्यः उन्नत भैँसीपालनबाट मासिक एक लाख आम्दानी

पर्वत । बिहानको झिस्मिसे नहुँदै बिहादी गाउँपालिका–२ बर्राचौरस्थित देवेन्द्र पराजुलीको गोठमा चहलपहल सुरु हुन्छ । भैँसीलाई दाना–पानी खुवाउनेदेखि दूध दुहुनसम्मको काम सकिँदासम्म उहाँको दिन निकै अघि बढिसकेको हुन्छ ।

यही गोठ अहिले उनको आम्दानीको मुख्य आधार बनेको छ । उन्नत जातको भैँसीपालनबाट उनले खर्च कटाएर मासिक करिब रु एक लाख आम्दानी गर्दै आएको छ ।

रोजगारीको खोजीमा हजारौँ नेपाली युवा विदेशतर्फ लागिरहेका बेला ४० वर्षीय पराजुलीले भने गाउँमै बसेर कृषि र पशुपालनबाट पनि सम्मानजनक आम्दानी गर्न सकिने उदाहरण प्रस्तुत गरेको छ ।

स्थानीय जातका दुई–तीनवटा भैँसीबाट सुरु भएको उनको व्यवसाय अहिले पाँचवटा मुर्रा जातका उन्नत भैँसी र अन्य स्थानीय जातका गरी १० वटा भैँसीसम्म विस्तार भएको छ ।

दैनिक ८० देखि १०० लिटरसम्म दूध उत्पादन हुने उनको फार्मबाट निस्कने दूध स्थानीय बजारसँगै हुवास, गुल्मीको पुर्तिघाट र स्याङ्जाको वालिङसम्म पुग्ने गरेको छ । भैँसीको दूधको माग उच्च भएकाले बजारको अभाव नभएको उनी बताउछन् ।

“समस्या बजारको होइन, उत्पादनको हो,” उनी भन्छन् , “अझ धेरै दूध उत्पादन गर्न सकियो भने पनि बिक्रीको चिन्ता छैन । अहिले घरबाटै प्रतिलिटर रु १०० का दरले दूध बिक्री भइरहेको छ ।”

करिब रु ३० लाख लगानीमा चार वर्षअघि स्थापना गरिएको ‘पराजुली कृषि तथा पशु फार्म’ अझ विस्तार गर्ने तयारीमा उनी हुन्छन् । आगामी वर्षदेखि थप उन्नत जातका भैँसी खरिद गरी कम्तीमा २० वटा मुर्रा भैँसी पाल्ने योजना उनले बनाएको छ ।

भेटेरिनरी जेटिए अध्ययन गर्नुभएका पराजुलीले सिकेको ज्ञान आफ्नै गाउँमा प्रयोग गर्ने उद्देश्यले पशुपालन रोजेको हो । उनहाँको व्यवसायमा श्रीमती अमृतादेवी शर्मा पराजुली, आमाबुबालगायत परिवारका सदस्यको पनि सक्रिय साथ छ । बिहानदेखि रातिसम्म गोठमै व्यस्त रहने उनी मेहनत गर्न विदेशिनुपर्ने बाध्यता नरहेको बताउछन् ।

भैँसीपालनसँगै उहाँले व्यावसायिक तरकारी, मकै र धानखेती पनि गर्दै आएको छ । आफ्नै र लिजमा लिएको गरी २८ रोपनीभन्दा बढी क्षेत्रफलमा खेती गर्दै उनले सिजनअनुसार टमाटर तथा अन्य तरकारी उत्पादन गर्नुहुन्छ । कालीगण्डकी करिडोर नजिकै रहेको फार्म भएकाले उत्पादन बजारसम्म पुरयाउन पनि सहज भएको उनको अनुभव छ ।

उनको व्यवसायलाई विस्तार गर्न चालु आर्थिक वर्षमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ बागलुङले रु चार लाख अनुदान उपलब्ध गराएको छ । कृषि तथा पशुपन्छी उद्यमशीलता कार्यक्रमअन्तर्गत उद्यमी र कार्यालयको ५०–५० प्रतिशत साझेदारीमा प्राप्त उक्त सहयोगबाट आधुनिक गोठ निर्माण गरिएको हो ।

कार्यक्रम कार्यान्वयन एकाइ बागलुङका प्रमुख अर्जुनप्रकाश सुवेदीका अनुसार वैदेशिक रोजगारीबाट फर्केका वा कृषि उद्यममा लागेका युवालाई प्रोत्साहन गर्ने उद्देश्यले यस्तो सहयोग गरिएको हो । यस्ता कार्यक्रमले ग्रामीण क्षेत्रमा उद्यमशीलता विस्तार गर्न र युवालाई स्वदेशमै अवसर खोज्न प्रेरणा मिल्ने उनको विश्वास छ ।

पराजुलीको अनुभवमा विदेश जान खर्चिने रकम र श्रम आफ्नै गाउँमा लगानी गर्न सके सफल हुन सकिन्छ । “विदेशको चर्को घाममा पसिना बगाउनुभन्दा आफ्नै माटोमा मेहनत गर्नु राम्रो,” उनी भन्छन् , “दुःख त यहाँ पनि हुन्छ, तर त्यसको प्रतिफल आफ्नै घर–परिवार र गाउँले पाउँछन् । यही नै सबैभन्दा ठूलो सन्तुष्टि हो ।”

तपाइको प्रतिक्रिया
(Visited 28 times, 1 visits today)

epaper

ताजा समाचार

मोदी खोलाले सडक बगाउँदा घान्द्रुकमा पर्यटक अलपत्र