पर्सा । जिल्ला प्रहरी कार्यालय पर्साले बालबालिका विरुद्धको कसुर सम्बन्धमा स्रोतबाट पुष्टि भएका तथ्य मात्र प्रकाशन–प्रसारण गर्न अनुरोध गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता चक्रबहादुर मल्लले सोमबार ध्यानाकर्षण गराउँदै सबै सञ्चारमाध्यमलाई आधिकारिक स्रोतबाट पुष्टि भएका तथ्य मात्र सम्प्रेषण गर्न आग्रह गरे । उनले अनुसन्धान सम्पन्न नभएसम्म अपुष्ट र भ्रामक सामग्री प्रसारण नगर्न ध्यानाकर्षण गराए ।
यही साउन ९ गते वीरगन्ज महानगरपालिका–१३ राधेमाई टोलस्थित एक बालिकालाई बालबालिकाविरुद्ध कसुर भएको भनी जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दर्ता भएको थियो ।
उक्त जाहेरी प्राप्त भए लगत्तै प्रहरी टोली परिचालित भई निखिलसिंह राजपुतलाई नियन्त्रणमा लिएको थियो । राजपुतलाई बालबालिकाविरुद्धको कसुरमा प्रचलित कानुनबमोजिम अनुसन्धान भइरहेको छ ।
अनुसन्धानका स्थापित सिद्धान्त तथा प्रमाणका आधारमा निष्पक्ष, स्वतन्त्र र गोपनीय रूपमा अनुसन्धान भइरहेको विषयमा अनुमान, अपुष्ट सूचना वा एकपक्षीय आधारमा प्रकाशित समाचारले अनुसन्धान प्रक्रियामा प्रतिकूल प्रभाव पार्न सक्ने प्रहरीको भनाइ छ ।
यस्ता क्रियाकलापबाट सम्बन्धित पक्षको अधिकारमा असर पर्न सक्ने तथा सर्वसाधारणमा भ्रम सिर्जना गर्न सक्ने उल्लेख गर्दै प्रवक्ता मल्लले ती कार्यप्रति गम्भीर चासो व्यक्त गरेका छन् ।
उनले भने, “प्रहरी निष्पक्ष, पारदर्शी र कानुनसम्मत अनुसन्धान गर्न प्रतिबद्ध छ । अनुसन्धान सम्पन्न भएपछि कानुनबमोजिम सार्वजनिक गर्न मिल्ने विवरण आधिकारिक रूपमा जानकारी गराइन्छ ।”
सम्बन्धित समाचार
सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
मधेसमा ‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
सुनसरी तनावग्रस्त : झडपपछि एक जनाको मृत्यु, पाँच स्थानमा अनिश्चितकालीन कर्फ्यु
विरुवा उत्पादनदेखि वन पर्यटनसम्म
दलित महिलाहरूलाई ‘डिजिटल’ साक्षरता प्रशिक्षण
सुनसरीमा कर्फ्यु हटाइयो, निषेधाज्ञा यथावत्
मधेस प्रदेशमा मानवअधिकार उल्लङ्घनसम्बन्धी ३९ उजुरी दर्ता






