आत्मनिर्भर बन्ने बाटोमा इलामका महिला

इलाम । इलाम नगरपालिका–९ की रत्नमाया सार्कीले निगुरे बाख्रा फर्म दर्ता गरी तीन लाख रुपैयाँको लगानीबाट बाख्रा पालन व्यवसाय सुरु गरिन । व्यवसाय विस्तारका लागि नगरपालिकाबाट एक लाख रुपैयाँ सहुलियत ब्याजमा ऋण लिएकी रत्नमायाको खोरमा हाल १४ वटा बाख्रा रहेका छन् ।

बाख्रामा बेला–बेला रोग लाग्ने, उपचार गर्दा पनि केही मर्ने समस्या रहेकाले अपेक्षाअनुसार हुन नसकेको उनको भनाइ छ । “व्यवसायलाई अझै विस्तार गर्ने सोचमा छु, नगरपालिकासँग लिएको एक लाख रुपैयाँ तिरेर पुनः तीन लाख रुपैयाँ ऋण लिएर व्यवसाय बढाउने योजना छ,” उनले भनिन्, हाल दुई वटा सुँगुरका पाठा समेत खरिद गरेर व्यवसाय बढाउने सोचमा छु ।

सहुलियत ब्याजदरमा थप रकम पाए व्यवसाय विस्तार गरेर सञ्चालन गर्न सकिने उनको विश्वास छ । त्यस्तै इलाम नगरपालिका–३ की राधिका पौडेलले सौरभ पशुपन्छी कृषि फर्म दर्ता गरी गाई तथा बाख्रा पालन व्यवसाय सञ्चालन गरिरहेकी छन् ।

नगरपालिकाबाट दुई लाख रुपैयाँ सहुलियत ब्याजमा ऋण लिएर पाँच वर्षअघि सुरु गरेको व्यवसायबाट अहिले उनको परिवारले नियमित आम्दानी गरिरहेको छ । उनको गोठमा हाल तीन वटा माउ गाई र १० वटा बाख्रा रहेका छन् ।

गोठमा भएका तीन वटा गाईबाट दैनिक ३० देखि ३५ लिटर दूध बिक्री गर्दै आएकी पौडेलले बाख्रा पालनबाट मात्रै वार्षिक ५० देखि ६० हजार रुपैयाँसम्म आम्दानी हुने बताइन् । इलाम नगरपालिका–५ ओख्रेकी कञ्चन रसाइलीले आयुस अर्ग्यानिक फर्म स्थापना गरी तरकारी खेती व्यवसाय सञ्चालन गरिरहेकी छन् ।

घरायसी कामसँगै व्यवसायलाई निरन्तरता दिँदै आएकी रसाइलीले दैनिक उपभोगका लागि आवश्यक तरकारी उत्पादन गर्दै बिक्री गरिरहेकी छन् । आफ्नै उत्पादनबाट उनी खुसी छिन् । यस्तै इलाम नगरपालिका–८ की सोमकुमारी गुरुङले नगरपालिकाबाट सहुलियत ब्याजदरमा ऋण लिएर गाई–गोरु पालन व्यवसाय सुरु गरेकी छन् ।

पशुपालनमार्फत आम्दानी बढाउँदै आत्मनिर्भर बन्ने उद्देश्यले व्यवसाय थालेकी गुरुङले इलाम नगरपालिकाको सहुलियत व्याजको ऋणले महिलालाई व्यवसाय गर्न महत्त्वपूर्ण भूमिका रहेको बताइन् ।

रत्नमाया, राधिका, कञ्चन र सोम कुमारी प्रतिनिधिमूलक उद्यमी हुन । इलाम नगरपालिकाले सञ्चालन गरेको उद्यमी तथा रोजगार सिर्जना कार्यक्रमअन्तर्गत विभिन्न व्यवसायका लागी सस्तो व्याजमा कर्जा दिएपछि ८८ जनाले विभिन्न व्यवसायका लागि रकम लगेका छन् ।

इलाम नगरपालिका सहकारी शाखाका विष्णु भट्टराईका अनुसार नगरपालिकाले ५ प्रतिशत ब्याजदरमा रकम दिएको कारण व्यवसाय गर्नेहरूले सहज महसुस गरेर कर्जा लैजाने गरेको बताए । सस्तो ब्याजदर भएको कारण लगेको रकमको समयमै व्याज तिर्ने गरेको उनको भनाइ छ ।

महिलाहरूले पशुपालन, तरकारी खेती, सिलाइ–कटाइ जस्ता व्यवसाय सञ्चालनका लागि ऋण पाउने गरेको इलाम नगरपालिकाको सहकारी शाखाका विष्णु भट्टराईले बताए ।

१ करोड ८७ लाख लगानी
इलाम नगरपालिकाको उद्यमी तथा रोजगार सिर्जना कार्यक्रमअन्तर्गत हालसम्म ८८ जनालाई १ करोड ८७ लाख ५ हजार रुपैयाँ ऋण दिएको छ । इलाम नगरपालिकाको तथ्याङ्क अनुसार वडा नम्बर १ की रेस्मा गुरुङले २ लाख रुपैयाँ ऋण लिएकी छन् ।

वडा नम्बर २ की गोमा देवी नेपाल, फूलमाया देवान, सुनिता खतिवडा र दाता कुमारी ढकालले एक लाख रुपैयाँका दरले ऋण लिएका छन् भने मीङमाया तामाङले व्यवसाय सञ्चालनका लागि ५० हजार रुपैयाँ ऋण लिएर व्यवसाय सञ्चालन गरेका छन् ।

वडा नम्बर ३ की राधिका पौडेलले व्यवसायका लागि १ लाख रुपैयाँ ऋण लिएका नगरपालिकाले जनाएको छ । वडा नम्बर ४ की अञ्जली निरौला, तारादेवी दर्नाल, सितादेवी दुलाल‘ र वेद कुमारी दुलाल व्यवसाय सञ्चालनका नगरपालिका सहकारी शाखाबाट सहुलियत ब्याजको ऋण लिएका छन् ।

उनीहरू सँगै वडा नं. १ देखि १२ सम्मका ८८ जना महिलाले ५० हजार रुपैयाँदेखि ३ लाख रुपैयाँसम्म रिन लगेका छन् । ऋण लगेका महिलाहरूले कृषि, पशुपालन, घरेलु उद्योग, साना व्यवसाय सञ्चालन गर्दै आएका छन् ।

नगरपालिका उपप्रमुख विष्णुकुमारी लिम्बुले कृषि, पशुपालन, मौरी पालन, चिया प्रशोधन, खाद्य प्रशोधन, हस्तकला, कपडा उद्योग, सेवा क्षेत्र, डिजिटल व्यवसायलाई महिलाहरूका लागि प्राथमिकतामा राखिएको बताइन ।

उनका अनुसार स्थानीय स्तरमा उत्पादन वृद्धि, आयआर्जन तथा स्वरोजगार सिर्जनाका लागि सहुलियत व्याजमा ऋण व्यवस्था गरिएको हो । गत आर्थिक वर्षमा जम्मा २७ जना उद्यमी, समूह, सहकारी तथा संस्थालाई १९ लाख ९५ हजार ६ सय बराबरको अनुदान वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

उद्यमी कार्यक्रममा २७ जना सहभागी
इलाम नगरपालिकाले सञ्चालन गरेको उद्यमी विकास कार्यक्रमअन्तर्गत विभिन्न व्यवसायमा आबद्ध २६ जना सहभागी रहेका छन् । जसमा सबैभन्दा बढी मौरी पालन व्यवसायमा ५ जना सहभागी छन् ।

त्यस्तै सिलाइ बुनाइमा २ जना, कृषिमा २ जना, पशुपालनमा २ जना, ढाका बुनाइमा २ जना तथा बाँसजन्य सामग्री उत्पादनमा ४ जना सहभागी रहेका छन् । यस्तै, मैनबत्ती, अचार उत्पादन, माछा पालन, बेल्चा–कोदालो निर्माण, सिलाइ–कटाइ, मल उत्पादन लगायतका व्यवसायमा एक–एक जना सहभागी रहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 6 times, 1 visits today)

epaper

ताजा समाचार

सशस्त्र प्रहरीका १० डिएसपीको सरुवा, हेर्नुहोस् सूची