मन्त्री स्टन्टमा व्यस्त, जनताको याचना– सरकार ! ग्यास देऊ

चितवन । भरतपुरका विजय कमली ग्यास नपाएर भौतारिएको ३ दिन भइसक्यो । उनी ग्यास पाउने आसमा एकदेखि अर्को ठाउँ निरन्तर कुदिरहेका छन् ।

कसैले ग्यास पाउन नागरिकता देखाउनुपर्छ भनेपछि उनले गोजीमा नागरिकताको प्रतिलिपी बोकेरै हिँडेका छन् । ‘टेम्पोमा खाली सिलिण्डर हालेर हिँडेको ३ दिन भइसक्यो । नागरिकताको फोटोकपी पनि लिएरै हिँडेको छु । त्यही पनि ग्यास पाउन गाह्रो भयो,’ घरबाट ६ किलोमिटर टाढा ग्यास खोज्दै हिँडेका उनले सुनाए ।

एक महिनाअघि भरेको आधा सिलिण्डर ग्यासले अहिलेसम्म काम चलेको थियो । घरमा ४ र ८ वर्षका दुई बच्चा छन् । उनलाई आफ्नोभन्दा बढी चिन्ता स्कुल जाने बच्चालाई पकाएर कसरी खुवाउने भन्ने छ । ‘छिटो सहजीकरण होस् भन्ने चाहन्छु । गाह्रो भइसक्यो,’ उनले सरकारसँग याचना गरे ।

उनीमात्र होइन, तनहुँकी स्मृति बस्यालको दुःख पनि उस्तै छ । तनहुँबाट भरतपुर आएर व्यवस्थापन संकाय पढ्दै गरेकी स्मृतिले ग्यास खोज्न हिजो बिहीबार आफ्नो पढाइ नै छोडिन् । उनको दिन लाइनमा बसेरै बित्यो । ‘ कलेज नै छोडेर ग्यास मिलाउन आएको,’ उनले सुनाइन्, ‘पढाइ नै छुटाउनु पर्‍यो । ग्यास नहुँदा साह्रै दुःख भयो ।’ कहिले जंकफुड त कहिले बाहिर खाएर दुई–तीन दिन टारेको उनको अनुभव छ ।

भरतपुर–१० बस्ने ७० वर्षीय सीता पौडेल पनि सात दिनदेखि ग्यासको खोजीमा ठाउँ–ठाउँमा लाइन लागेकी छन् । घरमा नातिनीलाई छोडेर ग्यास लिन लाइनमा बसेको उनले सुनाइन् । ‘बिहान ६ बजेदेखि मुखमा पानी राखेको छैन । नातिनीहरू भोकै स्कुल गए कि खाए, थाहा छैन,’ उनले भनिन् ।

पछिल्लो समय ग्याँसको चरम अभावले सर्वसाधारणको दैनिक जीवन अस्तव्यस्त बनाएको छ । यही समय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री भने ‘स्टन्ट’मा व्यस्त देखिन्छिन् । मन्त्रीको निर्देशनपछि छापा मार्दा पाँच तारे होटल र्‍याडिसनमा १ सय ८४ वटा ग्यास ‘लुकाइएको’ भन्दै उनको सचिवालयले विवरण सार्वजनिक गरेको थियो । तर, ती सिलिण्डर होटलले बाह्य बिक्री वा कालोबजारीका लागि नभई आफ्नै भान्साका लागि खरिद गरेको थियो ।

उक्त परिमाणको ग्यास ३ देखि ४ दिनलाई मात्र पुग्ने होटल सञ्चालकले सार्वजनिक अभिव्यक्ति दिइसकेका छन् । बजारमा उपभोक्ताले सहजै ग्यास नपाउँदा उद्योगमन्त्री भने कहिले उपभोक्तालाई फोन गर्न, कहिले तारे होटलका मौज्दात ग्यासलाई ‘लुकाएको’ भनेर सस्तो प्रचारबाजीमा व्यस्त देखिन्छिन् ।

तस्बिर : निशा श्रेष्ठ/नेपाल फोटो लाइब्रेरी

तपाइको प्रतिक्रिया
(Visited 45 times, 1 visits today)

epaper

ताजा समाचार

कोशीमा मिल्यो भागबन्डा, नेकपालाई ४ वटा मन्त्रालय र एउटा राज्यमन्त्री