एनआरएनएको फुली फालेर एमालेको बिल्ला

काठमाडौं । भोटेकोशीमा आएको बाढीले जनजीवन प्रभावित भइरहेका बेला नेकपा एमालेको प्रवासी संगठनले भने युरोपस्तरीय राजनीतिक भेला आयोजना गर्ने तयारी गरेको छ। प्रवासी नेपाली मञ्च, नेकपा एमालेको विदेशस्थित भ्रातृ संगठनका रूपमा सक्रिय रहँदै आएको छ।

आगामी आइतबार स्पेनको बार्सिलोनामा हुने प्रवासी नेपाली मञ्च युरोप महादेशीय कमिटीको पहिलो अधिवेशनमा नेकपा एमालेका सचिव तथा संगठन विभाग प्रमुख भानुभक्त ढकाल प्रमुख अतिथि र केन्द्रीय सदस्य सञ्जय थापा विशेष अतिथिका रूपमा सहभागी हुने कार्यक्रम छ।

तर, अधिवेशनमा राजनीतिक दलसँग प्रत्यक्ष सम्बन्ध नराख्नुपर्ने गैरआवासीय नेपाली संघ (एनआरएनए) का पदाधिकारी तथा सदस्यहरूको सम्भावित सहभागिताले भने नयाँ बहस जन्माएको छ।

भेलामा एनआरएनएका केही वर्तमान पदाधिकारीहरू प्रवासी नेपाली मञ्चको कार्यक्रममा सहभागी हुने विषयले संघभित्रै नैतिकता, वैधानिकता र दोहोरो जिम्मेवारीको प्रश्न उठाएको छ। एनआरएनएको विधानले संघका पदाधिकारी तथा सदस्यहरूलाई राजनीतिक दलको कार्यक्रममा सहभागी हुन रोक लगाएको छ।

एनआरएनए उपाध्यक्ष रामशरण सिम्खडाले बार्सिलोनामा हुने उक्त कार्यक्रममा सहभागी हुने बताएका छन्। सामाजिक सञ्जालमार्फत् आफू कार्यक्रममा सहभागी हुने र अरूलाई सहभागिताका लागि आह्वान गरेका छन्।

एनआरएनएको निर्वाचनसम्बन्धी नियमावलीको दफा ७.६ मा राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी तथा सदस्यहरू नेपालको राजनीतिक दलका विदेशस्थित भ्रातृ संगठन, जातीय वा धार्मिक संस्थाको कार्यसमितिमा रहेमा पदमुक्त गर्न सकिने व्यवस्था रहेको उल्लेख छ।

एनआरएनएका महासचिव डा. चिरञ्जीवी खड्काले विधान तथा निर्वाचनसम्बन्धी नियमावलीविपरीत दोहोरो जिम्मेवारीमा रहेका पदाधिकारी तथा सदस्यलाई कारबाहीको दायरामा ल्याउने तयारी गरेको बताइएको छ।

यदि राजनीतिक दलका विदेशस्थित भ्रातृ संगठनको कार्यसमितिमा रहेका एनआरएनए पदाधिकारीमाथि कारबाही अघि बढाइयो भने, बार्सिलोनाको अधिवेशनमा सहभागी हुने विषय व्यक्तिगत राजनीतिक स्वतन्त्रताको प्रश्नमा मात्र सीमित रहने छैन। यसले एनआरएनएको विधान, संस्थागत निष्पक्षता र नेतृत्वको नैतिक जिम्मेवारी’bout समेत गम्भीर बहस निम्त्याउने बताइएको छ।

तपाइको प्रतिक्रिया
(Visited 21 times, 1 visits today)

epaper

ताजा समाचार

'मिर्जापुर: द मुभी' ले पहिलाे दिनमा नै कमायाे गज्जब