अमेरिका । नेपालमा पछिल्लो समय आएको बाढी तथा अन्य प्राकृतिक विपद्बाट भएको क्षतिप्रति अमेरिकी सरकार र जनप्रतिनिधिको ध्यानाकर्षण गराउँदै प्रवासी नेपालीले नेपालका लागि सहयोगको पहल गरेका छन्।
नेपाली मूलका जनकराज कँडेलले अमेरिकाको साउथ क्यारोलिनास्थित सिटिजन क्लामेट लबी ग्रिनभिलीमार्फत नेपालमा बाढी तथा विपदबाट प्रभावित नागरिकका लागि मानवीय सहयोग र आवश्यक सहकार्य गर्न अमेरिकी सरकारसँग आग्रह गरेका हुन्।
कँडेलका छोरी सजल र छोरा श्लोकले अमेरिकी कंग्रेस सदस्य तथा विधायकहरूलाई लिखित अनुरोधपत्र बुझाउँदै वातावरण संरक्षण, स्वच्छ ऊर्जा प्रवर्द्धन र जलवायु परिवर्तनका कारण बढ्दै गएका प्राकृतिक विपद्का विषयमा ध्यान दिन आग्रह गरेका छन्।
अनुरोधपत्रमा जलवायु परिवर्तन र वातावरणीय क्षतिका कारण नेपालजस्ता हिमाली तथा विकासोन्मुख मुलुकले बाढी, पहिरो लगायतका विपद्को सामना गर्नुपरेको उल्लेख गरिएको छ। नेपालमा पछिल्लो समय भएको जनधनको क्षतिप्रति अमेरिकी सरकारका तर्फबाट मानवीय सहयोग र आवश्यक सहकार्यका लागि पहल गर्न पनि आग्रह गरिएको छ।
पोखरा र बेगनाससँग आफ्नो सम्बन्ध रहेको बताउँदै कँडेलले विदेशमा रहे पनि नेपालको विपद्का विषयमा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने प्रयास गर्दै आएको बताएका छन्। उनका सन्तानले समेत अमेरिकी नीति निर्मातासमक्ष नेपालको विपद्को विषय उठाएका हुन्।
कँडेलका अनुसार अमेरिकी जनप्रतिनिधिहरूले नेपालमा भएको विपद् र वातावरण संरक्षणको विषयलाई सकारात्मक रूपमा लिएका छन्। उनीहरूले वातावरण संरक्षण तथा जलवायु परिवर्तन’bout जनचेतना फैलाउन र्यालीलगायतका कार्यक्रममार्फत आवाज उठाउने जानकारीसमेत दिएको कँडेलले बताएका छन्।
नेपालमा प्राकृतिक विपद्का कारण जनधनको क्षति भइरहेका बेला प्रवासी नेपालीले आफ्नो पहुँचमार्फत अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने प्रयास गरेका हुन्। यस पहलले विपद्पछिको मानवीय सहयोगसँगै वातावरण संरक्षण, स्वच्छ ऊर्जा र जलवायु परिवर्तन न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय सहकार्यको आवश्यकता औँल्याएको छ।







