मोरङ–६ कांग्रेस अधिवेशन विवादपछि नयाँ संयोजक तोकियो, सञ्जयकुमार मण्डललाई जिम्मेवारी

सुन्दरहरैंचा (मोरङ) । नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर ६ को क्षेत्रीय अधिवेशनका क्रममा भएको झडपपछि उत्पन्न विवादित परिस्थितिलाई व्यवस्थापन गर्दै पार्टीले अधिवेशन सम्पन्न गर्न नयाँ संयोजक तोकेको छ।

कांग्रेस केन्द्रीय कार्यालयले जिल्ला सह–सचिव सञ्जयकुमार मण्डललाई मोरङ निर्वाचन क्षेत्र नं. ६ को क्षेत्रीय अधिवेशन सम्पन्न गर्ने विशेष जिम्मेवारी दिएको हो।

कांग्रेस महामन्त्री प्रदीप पौडेलद्वारा जारी पत्रअनुसार मण्डललाई नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मोरङ–६ को प्रतिनिधिसभा तथा प्रदेशसभा क्षेत्रीय अधिवेशन सम्पन्न गर्ने संयोजक तोकिएको हो। मण्डलले मोरङ जिल्ला कार्यसमितिको निर्णय तथा पार्टीको विधान, २०१७ (एघारौँ संशोधनसहित) बमोजिम निर्वाचन समितिसँग आवश्यक समन्वय गरी अधिवेशन सम्पन्न गर्नुपर्नेछ।

यसअघि बुधबार सुन्दरहरैंचा–४ स्थित सिग्देल बन्धु प्रतिष्ठानको भवनमा मनोनयन दर्ता तथा अधिवेशन उद्घाटन कार्यक्रम चलिरहेका बेला कांग्रेस कार्यकर्ताबीच झडप भएको थियो। घटनामा क्षेत्रीय सभापतिका दाबेदार तथा पूर्वप्रदेश सांसद चुमनारायण तवदार, नेपाल तरुण दलका समुन्द्र (सुलभ) पोखरेल र चेतराज रेग्मी घाइते भएका थिए।

झडपपछि कांग्रेसभित्र आरोप–प्रत्यारोपसमेत चर्किएको छ। कांग्रेस केन्द्रीय सहमहामन्त्री डा. डिला सङ्ग्रौलाले क्षेत्रीय सभापति देवराज तामाङको प्रत्यक्ष संलग्नता र योजनामा आफ्ना पक्षका नेता–कार्यकर्तामाथि सुनियोजित आक्रमण भएको आरोप लगाएकी छन्। तामाङ पक्षबाट अधिवेशन बिथोल्ने तथा निर्वाचन प्रक्रिया प्रभावित पार्ने प्रयास भएपछि विवाद झडपमा परिणत भएको सङ्ग्रौलाको दाबी छ।

यता क्षेत्रीय सभापति देवराज तामाङले भने सङ्ग्रौलाले लगाएको आरोपमा कुनै सत्यता नरहेको भन्दै खण्डन गरेका छन्। उनले आफूविरुद्ध लगाइएका आरोप तथ्यहीन भएको दाबी गर्दै घटनामा आफ्नो संलग्नता नरहेको बताएका छन्।

झडपपछि उत्पन्न विवाद र असहज परिस्थितिका बीच केन्द्रीय कार्यालयले मण्डललाई नयाँ संयोजकको जिम्मेवारी दिएसँगै मोरङ–६ को रोकिएको क्षेत्रीय अधिवेशन प्रक्रिया पुनः अघि बढ्ने अपेक्षा गरिएको छ।

तपाइको प्रतिक्रिया
(Visited 59 times, 1 visits today)

epaper

ताजा समाचार

नापी कार्यालय कलंकीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाख रुपैयाँको बिगोसहित आरोपपत्र दायर