उदयपुुर । जल पर्यटन र साहसिक खेलकुदका दृष्टिले पर्याप्त सम्भावना बोकेको उदयपुरमा र्याफ्टिङ तथा क्यानोइङ खेलको विकास र प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल र्याफ्टिङ तथा क्यानोइङ संघको जिल्ला तदर्थ समिति गठन गरिएको छ । उदयपुरका नदी तथा प्राकृतिक भूगोललाई साहसिक पर्यटनको गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित गाईघाटमा दिनेशकुमार श्रेष्ठको अध्यक्षतामा समिति गठन गरिएको हो ।
उदयपुरमा र्याफ्टिङ, क्यानोइङ, प्याराग्लाइडिङ तथा साइकलिङ लगायत साहसिक खेलको प्रचुर सम्भावना रहे पनि त्यसको संस्थागत विकास र व्यावसायिक प्रवद्र्धन हुन नसकेको अवस्थामा संघ गठनलाई महत्वपूर्ण पहलका रूपमा हेरिएको छ । साहसिक खेलका माध्यमबाट जिल्लाको पर्यटन प्रवद्र्धन, स्थानीयस्तरमा रोजगारी सिर्जना तथा पर्यटन व्यवसायको विस्तार गर्ने लक्ष्य सहित समिति गठन गरिएको जनाइएको छ ।
नवगठित समितिको उपाध्यक्षमा भुपराज राउत, सचिवमा सञ्जीव राजभण्डारी, सहसचिवमा भानुनारायण श्रेष्ठ र कोषाध्यक्षमा तुलसा मिश्र चयन भएका छन् । त्यसैगरी सदस्यहरूमा नवराज राई, भीमबहादुर मगर, नारायणबहादुर राई, दिलिप साह, सुरेश चौधरी, सागर मगर, शर्मिला थापा र शान्तबहादुर माझी रहेका छन् ।
गठन कार्यक्रममा नेपाल र्याफ्टिङ तथा क्यानोइङ महासंघ कोशी प्रदेशका सचिव सुरेश बस्नेतले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई शपथ ग्रहण गराउँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे । उनले साहसिक खेलको विकासका लागि संस्थागत एकता, सक्रियता र स्थानीय सम्भावनाको पहिचान आवश्यक रहेको औल्याए ।
उदयपुर भौगोलिक तथा प्राकृतिक विविधताका कारण साहसिक पर्यटनका लागि आकर्षक गन्तव्य बन्न सक्ने जिल्ला हो । यहाँका नदी, पहाडी भूभाग र प्राकृतिक संरचनालाई उपयोग गर्न सके र्याफ्टिङ तथा क्यानोइङसँगै प्याराग्लाइडिङ र साइकलिङ जस्ता खेलको विकास गर्न सकिने सम्भावना रहेको होटल ब्यवसायी डेविट बस्नेतको भनाई रहेको छ ।
जिल्लामा साहसिक खेलको प्रवद्र्धनका लागि आवश्यक पूर्वाधार, दक्ष जनशक्ति, सुरक्षा व्यवस्थापन र प्रचारप्रसारमा समेत ध्यान दिनु पर्ने सरोकारवालाको भनाइ छ । संघ गठनसँगै जिल्लामा साहसिक खेलको सम्भाव्यता अध्ययन, खेल गतिविधिको विस्तार तथा पर्यटनसँग आबद्ध सरोकारवाला बीच समन्वय बढ्ने अपेक्षा गरिएको छ ।
नवगठित तदर्थ समितिले उदयपुरलाई साहसिक खेल तथा जल पर्यटनको पहिचान स्थापित गराउने गरी आगामी दिनमा गतिविधि अघि बढाउने अपेक्षा गरिएको छ । उदयपुरका असंगठित रुपमा सञ्चालन हुँदै आएको साहसिक खेललाई संस्थागत रुपमा अघि बढाउन संघले महत्वपूर्ण भुमिका खेल्ने राष्ट्रिय खेलकुद परिषदका पुर्व निर्देशक महेन्द्र राईको भनाई रहेको छ ।






