मड्रिड । रियल भालाडोलिडमाथि कठिन जित निकाल्दै एट्लेटिको म्याड्रिड स्पेनिस ला लिगाको तेस्रो स्थानमा उक्लन सफल भएको छ । एट्लेटिकोको भालाडोलिडमाथि १–० को कठिन जित निकाल्दै तेस्रो स्थानमा उक्लन सफल भएको हो । घरेलु मैदान वान्डा मेट्रोपोलिटानोमा शनिबार राति भएको खेलमा भिटोलोले खेल सकिन ९ मिनेट बाँकी रहँदा गरेको गो नै एट्लेटिकोको जितमा निर्णायक बन्यो । उनले खेलको ८१औं मिनेटमा डिएगो कोस्टाको पासमा सहज गोल गरेका थिए ।
त्यसअघि खेलको चौथो मिनेटमा नै घरेलु टोलीका गोलरक्षक जान ओब्लाकले उत्कृष्ट बचाउ गर्दै भालाडोलिडको सम्भावित अग्रता टारेका थिए । छैटांै मिनेटमा जोओ फेलिक्सले अवसर खेर फाल्दा एट्लेटिको अग्रता लिनबाट चुक्यो । २३औं मिनेटमा फेलिक्स पुनः चुके ।
दोस्रो हाफमा पनि एट्लेटिकोले गोलको अवसर सिर्जना गरे पनि गोलको लागि निकै संघर्ष गर्नुपरेको थियो । ५५औं मिनेटमा थोमस लेमार चुक्दा एट्लेटिकोले अग्रता लिन सकेन । ७०औं मिनेटमा डिएगो कोस्टाले गोल गरे पनि उनी अफसाइड ठहरिए । ८०औं मिनेटमा कोकीको फ्रिकिकलाई थोमस लेमारले प्रयास गरेपनि भालाडोलिडका गोलरक्षक जोसे एन्टोनियो कारो बाधक बने ।
त्यसको एक मिनेटपछि नै सब्सिच्युट भिटोलोले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए । भिटोलो ७३औं मिनेटमा मार्काेस लोरेन्टेको स्थानमा मैदानमा प्रवेश गरेका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा एट्लेटिको १–० ले विजयी हुन सफल भयो । जितसँगै एट्लेटिकोको ३० खेलबाट ५२ अंक पुगेको छ । समान ५२ अंक रहे पनि सेभिल्ला गोल अन्तरमा पछि रहँदै चौथो स्थानमा झरेको छ । भालाडोलिड ३३ अंक जोडेर १५औं स्थानमा छ ।
यस्तै, अर्काे खेलमा लेभान्टेले स्पान्योललाई ३–१ ले तथा एथ्लेटिको विल्वाओले रियल बेटिसलाई १–० ले पराजित गर्दा गेटाफे र एइवरले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।






