दैलेख । दुई दिनअघि आफ्नै घरमा आत्महत्या गरेका दैलेखका एक युवाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ । आत्महत्या गरेका दुल्लु नगरपालिका–१० छुवालाका २१ वर्षीय युवाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको हो ।
९ असारमा घरमा झुन्डिएको अवस्थामा भेटिएका ती युवाको शव पोस्टमार्टमका लागि दुल्लु अस्पताल लगिएको थियो । ‘अस्पतालका चिकित्सकले स्वाब परीक्षण गरेपछि मात्रै पोस्टमार्टम गर्ने बताएपछि स्वाब सुर्खेत पठाएका थियौं,’ दुल्लु नगरपालिकाका मेयर घनश्याम भण्डारीले भने, ‘आज सुर्खेतमा गरिएको परीक्षणमा मृतकको रिपोर्ट पोजेटिभ आएको छ । शव व्यवस्थापनका लागि नेपाली सेनासँग समन्वय गरिरहेका छौं ।’
एक महिनाअघि भारतबाट दैलेख आएका ती युवा पञ्चकोसी माध्यमिक विद्यालय गमौडीमा १४ दिन क्वारेन्टिनमा बसेका थिए । उनीसँगै क्वारेन्टिनमा बसेका २११ जनाको आरडिटी परीक्षण नेगेटिभ आएपछि घर पठाइएको थियो ।






