डडेल्धुरा । डडेल्धुरा जिल्ला सदरमुकाम क्षेत्रको सडक विस्तार कार्यका लागि आह्वान गरिएको टेण्डर प्रक्रिया रोक्न सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । सुदुरपश्चिम प्रदेशको पहाडी जिल्लाको प्रवेशद्वारका रुपमा रहेको जिल्ला सदरमुकाम स्याउलेदेखि कृतिपुर क्षेत्रसम्म सडक विस्तारका लागि टेण्डर प्रक्रिया सुरु भएपछि अमरगढी नगरपालिका–५ बस्ने कमल रावलले अमरगढी नगरपालिका र संघिय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय,सडक डिभिजन कार्यालय कुलपातेलाई विपक्षी बनाई सर्वोच्चमा रिट निवेदन दर्ता गराएका छन् ।
२०५८÷१०÷२१ पुनरावेदन अदालत दिपायलले जग्गा प्राप्ती ऐन २०३४ बमोजिम प्रक्रिया पुरागरी कानुन बमोजिम निवेदकहरुले पाउने मुअब्जा सार्वजनिक सडक ऐन २०३१ बमोजिम क्षतिपुर्ति उपलब्ध नगराउन्जेलसम्म घरहरु टहराहरु नहटाई सकड विस्तार गर्न नपाउने गरी फैसला भएको कुरालाई आधार मानि सर्वोच्चमा रिट दायर गरेका छन् ।
सडक विस्तार कार्यलाई रोक्नकालागी नेपाल सरकार भुसंरक्षण विभाग बबरमहल काठमाडौमा सहसचिव पदमा कार्यरत डम्बरबहादुर थापाले पनि सर्वोच्च अदालतबाट भएको निर्णय आदेशको अपहेला गर्ने विपक्षीलाई कारवाहीको माग गर्दै सर्वोच्चमा निवेदन दर्ता गरेका छन् ।
डडेल्धुरा जिल्ला सदरमुकाम क्षेत्रको सडक विस्तार गर्नका लागी सडक डिभिजन कार्यालय कुलपाते डोटीले टेण्डर आह्वान गरे संगै डडेल्धुरा जिल्लाका आम नागरिकहरुमा देखिएको उत्साहसंगै सडक फराकिलो गर्न गरिएको टेण्डर रोक्न नै सर्वोच्चमा रिट परे संगै निरासामा पनि बढेको छ ।
जिल्ला सदरमुकाम स्याउले बजारदेखी कृतिपुरसम्म सडक विस्तार गरी बजारक्षेत्रमा हुनसक्ने दुर्घटना न्युनिकरणका लागि दीर्घकालीन रुपमा समाधान गर्न जारी भएको टेण्डर प्रक्रिया नै रोक्न लागी सर्वोच्चमा रिट दर्ता गराउनु डडेल्धुरा वासीका लागी दुख भएको एक जना नगरवासीले बताए ।
सर्वोच्चमा रिट दायर गर्ने को हुन ?
अमरगढी नगरपालिका–५ पुर्खेउली घर भइ हाल काठमाडौ बस्दै आएका नेपाल सरकार भुसंरक्षण विभाग बबरमहल काठमाडौमा सहसचिव पदमा कार्यरत डम्बरबहादुर थापा रहेका छन् । उनी काठमाडौमा घर बनाई लामो समयदेखि उतै बस्दै आएका छन् । थापाको बागबजार क्षेत्रमा घर नभएको र तुफानडाडा क्षेत्रमा केही जमिन सडकले अतिक्रणम हुन सक्ने स्थानीयले बताएका छन् ।
कमल रावल पनि हाल काठमाण्डौमा बस्दै आएका व्यक्ति हुन उनको बागबजारस्थित बरपाटामा पुर्खेउली घर रहेको छ । उनी सहपरिवार काठमाडौमा छन् ।
अमरगढी नगरपालिकाले सडक विस्तारबाट प्रभावित हुने व्यक्तिहरुलाई क्षतिपुर्तिको व्यवस्था गरे सडक विस्तार कार्यमा कसैको अवरोध नरहने उद्योग वाणिज्य संघ डडेल्धुराका अध्यक्ष लोकराज भट्टले बताए । सर्वपक्षिय बैठकमा अध्यक्ष भट्टले घरधनीहरु भन्दा बढी समस्या लाखौ रुपैया धरौटी राखि व्यवसाय गरिरहेका व्यक्तिहरुलाई रहेकोले उनीहरुको पनि पुर्नस्थापना अथाव अन्य स्थानमा व्यवसाय गर्ने वातावरण गर्नु जरुरी देखिन्छ ।






