मेलम्ची सपना र खुसी

मेलम्ची खानेपानी आयोजनाको सुरुङमा पानी पठाएर परीक्षण थालिएपछि अबको केही समयभित्रै काठमाडौंमा खानेपानीको समस्या टर्ने विश्वासका साथ राजधानीका जनतामा खुसी छाएको छ । मेलम्चीको पानी काठमाडौंमा ल्याएर काकाकुल काठमाडौंलाई सिञ्चित बनाउने सपना र योजना सुरुङ निर्मित संरचनामा पानी पठाएर परीक्षण थालिएपछि अब पूरा हुने आशा गरिएको छ । वर्षौंदेखिको उपत्यकावासीको मेलम्ची सपना अब साच्चै नै विपनामा बदलिने स्थिति आउनु अत्यन्तै सुखद पक्ष हो । यसका लागि वर्तमान सरकार धन्यवादको पात्र बनेको छ ।

हाल गरिएको परीक्षण कार्य लगभग तीन महिनाको हुने र परीक्षण अवधिभर सुरुङभित्र पठाइएको पानीको मात्रा घटबढ हुने वा चुहिने वा फुट्ने अवस्थालाई नियालेर यसलाई अझै प्रभावकारी बनाइनेछ । यो अवधिमा लामो सुरुङमा प्रयोग गरिएको गिट्टी, बालुवाजस्ता निर्माण सामग्रीले पठाइएको पानीको केही मात्रा सोसेर लिने कुरालाई ध्यानमा राखी सबैभन्दा बढी चुहिने वा फुट्ने भागमा निगरानी राखिनेछ । यसका लागि आसपासका स्थानीय मूलहरू बढ्ने वा अनावश्यक पानीको वहाब देखिने गर्छ वा गर्दैन सो कुरामा ध्यान दिने सहभागी प्राविधिक समूहको अध्ययन र अनुसन्धान रहनेछ । लगभग दुई महिनाको गहन अध्ययनपछि सुरुङ सञ्चालन गर्न सकिने अवस्थामा रहेको ठहर भएमा स्थायी रूपमा काठमाडौंमा पानी भिœयाइनेछ ।

मेलम्ची निर्माणको लामो समयदेखि ठेकेदार कम्पनी र प्राकृतिक समस्याका कारण सपना बनेको मेलम्ची खानेपानी अबका केही दिनमा राजधानीमा भित्रनेछ ।

मेलम्चीको पानी सुरुङमा पठाइएपछि बाँधको मुनि रहेको खोला तथा बाग्मती नदीमा बाढी आउन सक्ने भएकाले उच्च सतर्कता अपनाउन स्थानीयलाई सुसूचित गरिएको छ । खोलामा पानीको मात्रा घटबढ हुन गई विपत्ति निम्तन सक्ने भएकाले त्यहाँ सावधानी अपनाउन सुझाइएको हो । त्यसैले, बाग्मती आसपासका बासिन्दा विशेष सतर्क हुनुपर्नेछ । वर्षाको समय पनि भएकाले परीक्षण गर्दा छोडिएको र आकाशको पानी एकैपटक बग्दा त्यसले विशाल रूप लिन सक्नेतर्फ सबै पक्ष संवेदनशील हुन जरुरी छ ।

अब मेलम्चीको पानी काठमाडौंमा भित्रिएपछि उपत्यकाको हालको जनसंख्यालाई पिउने पानी पर्याप्त मात्रामा पु¥याउन सकिनेछ । मेलम्ची निर्माणको लामो समयदेखि ठेकेदार कम्पनी र प्राकृतिक समस्याका कारण सपना बनेको मेलम्ची खानेपानी अबका केही दिनमा राजधानीमा भित्रनेछ । सुरुको परीक्षण सफल भएमा अबको दुई महिनाभित्र काठमाडौंमा मेलम्ची खानेपानी झर्नेछ । उपत्यकाका मुख्य मुख्य भागमा सो खानेपानी वितरणका लागि पाइप जडान कार्य सम्पन्न भइसकेकाले उपत्यकामा पानी झर्नेबित्तिकै वितरण गरिनेछ । यसअघि पनि सुरुङ परीक्षण कार्य विभिन्न चरणमा गरिसकिएको थियो । हाल पूरै सुरुङमा एकैपटक परीक्षण गरिएकाले यो नै अन्तिम र पूर्ण परीक्षण मानी सफल हुनासाथ काठमाडौंमा पानी खसालिनेछ । सुरुङ आफंैमा २६ किलोमिटर लामो भएकाले त्यहाँभित्र रहेको हावा बाहिर निकालेर पानी भर्दै गर्दा सुरुङ भरिन कम्तीमा १७ दिन लाग्नेछ । हाल प्रतिसेकेन्ड २ सय ६० लिटरका दरले पानी सुरुङमा पठाइएको छ ।

नेपालका राजनीतिक पार्टीहरूका लागि विभिन्न समयमा काठमाडौंका जनतामाझ भोट माग्ने निकै आकर्षक नारा बनेको मेलम्चीको खानेपानी अब भने यथार्थमा परिणत हुने आशा बढेर गएको छ । मेलम्ची खानेपानीको नाराले यसबीचमा कतिलाई विजयको जयमाला पहिराइसकेको छ भने अन्य कतिपयको हातबाट विजयको माला खोसेको पनि छ । यस अर्थमा लामो समयसम्म आशा र आश्वासनको पुलिन्दा बनेको मेलम्ची अब यथार्थ बनेर काठमाडौंवासीबीच सल्बलाउने भएको छ । पछिल्ला वर्षहरूमा विभिन्न विवाद र समस्याका बाबजुद पनि सरकारले मेलम्ची खानेपानी आयोजनाको कामलाई छिटोभन्दा छिटो सक्नेगरी आफ्ना संयन्त्रलाई चलायमान गराएको थियो । त्यसैले, मेलम्चीको पानी काठमाडौं उपत्यका भित्रनुलाई वर्तमान सरकारको सफलतासँग पनि जोडेर हेर्न सकिन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 238 times, 1 visits today)

epaper

ताजा समाचार

देशभर मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षाको सम्भावना