काठमाडौं । कोरोना भाइरसले नेपाली चलचित्र क्षेत्रमा पारेको प्रभाव, उत्पन्न समस्या र त्यसको समाधानसहितको सोध लेखनमा राजधानी डेली डटकमका सम्पादक ध्रुव लम्साल उत्कृष्ट भएका छन् । खोज र वस्तुगत तथ्यांकमा आधारित सोध लेखन चलचित्र पत्रकार संघ नेपालले आयोजना गरेको हो ।
यस विषयमा संघमा उपलब्ध भएका मध्ये छनोट समितिले उत्कृष्ट चार लेखलाई चयन गरी शनिबार पुरस्कृत गरेको छ । जसमा उत्कृष्ट हुने पत्रकार ध्रुव लम्साललाई प्रमाणपत्रसहित १५ हजार रुपैयाँ प्रदान गरियो ।
सो लेखनमा द्वितीय हुने विष्णु शर्मालाई प्रमाण पत्रसहित १० हजार रुपैयाँ, तृतीय र चतुर्थ हुने क्रमशः मनोज न्यौपाने र रीना मोक्तानलाई प्रमाणपत्रसहित जनही ५-५ हजार रुपैयाँ प्रदान गरिएको छ ।
पत्रकार ध्रुव लम्सालले संघलाई लेखन कार्यक्रमका लागि धन्यवाद ज्ञापन गर्दै यस्ता कार्यक्रमले पत्रकारहरूलाई अझ दक्ष बनाउन मद्दत गर्ने बताए । यसले पत्रकारिताको मर्यादालाई पनि बचाउँदै लानेछ भने विश्वास आफूले लिएको पनि उनले बताए ।
नेपाली चलचित्र क्षेत्रको वर्तमान वस्तुस्थिति र अब कसरी यो क्षेत्र सहज हुन सक्छ भन्ने सम्भावनालाई पनि समावेश गरी चलाइएको यस्तो अभियानले चलचित्र पत्रकारमा लेखन वृत्तिको अभ्यास र प्रोत्साहन हुने संघका अध्यक्ष दिनेश सिटौलाले पुस्कार हस्तान्तरण कार्यक्रममा बताए ।
अध्यक्ष सिटौलाका अनुसार छनोट समितिमा चलचित्र पत्रकारहरू विदुर गिरी, शान्तिप्रिय, दीपेन्द्र लामा, जीवनकुमार पराजुली र समीर बलामी थिए ।
संघका पूर्वअध्यक्ष विदुर गिरीले कार्यक्रममा भने, ‘संघले आह्वान गरेको कार्यक्रममा विशुद्ध लेखरचनालाई मूल्यांकन गरी विवादरहित रूपमा लेखरचना छनोट गरिएको छ । लेखरचना छनोट गरिसकेपछि मात्र हामीलाई लेख रचनाकारको नाम थाहा भएको हो ।’
यस्तै, पत्रकार शान्तिप्रियले यस्तो खालको कार्यक्रमले चलचित्र पत्रकारहरूलाई थप मनोबल बढाउन मद्दत गर्ने बताए । यसले सबैमा कामप्रति जिम्मेवारी बोध हुने र लेखनवृत्तिमा पनि सुधार हँुदै जाने विश्वास उनले व्यक्त गरे ।
पत्रकार दीपेन्द्र लामाले कोरोना संक्रमणको बीच संघले आयोजना गरेको कार्यक्रमको प्रशंसा गरे । यसलाई अझ थप्दै लाने र फोटो तथा भिडियो पत्रकारलाई पनि प्रभावकारी हुने गरी कार्यक्रमहरू गर्न पनि उनले सुझाव दिए ।







