काठमाडौं । जिल्ला अदालत काठमाडौँले पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको बलात्कारको प्रयासको मुद्दामा सफाइ दिएको काठमाडौँ जिल्ला अदालतका स्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिए । न्यायाधीश अम्बरराज पौडेलको इजलासले आज सफाइ दिने फैसला गरेको हो ।
संसद सचिवालयमा कार्यरत कर्मचारीमाथि जबरजस्ती करणी प्रयास गरेको अभियोगमा महरामाथि मुद्दा चलाइएकाको थियो । सो मुद्दामा आइतबार अन्तिम बहस सकिए पनि फैसला भने आज मात्र आएको हो । यसअघि काठमाडौं जिल्ला अदालतले नै महरालाई कसूरदार होइन भन्न नसकिने भन्दै गत कार्तिक १८ गते पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । थुनामा रहेकै अवस्थामा महराले सफाइ पाएका हुन् ।
जबरजस्ती करणी उद्योगमा उनीमाथि जिल्ला अदालत काठमाडौँमा गत कार्तिक १४ गते मुद्दा दर्ता भएको थियो । महरामाथिको प्रारम्भिक सुनुवाइ गर्दै जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि सो आदेशविरूद्ध महरा उच्च अदालत, पाटन गएका थिए । तर उच्च अदालतले पनि गत पुस ३ गते सुनुवाइ गर्दै जिल्ला अदालतको थुनामा राख्ने आदेश नै सदर गरेको थियो ।






