पोखरा । गण्डकी प्रदेशका गएको २४ घण्टामा ३ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । मृत्यु हुनेमा २ पुरुष र १ महिला छन् ।
पोखरा ६ निवासी ३७ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत कोभिड–१९ उपचार केन्द्रमा बिहीबार साँझ मृत्यु भएको छ ।
प्रतिष्ठानका निर्देशक सहप्राध्यापक डा. अर्जुन आचार्यले विज्ञप्ति जारी गरी लेखनाथस्थित संक्रामक तथा सरुवा रोग अस्पतालबाट बिहीबार बिहान रेफर भइ आएका ती बिरामीलाई आईसीयूमा भर्ना गरिएकोमा उपचार क्रममा बिहीबार साँझ ५ बजेर ५० मिनेटमा मृत्यु भएको पुष्टि गरेका हुन् ।
कोरोना संक्रमणको लागि सो प्रतिष्ठानमा ज्यान गुमाउनेको संख्या ८ पुगेको छ । उता, तनहुँको म्याग्दे गाउँपालिका–१ की ९२ वर्षीया महिलाको काठमाडौंमा उपचारक्रममा बुधबार मृत्यु भएको छ । दम, मुटु र मिर्गौला रोगी ती वृद्धाको सशस्त्र प्रहरी अस्पताल, काठमाडाैमा मृत्यु भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार गराएको थियो ।
यसैगरी, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को गैँडाकोटका ३७ वर्षीय पुरुषको पनि मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा गत भदौ ९ मा हेपाटाइटिस तथा किड्नी रोगबाट समस्या भई भर्ना भएका उनको बिहीबार दिउँसो निधन भएको हो । ती पुरुषमा गत भदौ १० मा कोरोना पुष्टि भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए ।
योसहित गण्डकीमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १८ पुगेको छ । प्रदेशमा कोरोना संक्रमितको कुल संख्या २ हजार ३ सय १२ पुगेको छ । निको हुने १ हजार ७ सय ६६ छन् ।
बिहीबारमात्र पोखरामा गण्डकी प्रदेशका एक पुरुष सांसद कोरोना संक्रमित भएका छन् भने पोखरा औद्योगिक क्षेत्रमा कार्यरत २९ जना मजदुरमा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदबिन्दु शर्माले बताए ।






