लन्डन । विकेटकिपर एलेक्स केरी र ग्लेन म्याक्सवेलले शतकीय इनिङ्स खेलेपछि घरेलु टोली इंग्ल्यान्डलाई तेस्रो तथा अन्तिम एक दिवसीयमा तीन विकेटको रोमाञ्चक जित निकाल्दै अस्ट्रेलियाले सिरिज आफ्नो पक्षमा पारेको छ । अस्ट्रेलियाले तीन एक दिवसीय सिरिज २–१ ले आफ्नो पक्षमा पारेको हो ।
पहिलो खेलमा अस्ट्रेलिया १९ रनले विजयी हुँदा दोस्रो खेलमा २४ रनले पराजित भएको थियो । तीन टी–२० सिरिज इंग्ल्यान्डले २–१ ले जितेको थियो । इंग्ल्यान्डले दिएको ३ सय ३ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले ४९ ओभर ४ बलमा ७ विकेट गुमाएर पूरा ग¥यो । अस्ट्रेलियलाई जिताउन तल्लोक्रममा ग्लेन म्याक्सवेलले ९० बलमा ४ चौका र ७ छक्कासहित १ सय ८ रनको सानदार इनिङ खेले । म्याक्सवेल नै ‘प्लेयर अफ द सिरिज’ र ‘प्लेयर अफ द म्याच’ चुनिए ।
अर्का विकेटकिपर एलेक्स केरीले १ सय १४ बलमा ७ चौका र २ छक्का सहित १ सय ६ रन जोड्दै ओडीआई करिअरको पहिलो शतक प्रहार गरे । १६ ओभर ५ ओभरमा ७३–५ को कमजोर अवस्थामा पुगेको अस्ट्रेलियालाई म्याक्सवेल र एलेक्स केरीले छैटौं विकेटका लागि २ सय १२ रनको दोहोरो शतकीय साझेदारी गर्दै जितको आधार देखाएका थिए । यी दुईबीचको साझेदारी ४८औं ओभरको तेस्रो बलमा आदिल रासिदले तोडेका थिए ।
कप्तान ओरोन फिन्च १२ रनमा आउट भए । मार्कस स्टोइनिस ४ रनमा आउट भए । डेभिड वार्नर २४ रनमा बोल्ड आउट भए । मिचेल मार्स २ रनमा क्याच आउट भएपछि अस्ट्रेलिया कमजोर अवस्थामा पुगेको थियो । मार्नस लाबुसेन २० रनमा रन आउट भएपछि बलियो लक्ष्य पछ्याइरहेको अस्ट्रेलिया ७३–५ को कमजोर अवस्थामा पुगेको थियो । तर, छैटौं विकेटका लागि म्याक्सवेल र केरीले दोहोरो शतकीय साझेदारी गर्दै जितसम्म पु¥याए ।
मिचेल स्टार्क ११ र प्याट कमिन्स ४ रनमा अविजित रहे । जो रुट र क्रिस वोक्सले समान २ तथा जोफ्रा आर्चर र आदिल रासिदले समान १–१ विकेट लिए । त्यसअघि म्यानचेस्टरमा टस जितेर पहिला ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा ३ सय २ रन बनाएको थियो । इंग्ल्यान्डका ओपनर जोनी बेयरस्टोले १ सय १२ रनको शतकीय इनिङ खेले । कमजोर सुरुवात गरेको इंग्ल्यान्डका ओपनर जेसन रोय र जो रुट पहिलो ओभरको सुरुवाती दुई बलमै गोल्डेन डग आउट भएका थिए ।
तेस्रो विकेटका लागि बेयरस्टो र कप्तान ओइन मोर्गनले १०.२ ओभरमा ६७ रनको साझेदारी गर्दै इनिङ्स उकास्ने प्रयास गरे । मोर्गन २३ रनमा आउट भए । जस बटलरलाई ८ रनमा पेभेलियन फर्किए ।
पाँचांै विकेटका लागि साम विलिंग्स र बेयरस्टोले १ सय १४ रनको शतकीय साझेदारी गर्दै इंग्ल्यान्डलाई बलियो योगफलतर्फ अघि बढाएका थिए । विलिंग्स ५७ रनमा आउट भए । टम करनले १९ रन जोडे । क्रिस वोक्सले ५३ रनमा तथा आदिल रासिद ११ रनमा अविजित रहे । एडम जाम्पा र मिचेल स्टार्कले समान ३ विकेट तथा प्याट कमिन्सले १ विकेट आफ्नो नाममा लेखाए ।






