शम्भुजीत, डब्बु र सरिताले सार्वजनिक गरे पहिलो भेटमै…

काठमाडौं । कोरोनाको महामारीमा सामाजिक दूरी कायम गर्दै अग्रज संगीतकार शम्भुजीत बासकोटा, गीतकार डब्बु क्षत्री र गायिका सरिता भारतीले आफ्नो संयुक्त नयाँ गीतिसंग्रह ‘पहिलो भेटमै’लाई सार्वजनिक गरेका छन् । यो गीतिसंग्रहलाई शुक्रबार काठमाडौंको नेपाल प्रज्ञा–प्रतिष्ठान कमलादीमा उनीहरूले सार्वजनिक गरेका छन् । यो संग्रहमा बजाइदेऊ बाजा…र पहिलो भेटमै…गरी दुईवटा गीत रहेका छन् ।

संगीतकार बासकोटाले सो क्रममा भने, ‘मैले यसअघि गीतकार डब्बु क्षत्रीका केही गीतमा संगीत गरिसकेको थिएँ तर गायिका सरिताको लागि पहिलोपटत संगीत गरेको हुँ । सरिताको स्वर मिठो भएकाले उनको यो गीतलाई दर्शकले मन पराउने विश्वास लिएको छु ।’

गीतकार क्षत्रीले करिब सात वर्षपछि अग्रज संगीतकार बासकोटासँग आफूले काम गरेको बताए । अब बासकोटासँग सांगीतिक आगामी दिनमा पनि केही गीत आउने उनले जानकारी गराए ।

गायिका सरिताले अग्रज संगीतकार बासकोटासँग काम गर्न पाउँदा निकै कुरा सिक्ने अवसर पाएको बताइन् । उनले यसअघि मेरो जवानी…, लुडो र तास…, कोरोनाले देशै रोयो…, रातो सारी लरक्कै…जस्ता सिंगल ट्रक एल्बम निकालेकी छन् । यसै साता गायक हेम श्रेष्ठसँग आफ्नो दसैं गीत र असोजको तेस्रो साता गायक हिमालय राजसँग देउडा गीत आउने पनि उनले जानकारी गराइन् ।

संग्रहको दुई गीतमध्ये बजाइदेऊ बाजा लोक पप शैलीको गीत हो । यो गीतमा अग्रज संगीतकार शम्भुजीत बासकोटाको संगीत, डब्बु क्षत्रीको शब्द र सरिता भारतीको स्वर रहेको छ । यो नृत्यप्रधान गीतको भिडियो केही सातापछि रिलिज गर्ने गीतकार क्षत्रीले कार्यक्रममा बताए । यस्तै, यो संग्रहमा रहेको अर्को गीत पहिलो भेटमै…लाई जुगल डंगोलले संगीत गरेका हुन् । दुवै गीतको संगीत संयोजन तथा रेकर्डिङ जुगल डंगोलकै हो । यो लोक शैलीको गजललाई गायिका सरिता भारती आफैंले लेखेकी हुन् । यो गीतिसंग्रहलाई आर्टोम्युज रेकर्डिङ स्टुडियोले बजारमा ल्याएको हो ।

संग्रहको गीत पहिलो भेटमै…गीतको भिडियो पनि रिलिज गरिएको छ । जसमा अभिनेता दिक्पाल कार्कीसँग गायिका सरिता भारती आफैंले मोडलिङ गरेकी छन् । भिडियोले दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ । रामशरण उप्रेतीले खिचेको यो भिडियोलाई मित्र डि गुरुङले सम्पादन गरेका हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 243 times, 1 visits today)

epaper

ताजा समाचार

विद्युत् महसुललाई समायनुकूल बनाउने प्राधिकरणको तयारी