बैतडी । बैतडीमा बलात्कारको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको मेलौली नगरपालिका ९ का २८ वर्षीय पुरुषलाई पक्राउ गरिएको हो । नियन्त्रणमा लिएका पुरुषको नाम गोप्य राखिएको बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । महिलालाई सामाजिक रुपमा पिडा हुने भएपछि पीडकको नाम पनि गोप्य राखेको उनले बताए । घटनाका बिषयमा अदालतबाट म्याद थप गरि अनुसन्धान गरिरहेको उनले बताए ।
डडेल्धुराको भागेश्वर गाउँपालिका घर भएकी २३ वर्षीया महिलामाथि ती पुरुषले पटक–पटक बलात्कार गरेको आरोप रहेको प्रहरीले जनाएको छ । महिलाले दिएको जाहेरीको आधारमा ती पुरुषले महिलालाई बैशाख गत महिनामा बलात्कार गरेको आरोप रहेको प्रहरी नायव उपरिक्षक अधिकारीले बताए । ५ महिना अघि बलात्कार गरेको भएपनि पेटमा गर्भ बसेपछि घटना बाहिर आएको उनले बताए । पक्राउ परेका पुरुष र पिडीत महिला दुुबै बिवाहित रहेको र दुुबैका घरमा छोराछोरी रहेका छन् ।
महिलाको माइतीघर पक्राउ परेका पुरुषको घर नजिकै रहेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । घरबाटै पक्राउ परेका पुरुषलाई जिल्ला प्रहरी कार्यालयको हिरासत रहेका छन् । आइतबार जिल्ला अदालतबाट म्याद थपेर अनुसन्धान प्रक्रिया अगाडी बढाइने भएको छ । पीडीत महिलाका श्रीमान १ बर्षदेखि रोजगारीको सिलसिलामा भारतमा रहेका छन् ।






