जेनजी आन्दोलन हाइज्याक भएकै कारण जनताले बदलावको अनुभुती गरेनन् : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले जेनजी आन्दोलन वेवारिसे भएकै कारण देश अगाडी बढन नसकेको बताएका छन् ।

ललितपुरको कुपण्डोलमा आज ९ दलिय अग्रगामी मोर्चाको युवा, महिला, तथा मिडिया एवं आईटी मोर्चाको बैठकलाई सम्बोधन गर्दै जेनजी आन्दोलन हाइज्याक भएकै कारण जनताले बदलावको अनुभुती गर्न नसकेको उनले बताए ।

देशको राजनीतिक र सामाजिक अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै अध्यक्ष साहले युवाहरूको जेनजी आन्दोलन वेवारिसे र हाइज्याक हुनु तथा महिला अधिकारको मामिलामा राज्य अनुदार हुनु नै देश पछाडि पर्नुको मुख्य कारण रहेको बताए ।

नेपालको पछिल्लो राजनीतिक परिवर्तनमा युवा पुस्ताको जेनजी आन्दोलनको भुमिका महत्वपूर्ण भए पनि जेनजी आन्दोलनको माग सम्बोधन हुन नसकेको बताए । आन्दोलन सफल भए पनि त्यसलाई सही दिशा दिने नेतृत्व नहुँदा देश अगाडि बढ्न नसकेको तर्क उनले गरे ।

‘युवाहरूले व्यवस्था बदल्न र बेथितिका विरुद्ध आवाज उठाए, तर आज त्यो जेनजी आन्दोलन वेवारिसे बनेको छ,’ आजपा अध्यक्ष साहले भने, ‘जबसम्म युवाहरूको ऊर्जा र एजेन्डालाई संस्थागत गरिँदैन, तबसम्म देशले विकासको गति लिन सक्दैन ।’

वर्तमान सरकार र पुराना राजनीतिक दलहरूमाथि प्रहार गर्दै अध्यक्ष साहले युवाहरूको बलिदानी र आक्रोशबाट सिर्जित आन्दोलनलाई सत्तास्वार्थका लागि ‘हाइज्याक’ गरिएको गम्भिर आरोप लगाए ।

‘जनताले व्यवस्था परिवर्तनसँगै आफ्नो जीवनस्तरमा बदलाव चाहेका थिए । तर आन्दोलनको भावनालाई शहरिया ‘नटवरलालहरुले’ हाइज्याक गरे । जेनजी आन्दोलनले व्यवस्थामा व्यापक परिवर्तन खोजेका थिए, तर त्यो परिवर्तन भएन । परिणामस्वरूप, सत्तामा पात्रहरू बदलिए पनि प्रवृत्ति बदलिएन र आम जनताले अझै पनि कुनै सकारात्मक बदलावको अनुभूति गर्न पाएका छैनन्,’ आजपा अध्यक्ष साहले भने ।

यस्तै, उनले नेपालमा ५१ प्रतिशत जनसंख्या रहेको महिलालाई ३३ प्रतिशत मात्रै हकअधिकार दिनु पनि विभेद भएको बताए । संविधान र कानुनमा व्यवस्था गरिएको ३३ प्रतिशत महिला सहभागिताको प्रावधानलाई उनले न्यायसंगत नभई विभेदकारी भएको टिप्पणी गरे ।

‘देशमा ५१ प्रतिशत जनसंख्या महिलाको छ, तर उनीहरूलाई ३३ प्रतिशत मात्र हक दिनु कसरी न्याय हुन्छ ? यो सरासर विभेदन हो,’ आजपा अध्यक्ष साहले भने । जनसंख्याको अनुपातमा महिलाहरूलाई पूर्ण अधिकार र समान सहभागिता दिनुपर्ने उनले बताए । राज्यको हरेक क्षेत्र एवं अंगमा महिलालाई जनसंख्याको अनुपातमा समान सहभागिता गराउन अहिलेको व्यवस्था फाल्नुको विकल्प नभएको उनले बताए ।

अध्यक्ष साहले वर्तमान सरकार जनअपेक्षा सम्बोधन गर्न पूर्ण रूपमा असफल असफल हुदै गइरहेको बताए । सुशासन, रोजगारी सिर्जना र सामाजिक न्यायका मुद्दामा सरकार कुहिरोको काग जस्तै बनेको भन्दै उनले अग्रगामी मोर्चा र आम जनता पार्टीले यी बेथितिहरूका विरुद्ध निरन्तर सडकबाट दबाब दिइरहने चेतावनी समेत दिए ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

ताजा समाचार

जेनजी आन्दोलन हाइज्याक भएकै कारण जनताले बदलावको अनुभुती गरेनन् : प्रभु साह