प्रत्येक वर्ष हामी निजामती सेवा दिवस मनाउँछांै, केही कर्मचारी पुरस्कृत हुनेदेखि एउटा सुन्दर नाराको तय यस दिवसमा हुने गरेको छ । २०६१ बाट प्रारम्भ भएको यो दिवस १७औंपटक मनाइँदा १७ वटा अत्यन्त आकर्षक नारा तय भइसकेका छन् । समग्र निजामती कर्मचारीहरू नारालाई आकर्षक बनाउन लागि पर्दछन् । यस वर्षको नारा ‘स्वच्छ र सक्षम निजामती प्रशासन, समृद्धि र सुशासन’ पनि यथार्थतामा निजामती सेवा दिवसका दिन राष्ट्रसेवक कर्मचारीले गर्ने प्रतिबद्धताका लागि अत्यन्त उपयुक्त देखिएको छ । तर, यसको उपयोगिता र सान्दर्भिकताको ’boutमा चिन्तन गर्दा यो १७ वर्षमा हामीले निजामती सेवा दिवसमार्फत गरेका प्रतिबद्धता केकति पूरा गर्न सफल भएको अवस्था छ ? त्यसैमा केन्द्रित भएर निजामती सेवा दिवसको उपादेयताको खोजी हुनुपर्दछ । नेपालमा निजामती सेवा दिवस जुन उद्देश्य लिएर मनाउन प्रारम्भ गरिएको हो, सो प्राप्त हुन नसकी औपचारिकता पूरा गर्नमा मात्र सीमित हँुदै गएको अवस्था छ । त्यसैले, यस दिवसलाई मनाउने समग्र प्रारूपमा नै परिवर्तन गर्नुपर्ने आवश्यकता देखिएको छ ।
निजामती सेवा दिवसको अवधारणागत पक्षका ’boutमा अवगत हुनु बेस हुनेछ । राज्य र जनताबीच हुने सामाजिक सम्झौताको कार्यन्वयनकर्ताका रूपमा कर्मचारी रहने हुँदा यसले ठूलो जिम्मेवारी प्राप्त गरेको हुन्छ । यी जिम्मेवारीहरू गुणस्तरीय प्रकारले सम्पादन भएकोमा गौरवान्वित हुने अवसर हो, त्यसैले यस दिवसमा वर्षभरि सम्पादन गरिएका उदाहरणीय कार्यहरूको स्मरण मात्र गरिँदैन, त्यस्ता उल्लेखनीय कार्यसम्पादनकर्तालाई सम्मान गरी आगामी वर्षका लागि अधिक कुशलतापूर्वक कर्मक्षेत्रमा प्रवेश गरी नतिजामा पुग्ने तरिकाहरूको खोजी यसै दिवसमा गरिन्छ । यसका लागि नेतृत्व तहमा रहने र कार्यान्वयन तहमा रहने सबैले सामूहिक संकल्प गर्दै सेवाप्रवाहमा इमानदारिता साथ अग्रसर हुनका लागि प्रेरणा प्राप्त गर्ने दिन पनि हो । विश्वभर यस दिवसलाई मनाउने र स्मरण गर्ने तरिकाहरू विविध प्रकारका देखिएका छन् । सन् २००२ मा संयुक्त राष्ट्रसंघले प्रत्येक वर्ष सार्वजनिक सेवा दिवस मनाउने गरी साधारण सभाबाट निर्णय लिई कार्यान्वयन भइराखेको छ । क्यानाडामा प्रतिवर्ष जुन १४ देखि २० सम्म राष्ट्रिय सार्वजनिक सेवा सप्ताह मनाउँदै त्यहाँको संघीय प्रशासनमार्फत प्रदान गरिने सेवाको सम्मान गरिन्छ र भावी दिनमा लागि प्रभावकारी सेवाप्रवाहको योजना तयार पारिन्छ ।
युरोपियन युनियनमार्फत निजामती सेवा दिवस हरेक वर्ष यसका सदस्य राष्ट्रहरूले मनाउने गर्दछन् । भारतमा सन् २००६ देखि अप्रिल २१ का दिन यो दिवस मनाउँदै जिल्लास्तरमा उत्कृष्ट काम गर्नेलाई सम्मान गर्दै प्रधानमन्त्री पुरस्कार प्रदान गरिन्छ । सार्वजनिक सेवाको विकास निर्माणमा देखिएको उपादेयता, कर्मचारी संयन्त्रबाट सम्पादित असल कार्यको स्मरण र सम्मान गर्दै मेधावी युवाहरूलाई सार्वजनिक सेवा प्रदायकका रूपमा सेवा प्रवेश गरी वृत्ति विकासको शृंखलाको प्रारम्भ गर्न प्रोत्साहन प्रदान गर्ने उद्देश्यका साथ संयुक्त अधिराज्यमा जुन २३ का दिन यस दिवसलाई मनाउने गरिन्छ । तसर्थ, विश्वव्यापी रूपमा अध्ययन गर्दा यस दिवसको विभिन्न नामकरण गरिए तापनि कर्मचारी संयन्त्रको उपादेयता र यसको प्रभावकारितामा विशेष महŒव दिई सार्वजनिक सेवाप्रवाहलाई केन्द्रबिन्दुमा राखिएको प्रस्ट छ । उल्लिखित पृष्ठभूमिमा जनताको सेवामा समर्पित भई जनताकै भलाइका लागि कर्मचारीहरूले आफ्नो योग्यता, क्षमता, अनुभव र सीपको सदुपयोग गर्ने, कर्तव्य पालनाका लागि समर्पित रहँदाका अवस्थामा देखिएका कठिनाइ र चुनौतीहरूका सामना र समाधानका लागि प्रभावकारिताका साथ प्रस्तुत हुने, समग्र कर्मचारी संयन्त्रलाई प्रोत्साहन प्रदान गर्ने, एक वर्ष अवधिमा विभिन्न विभागबाट भएका कार्यसम्पादनको मूल्यांकन गर्नेजस्ता उद्देश्यहरूबाट निर्देशित यो दिवसको महŒव अत्यन्त ज्यादा देखिएको छ । नेपालको निजामती सेवा दिवस पनि यसैबाट अभिप्रेरित भई उत्सवकै रूपमा मनाउन थालिएको हो ।
सबै कर्मचारीको कार्यसम्पादन मूल्यांकन वस्तुगत आधारमा गरिनु जरुरी छ
नेपालको विशिष्ट परिस्थितिमा निजामती सेवा दिवस मनाउने तरिकाहरूमा पनि परिवर्तनको आवस्यकता देखिएको छ । यस दिवसले सम्बोधन गर्नुपर्ने अत्याधिक महŒवको विषय भनेकै सार्वजनिक सेवाप्रवाह हो । निजामती कर्मचारीहरूले सेवा प्रदायकका रूपमा आफ्ना कार्यसम्पादनको शैलीमा गरिनुपर्ने समयसापेक्ष परिवर्तन र सुधार, संघीयताको कार्यन्वयनका क्रममा सरकारहरूको स्वशासन र साझा शासनलाई सुदृढ गर्ने, नीति निर्माण र व्यवस्थापनलाई प्रभावकारी बनाउने, विकास व्यवस्थापनलाई नतिजामा देखिनेगरी गर्ने, कर्मचारीहरूको धुमिल प्रतिष्ठामा सुधार ल्याउनेगरी जनतालाई सूचना सम्प्रेषण गर्न सक्ने सक्षमताका साथ यस दिवसलाई मनाउनुपर्दछ । यस क्रममा निजामती सेवाले धेरै प्रकारका कठिनाइको सामाना गर्नुपरिराखेको छ ती समस्याको व्यावहारिक समाधानका लागि मार्ग प्रशस्त गर्ने कार्य गरी उद्घोष गर्ने दिनका रूपमा यस दिनलाई स्मरण गर्दा यसको गरिमामा निखार आउने परिस्थिति बन्दछ । यी सबै विषयलाई निजामती सेवा दिवसले समेटन सक्नुपर्दछ, एक वर्षभित्र उदाहरणीय कार्यसम्पादन गर्नेलाई कार्यरत कर्मचारी र सेवाग्राही जनतासमेत विश्वस्त हुने प्रकारले सम्मानित गर्नुपर्दछ ।
अब हाम्रो निजामती सेवा दिवसका ’boutमा एकपटक समीक्षा गरांै । सबै कर्मचारीको कार्यसम्पादन मूल्यांकन वस्तुगत आधारमा गर्न सकिएको छैन । यस अवस्थामा गरिने मूल्यांकन स्वविवेकमा आधारित हुने नै भयो । पुरस्कृत हुने कर्मचारीको विगतदेखिको शैलीलाई स्मरण गर्दा यसमा कार्यसम्पादन र सेवाप्रवाह स्तरमा कार्य गर्नेभन्दा पनि नीतिगत स्तरमा काम गर्नेहरूको बाहुल्यता सधैं देखिएको छ । कर्मचारी समायोजनमार्फत तल्लो तहका सरकारमा कार्यरत कर्मचारी विशेष गरी स्थानीय स्तरका राष्ट्रसेवकलाई निजामती कर्मचारीको परिभाषाबाहिर राखिएको छ । वृत्ति विकासका शृंखलाका दृष्टिले उपेक्षित अवस्थामा रहेका यी कर्मचारीहरूले निजामती सेवा दिवसको स्वामित्व लिन अस्वीकार गरेका छन् यो अवस्था सिर्जना हुँदासम्म पनि संघीय निजामती सेवाभित्रका कर्मचारीको मात्र कार्यक्रमका रूपमा यो दिवस सीमित हुन पुगेको छ । किनकि स्थानीय तहका कर्मचारीले यसलाई बहिष्कार गर्नेगरी विज्ञप्ति निकालेका छन् । पुरस्कृत हुने नामवलीमा आफ्नो नाम समावेश गर्न उच्च पदस्थहरूकै बीचमा प्रतिस्पर्धा मात्र होइन, निजामती सेवाका सर्वोच्च नेतृत्वले नै पटकपटक आफू स्वयं नै सर्वोत्कृष्ट निजामती कर्मचारी भएको दाबी प्रस्तुत गर्नेगरी आएको अवस्था सबैलाई जगजाहेर नै छ । परिणामस्वरूप सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार यस वर्ष पनि कसैलाई प्रदान गरिएन । यो निजामती संयन्त्रकै प्रतिष्ठामा प्रश्नचिह्न खडा हुने सन्दर्भ बनेको छ ।
कर्मचारीले नेतृत्व गरेको सरकार बढी प्रभावी देखिएको छ
निजामती कर्मचारीको अहिलेको अवस्थामा मनोबल गिरेको छ । सेवाप्रवाहमा दत्तचित्त नरहने, गलत काममा प्रवृत्त रहने समूहका रूपमा निजामती कर्मचारीलाई सर्वसाधारण नागरिकले ग्रहण गरिराखेको अवस्था छ । यसरी जनताको नजरमा प्रतिष्ठा धुमिल बनाएका कर्मचारीबाट कर्तव्यपालन अत्यन्त गुणस्तरयुक्त हिसाबले हुनुपर्ने अपेक्षा गरिएको छ । यो चुनौती र समस्याको समाधानका लागि नीतिगत तहमा काम गर्ने नेतृत्ववर्गको अर्थपूर्ण योगदान नितान्त जरुरी छ । सर्वत्र आलोचित कर्मचारीका उल्लेखनीय योगदानका ’boutमा जोकोही जस दिन तयार भएको देखिँदैनन् । कर्मचारीहरूले आफ्नो जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गरेका उदाहरणहरू प्रस्तुत गर्न उपयुक्त देख्दछु । लामो समयदेखि विभिन्न प्रकारका राजनीतिक प्रणालीहरूमा आधारित निर्वाचनमा सफलतापूर्वक सम्पन्न गराउन सफल छन् । राजनीतिक संक्रमणका समयमा सरकारको उपस्थिति देखाई प्रस्तुत हुने प्रभावकारी संयन्त्रको भूमिकामा निजामती कर्मचारी नै अग्रपंक्तिमा रहेका छन् । प्राकृतिक प्रकोपको अवस्थामा कर्मचारीले प्रदान गरेका भूमिकालाई नजरअन्दाज गर्न मिल्दैन । द्वन्द्वकालमा आफ्नो भौतिक अस्तित्वलाई जोखिममा राखी काम गर्ने समूह कर्मचारी नै हुन्, सबै प्रकारका राजनीतिक परिवर्तनपश्चात् शीघ्र सरकारलाई सहयोग प्रदान गर्न सफल र अब्बल श्रेणीमा कर्मचारीहरू दर्ज भएका छन् । यो उनीहरूको सरकारप्रतिको प्रतिबद्ध र राजनीतिप्रति तटस्थ रहनुका कारण सम्भव भएकोमा सन्देह रहँदैन । जनताका प्रतिनिधिहरू सम्मिलित सरकारसँग तुलना गर्दा कर्मचारीहरूले नेतृत्व गरेको सरकार बढी प्रभावी देखिएको छ । खिलराज रेग्मी नेतृत्वको सरकारले तोकिएको जिम्मेवारी इमानदारी, कम विवादित र निष्पक्षताका साथ सम्पन्न गरेकोमा नेपालको राजनीतिक इतिहासमा अंकित हुने नै छ । यसरी सक्षम देखिएको निजामती कर्मचारीको मनोबल उच्च पारी कर्मक्षेत्रमा प्रवेश गराउने वातावरण सिर्जना हुन सकेन । यस अवस्थामा निजामती सेवाको नेतृत्ववर्गले जवाफदेहिता वहन गर्नुपर्दछ ।
अब निजामती सेवा दिवसलाई मनाउनुपूर्व केही स्पष्ट कार्यक्रम र धारणासहित प्रस्तुत हुनुपर्दछ । दिवसका दिन प्रसारित नाराले स्पष्ट सन्देश दिई यसलाई सार्थकता दिनेगरी वार्षिक कार्यतालिका तयार हुनुप¥यो, अर्को वर्ष त्यसको प्रगति वस्तुगत आधारमा प्रस्तुत हुनेगरी प्रतिबद्धता जरुरी छ । यही आधारमा हरेक विभागको पदाधिकारीको कार्य सम्पादनको मूल्यांकन हुनु जरुरी छ । यस सेवाको नेतृत्ववर्गले राजनीतिक नेतृत्वसँग पटकपटक संस्थागत एजेन्डामा केन्द्रित रहेर समग्र निजामती सेवामा सुधारका कार्यक्रम र सेवाप्रवाहलाई गुणस्तरीय बनाउने सन्दर्भमा वार्ता अन्तक्र्रिया गर्नुपर्दछ, सरकार र संसद्को ध्यान यसमा आकृष्ट गरी निजामती सेवाको संरक्षकका रूपमा रहेको लोकसेवा आयोगसँग सहकार्य र समन्वय गरी अघि बढ्नुपर्दछ । नेपालको ट्रेड युनियनलाई राजनीतिबाट पृथक् राखी सिर्जनात्मक र मर्यादित बनाउन सक्नुपर्दछ । समावेशीकरण र योग्यता प्रणालीको निरन्तरता र संरक्षण गर्दै सेवा प्रवाहलाई गुणस्तरीय बनाउने उपायहरू अवलम्बन गर्नुपर्दछ । विशेष गरी नेतृत्व तहमा रहने हरूले आफ्ना कार्यहरू सम्पादन गर्दा सार्वजनिक प्रशासनका मूल्य र मान्यतालाई आत्मसात गरी सेवालाई मर्यादित र व्यवस्थित बनाउन क्रियाशीलता दिनु जरुरी छ । राष्ट्रसेवक कर्मचारीलाई सेवाप्रति आकर्षित र अभिप्रेरित गर्न पर्याप्त सुधार अहिलेको अवस्थामा आवश्यक छ । अहिलेको कोभिड–१९ को संक्रमण नियन्त्रणका लागि अहोरात्र कर्तव्यरत रहने राष्ट्रसेवकहरू र जनतासँग प्रत्यक्ष सम्पर्कमा रही सेवाप्रवाहमा अब्बल देखिएकालाई सम्मान गर्न यो दिवस सफल हुनुपर्दछ । यही परिवेशमा कार्य गर्दा कर्मचारी व्यवस्थापन, कानुनी शासनको कार्यान्वयन र कर्मचारीको कार्य क्षमताको विकासमा प्रस्ट देखिनेगरी अघि बढ्दा मात्र यस दिवसले सार्थकता पाउनेछ ।






