उदयपुर । घर आँगनकै खोलामा बालुवा, गिट्टी र ढुंगा थुप्रिएको छ । तर, स्थानीयले आफूलाई आवश्यक पर्ने निर्माण सामग्री त्यहीँबाट निकाल्न पाउँदैनन् । बाहिरबाट किन्दा कर र ढुवानी खर्च जोडिएर महँगो पर्छ । अर्कोतर्फ, गाउँ जोड्ने सडक पक्की भए पनि बाटोमा पर्ने खहरे खोलामा पुल नहुँदा वर्षायाममा आवतजावत ठप्प हुने गरेको छ । बाढीले बस्ती नै जोखिममा पर्दा पनि समस्या समाधानका लागि पटक–पटक बजेट आए पनि अपेक्षित काम नभएको स्थानीयको गुनासो छ ।
त्रियुगा नगरपालिका–२ मोथियाहीका स्थानीयले सोमबार आयोजित सार्वजनिक सुनुवाइमा पुल, तटबन्ध, नदीजन्य पदार्थ उत्खनन तथा विपत् व्यवस्थापनसँग सम्बन्धित समस्या प्रदेशका जनप्रतिनिधि र सरोकारवाला समक्ष राखेका हुन् । संसद् सहयोग परियोजना–युएनडिपीको सहयोगमा संसदीय पत्रकार मञ्च कोशी प्रदेशले त्रियुगा नगरपालिका–२ को वडा कार्यालय मोथियाहीमा आयोजना गरेको ‘प्राकृतिक विपत्ति र तटीय क्षेत्रका समस्या सम्बन्धी सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीयले विकासका नाममा वर्षेनी बजेट विनियोजन भए पनि आफूहरूले भोग्दै आएको समस्या ज्यूँका त्यूँ रहेको गुनासो गरे ।
कार्यक्रममा अधिकांश स्थानीयले गाईघाट–फत्तेपुर सडक खण्डमा पर्ने लुहाले, कंग, बबिया र बैरागी खोलामा निर्माण गर्ने भनिएका पक्की पुलको अवस्था ’bout प्रश्न उठाए । सडक पिच भइ सके पनि दर्जनौं खहरे खोला पर्ने यस सडक खण्डमा पुल निर्माण नहुँदा वर्षायाममा जोखिम मोलेर यात्रा गर्नु पर्ने बाध्यता रहेको उनीहरूको भनाइ थियो ।
स्थानीय केदारप्रसाद खतिवडाले घरबाट करिब पाँच सय मिटरको दूरीमा खोला भए पनि आफूहरूले बालुवा, गिट्टी र ढुंगा निकाल्न नपाउने बताए । बाहिरबाट खरिद गरेर ल्याउँदा करका कारण निर्माण सामग्री महँगो पर्ने उनको गुनासो थियो । घरबाट पाँच सय मिटर नजिक खोला छ । आफूले बालुवा, गिट्टी, ढुंगा उठाउन पाइँदैन । कर तिरेर ल्याउँदा ६ सय रुपैयाँ पर्छ,’ खतिवडाले भने, ‘बालुवा, गिट्टी र ढुंगाको करको दर प्रदेश सरकारले तोक्दो रहेछ । यसको पुनर्विचार गर्नु पर्छ ।
स्थानीय अर्जुन पोखरेलले चुरे क्षेत्रबाट बगेर आउने खोलाका कारण त्रियुगा नगरपालिकाको दक्षिणी भेगका बस्ती बाढीको उच्च जोखिममा रहेको बताए । खोलाको बहाव व्यवस्थापन र तटबन्ध निर्माणमा ध्यान नदिए बस्ती विस्थापित हुनु पर्ने अवस्था आउन सक्ने उनको भनाइ थियो । खोला किनार नजिकका बस्ती बाढीका कारण विस्थापित हुने त्रास छ,’ पोखरेलले भने, ‘लुहाले, कंग, बबिया लगायत खोलाबाट बस्ती जोगाउन तत्काल पहल गर्नुपर्छ ।
महिला रोजगारी र उद्यमशीलताको विषय पनि सार्वजनिक सुनुवाइमा उठ्यो । स्थानीय तारा पौडेलले पुल निर्माणसँगै महिलालाई गाउँमै रोजगारी र उद्यमसँग जोड्ने कार्यक्रम आवश्यक रहेको बताइन् । त्रियुगा नगरपालिका–२ का महिलाहरू घाँस–दाउरा बिक्री गर्न गाईघाट बजारसम्म पुग्नु पर्ने अवस्था रहेको भन्दै उनले स्थानीयस्तरमै उद्योग तथा व्यवसाय सञ्चालनका लागि पहल गर्न जनप्रतिनिधिसँग आग्रह गरिन् । स्थानीय सुवास रसाइलीले विकासका लागि पर्याप्त बजेट आउने गरे पनि त्यसको प्रभावकारी कार्यान्वयन नभएको गुनासो गरे । ‘यहाँ धेरै बजेट आउने गरेको छ । कहाँ–कहाँ के–के काम भइ रहेको छ ? सार्वजनिक सुनुवाइ हुँदा समस्या राख्ने काम हुन्छ, तर काम हुँदैन,’ उनले भने ।
स्थानीयका प्रश्नको जवाफ दिँदै डिभिजन वन कार्यालय गाईघाट उदयपुरका प्रमुख गजेन्द्रकुमार श्रेष्ठले वनसँग सम्बन्धित कतिपय कानुन पुराना हुनुका साथै संघ र प्रदेश बीचको नीतिगत समस्याले स्थानीय तहमा समस्या सिर्जना भइ रहेको बताए । नदीजन्य पदार्थ व्यवस्थापन लगायत विषयमा विभिन्न तहका सरकार बीच समन्वय आवश्यक रहेको उनको भनाइ थियो । पूर्वमन्त्री तथा प्रदेश सांसद नारायणबहादुर बुर्जा मगरले उदयपुरका समस्या समाधानका लागि जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रदेश सांसदहरू एकजुट भएर प्रदेश सरकार समक्ष विषय उठाउने बताए । जनताले प्रदेश सरकारसँगै संघीय सरकार र संघीय संसद् समक्ष पनि आफ्ना प्रश्न राख्नु पर्ने उनको भनाइ थियो ।
हामी प्रदेशका सांसद जनताका मुद्दाका सवालमा एकजुट भएर प्रदेश सरकार समक्ष उदयपुरका समस्या राख्छौँ,’ बुर्जामगरले भने । प्रदेश सांसद गीतादेवी रेग्मीले प्राकृतिक विपत्ति र तटीय क्षेत्रका समस्या प्रदेश सभा तथा सरकार समक्ष राखेर समाधानका लागि पहल गर्ने बताइन् । सांसद सम्झना पाख्रिन तामाङले नदीजन्य पदार्थ व्यवस्थापन र भौतिक पूर्वाधारसँग सम्बन्धित समस्या स्थानीय र प्रदेश सरकार बीचको समन्वयबाट समाधान गर्नु पर्ने धारणा राखिन् ।
कोशी प्रदेशकी उपसभामुख सिर्जना दनुवारले गाईघाट–फत्तेपुर सडक खण्ड अन्तर्गत पर्ने कंग, बबिया र लुहाले खोलामा पुल निर्माणको प्रक्रिया अघि बढेको जानकारी दिइन् । उनले प्रदेश सरकारबाट पछिल्ला वर्षमा विनियोजन भएको बजेट र त्यसबाट भएका कामको समेत समीक्षा गर्नु पर्ने बताइन् । नौ वर्षमा प्रदेश सरकारबाट कति बजेट आयो ? कति काम भए ? यसमा पनि खोज्नुपर्छ,’ दनुवारले भनिन् । उनले विकास निर्माणका समस्या समाधानका लागि जनप्रतिनिधि बीच राजनीतिक दल भन्दा माथि उठेर एकता आवश्यक रहेको बताइन् । ‘हामी सबैको एकता नै समस्या समाधानको पहल हो । म यो दल, उ त्यो दल भन्नु हुँदैन,’ उनले भनिन् । दनुवारले नदी उकास क्षेत्रमा नदीजन्य पदार्थ उत्खननका लागि कानुनी समस्या रहेको उल्लेख गर्दै त्यसका लागि प्रदेश सभाबाट आवश्यक पहल गर्ने बताइन् । उनले आफ्नो पहलमा उदयपुरमा ५० करोड रुपैयाँ भन्दा बढीका आयोजना ल्याएको दाबी समेत गरिन् ।
संसदीय पत्रकार मञ्च कोशी प्रदेशका अध्यक्ष कुमार लुईटेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उदयपुरबाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसद हिमाल कार्की, रामकुमार खत्री, लिलाकुमारी राई र राजन किराती भने उपस्थित थिएनन् । मञ्चका अनुसार उदयपुरका सबै प्रदेश सांसदलाई कार्यक्रममा सहभागिताका लागि खबर गरिएको थियो । सार्वजनिक सुनुवाइमा स्थानीयले उठाएका पुल, तटबन्ध, नदीजन्य पदार्थ, विपत् व्यवस्थापन तथा रोजगारीका सवालले त्रियुगा नगरपालिका–२ का बासिन्दाले वर्षौंदेखि भोग्दै आएको पूर्वाधार र प्राकृतिक विपत्तिको समस्या अझै समाधान हुन नसकेको देखाएको छ । स्थानीयले अब आश्वासन भन्दा पनि समयमै काम गरेर समस्या समाधान गर्न जनप्रतिनिधि र सम्बन्धित निकायसँग माग गरेका छन् ।
सम्बन्धित समाचार
१५ क्विन्टलभन्दा बढी गाँजासहित ट्रक नियन्त्रणमा, चालक फरार
बाढीपीडितका लागि चौदण्डीगढी नगरपालिकाद्वारा ४४ लाख सहयोग
मृत्युपछि सबैले आँखा दान गरौँ : मुख्यमन्त्री कार्की
चित्रमा उतारिँदै मौलिकता, रङमा देखिँदै रोङको पहिचान
भुसुने जंगलमा झण्डै २ कुइन्टल गाँजा
सहज आपूर्ति व्यवस्थापन, मिसावट र महँगी नियन्त्रणमा जोड
उदयपुरका आठवटै पालिकामा कांग्रेसको नयाँ नेतृत्व चयन
नारायणगढ–मुग्लिन सडक अनिश्चितकालका लागि बन्द





