काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको विवाद बढ्दै गइरहेका बेला अध्यक्ष पुष्पकमल दाहालले अवस्था गम्भीर भएको बताएका छन् । शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा संक्षिप्त कुरा गर्दै अध्यक्ष दाहालले पार्टीको अवस्था गम्भीर रहेको बताए । पार्टीको अवस्था गम्भीर रहेको भए पनि समाधानहीन भने नभएको उनको भनाइ छ ।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि लिखित रूपमै भ्रष्टाचारीलाई संरक्षण गरेको, गुट सञ्चालन गरेकोलगायतका गम्भीर आरोप लगाएका अध्यक्ष दाहालले भने, ‘परिस्थिति गम्भीर भए पनि समाधानहीन छैन ।’
अध्यक्ष दाहालले सचिवालय बैठकमा लिखित रूपमै प्रम ओलीमाथि गम्भीर आरोप लगाएपछि ओलीले आरोप पुष्टि गर्न चुनौती दिएका छन् । आरोप पुष्टि भए आफूले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद छोड्ने पुष्टि नभए आरोप लगाउनेले आफ्नो पद त्याग्नुपर्ने अडानसहित अर्को बैठकमा ओलीले जवाफ दिने तयारी गरेका छन् ।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि लिखित रूपमै भ्रष्टाचारीलाई संरक्षण गरेको, गुट सञ्चालन गरेकोलगायतका गम्भीर आरोप लगाएका अध्यक्ष दाहालले भने, ‘परिस्थिति गम्भीर भए पनि समाधानहीन छैन
पार्टीभित्रको शक्ति संघर्ष चर्किएका बेला अध्यक्ष दाहालले ओली निकटका तीन नेतासँग शुक्रबार पार्टी केन्द्र्रीय कार्यालय धुम्बाराहीमा छलफल गरेपछि यस्तो प्रतिक्रिया जनाएका छन् । सचिवालय सदस्य एवं उपप्रधानमन्त्री ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य एवं संसदीय दलका उपनेता सुवास नेम्वाङसँगको छुट्टाछुट्टै भेटघाटपछि अध्यक्ष दाहालले पार्टीभित्र देखिएको विवाद समाधान हुने संकेत गरेका छन् ।
अध्यक्ष दाहालसँग भेटेका तीनै जना नेताले सचिवालय बैठकमा प्रस्तुत प्रतिवेदन फिर्ता लिन आग्रह गरेका छन् । तर, अध्यक्ष दाहालले प्रस्ताव फिर्ता नभई सचिवालय, स्थायी कमिटी बैठकमा छलफल हुने अडान व्यक्त गरेका छन् ।
नेकपा सचिवालय सदस्य पोखरेलले अर्को बैठकमा जवाफसहितको प्रतिवेदन अध्यक्ष ओलीले प्रस्तुत गर्ने बताएका छन् । अध्यक्ष दाहालले सचिवालय बैठकमा पेस गरेको प्रतिवेदन सार्वजनिक भइसकेकाले फिर्ता लिनुको औचित्य नभएको उनले बताए ।
‘भ्रष्टाचारीलाई संरक्षण गर्नेदेखि गुट सञ्चालनसम्मका आरोप लगाइएको छ । ती सबै तथ्यहीन र आधारहीन छन्,’ पोखरेलले भने । उनले यसको जवाफ बैठकमै प्रम ओलीले दिने बताए ।
‘त्यसलाई आरोप मात्र भन्न सकिन्छ, प्रस्ताव भन्न सकिँदैन,’ पोखरेलले भने, ‘यो जुन रूपमा आएको छ, त्यो प्रक्रिया पनि मिलेको छैन । पार्टीभित्रको बैठकमा दुई अध्यक्षबीच सल्लाह भएर आउने हो तर त्यो कतै सल्लाह भएको छैन ।’
उक्त प्रस्तावमा प्रधानमन्त्रीले अस्वीकार गरेकाले यसलाई प्रस्तावका रूपमा स्वीकार नहुने उनले बताए । आगामी १३ मंसिरको सचिवालय बैठकमा यसमा थप छलफल हुने उनले बताए ।
नेकपा महासचिव पौडेलले पार्टीको परिस्थिति गम्भीर रहेको बताएका छन् । नेकपा स्रोतका अनुसार महासचिव पौडेलले अध्यक्ष दाहाललाई प्रधानमन्त्री ओलीमाथि आरोपसहितको प्रतिवेदन फिर्ता लिन आग्रह गरेका छन् । तर, दाहालले फिर्ता नलिने र ओलीले जवाफसहितको अर्को काउन्टर प्रतिवेदन पेस गर्ने बताईसकेको अवस्थामा महासचिव पौडेलले अवस्था गम्भीर बन्दै गएको प्रतिक्रिया दिएका छन् ।
‘सचिवालय बैठकमा राख्नुभएको प्रस्ताव फिर्ता लिएर सहमतितर्फ अघि बढ्नुस्,’ अध्यक्ष दाहालसँग महासचिव पौडेलले गरेको प्रस्ताव उद्धृत गर्दै स्रोतले भने ।






