प्रचण्डले अराजनीतिक प्रस्ताव ल्याएर पार्टी विभाजनको अनौपचारिक घोषणा गरेको दोषारोपण

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालले पेस गरेको राजनीतिक प्रस्तावको व्यापक चिरफार गर्दै आफ्नो राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । उनले अध्यक्ष प्रचण्डले ल्याएको प्रतिवेदनलाई अराजनीतिक प्रतिवेदनको संज्ञा दिँदै त्यसले पार्टी विभाजनको अनौपचारिक घोषणा गराएको दोषारोपण गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको नेकपा सचिवालय बैठकमा अध्यक्ष ओलीले ३८ पृष्ठ लामो जवाफी प्रस्ताव पेस गर्दै अध्यक्ष प्रचण्डको प्रतिवेदनलाई खारेज गर्न सचिवालयसँग आग्रह गरेका छन् ।

अध्यक्ष ओलीले ५३ बुँदामा आफ्नो प्रस्ताव पेस गर्दै अध्यक्ष दाहाललाई ‘पार्टी विवाद वार–पारको लडाइँमा पुगेको हो’ भन्दै प्रश्नसमेत गरेका छन् । ओलीले दाहालको प्रतिवेदन व्यक्तिगत असन्तुष्टि, सीमाहीन कुण्ठा र निहित स्वार्थ लुकेको कृत्रिम आरोपको संगालो रहेको जनाएका छन् ।

ओलीले सचिवालय बैठकमा पार्टीमा विग्रह ल्याउने प्रस्ताव खारेज गर्दै स्थायी कमिटीको निर्णयअनुसार पार्टीलाई अगाडि बढाउनुपर्ने आवश्यकता औंल्याएका छन् ।

प्रचण्डमाथि ओलीका आरोप

– पार्टीमा गम्भीर संकट निम्ताएको

–निहित स्वार्थमार्फत सरकार र पार्टीलाई कमजोर बनाएको

–कम्युनिस्ट आन्दोलनलाई गम्भीर संकटमा धकेलेको

–पार्टी एकतालाई विघटन गराउन खोजेको

– अस्थिरतामै रम्ने प्रवृत्ति देखाएको

–सरकार बनाउने क्रममा कृत्रिम अवरोध सिर्जना गरेको

– आफ्नो निवासलाई गुटबन्दीको हेडक्वार्टर बनाएको

–कार्यकारीको जिम्मा पाए पनि पार्टीका काममा पूर्ण बेवास्ता गरेको

–नेतृत्व परिवर्तनमा अनावश्यक चलखेल गरेको

गत २८ कात्तिकको सचिवालय बैठकमा राजनीतिक प्रस्ताव पेस गर्दै अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीमाथि गम्भीर आरोप लगाएका थिए । शनिबारको बैठकमा प्रधानमन्त्री ओलीले लिखित रूपमै जवाफ पेस गर्दै अध्यक्ष दाहालसँग कडा प्रश्न गरेका छन् ।

अध्यक्ष दाहालको प्रस्तावको प्रस्तुति, तरिका, भाषाशैली र अन्तर्वस्तुले पार्टीमा गम्भीर संकट निम्त्याएको ओलीको निष्कर्ष रहेको छ । पार्टी विधानअनुसार बैठकमा प्रस्तुत गरिने प्रस्तावको कुनै वैधानिक या राजनीतिक हैसियत नराख्ने भएकाले खासै महŒव नदिँदा पनि हुने ओलीले जनाएका छन् ।
‘कमरेड ‘प्रचण्ड’, सुरुमै तपाईंलाई मेरो प्रश्न छ– पार्टीभित्र चलिरहेको यस बहसको चरित्र के हो ? यो स्वस्थ नीतिगत बहस हो कि ‘वार कि पार’ को लडाइँ ? यो अन्तरविरोध नै हो भने पनि, यो मित्रतापूर्ण हो कि शत्रुतापूर्ण ? तपार्इंले रोजेको बाटो वाद–प्रतिवाद–संवादको हो कि वाद–प्रतिवाद र विग्रहको ?’ अध्यक्ष ओलीले आफ्नो प्रतिवेदनमार्फत प्रश्न गरेका छन् ।

‘एकता–छलफल र अझ उन्नत स्तरको एकतामा हिँड्न खोजिएको हो कि एकता–विग्रह र विघटनको बाटोमा ? पार्टीभित्र हाम्रो सम्बन्ध पार्टीका दुई प्रमुख नेताको सम्बन्ध हो कि दुई भिन्न वर्ग र भिन्न पार्टीका प्रतिद्वन्द्वी नेताहरूको ?’ अध्यक्ष ओलीले चौथो नम्बर बुँदामा प्रश्न गर्दै भनेका छन्, ‘विवादको स्वरूपले समाधानको विधि तय गर्छ । वस्तुतः तपार्इंले आफ्ना एकतर्फी लिखतमार्फत पार्टीभित्रका असहमतिहरूलाई शत्रुतापूर्ण अन्तरविरोधमा बदल्नुभएको छ र कम्युनिस्ट आन्दोलनलाई गम्भीर संकटमा धकेल्नुभएको छ । समयले यसको उचित हिसाब गर्ने नै छ ।’

ओलीको प्रचण्डलाई आग्रह

–पार्टीभित्रको बहसलाई स्वस्थ र मर्यादित बनाउनुहोस्

–कटुता, विद्वेष र विग्रहको बाटोमा पार्टीलाई नहिँडाउनुहोस्

–पार्टी एकतालाई बलियो बनाउनुहोस्

–विभाजन र विखण्डनको बीउ नरोप्नुहोस्

–भावनात्मक रूपमा पार्टीलाई एक बनाउनुहोस्

चार महिनापछि हुने महाधिवेशनबाट सहज नेतृत्व हस्तान्तरण र चयनको बाटो छोडेर किन नेतृत्वमा चलखेल गरेको भन्दै अध्यक्ष ओलीले प्रचण्डसँग प्रश्न गरेका छन् । महाधिवेशनमा आउने प्रतिनिधिको विवेकमाथि प्रचण्डलाई विश्वास नभएको भन्दै उनले प्रश्न गरेका छन् ।

अध्यक्ष ओलीले चार महिनापछि हुने महाधिवेशन र दुई वर्षपछि हुने आम निर्वाचनमा नेकपाको भविष्य देख्न छाडेका नेताले लाखौं कार्यकार्ताको नेतृत्व गर्ने नैतिकता बाँकी नरहेको हो कि भन्दै प्रचण्डसँग प्रश्न गरेका छन् ।

‘मेरो मनमा एउटा गम्भीर प्रश्न छ, चार महिनापछि हुने महाधिवेशनबाट सहज नेतृत्व हस्तान्तरण र चयनको बाटो छाडेर हरबखत नेतृत्व परिवर्तनको चलखेल किन ? के कमरेडहरूलाई महाधिवेशनमा आउने प्रतिनिधिहरूको विवेकमाथि विश्वास छैन ? दुई वर्षपछि आम निर्वाचन हुन्छ । मेरो विश्वास छ, नेकपाको विजय यात्रा जारी नै रहनेछ । त्यसपछि नयाँ नेतृत्वको खोजी त हुने नै छ । के कमरेडहरूमा दुई वर्षपछि नेकपाको भविष्य सुरक्षित छ भन्ने विश्वास टुटिसकेको हो ?’ प्रम ओलीको प्रश्न छ ।

अध्यक्ष ओलीले इतिहासको इजलासमा दर्ज भइसकेको प्रचण्डको प्रस्तावका शब्दका ’boutमा सार्वजनिक जवाफदेहिताका लागि तयार रहन चेतावनीसमेत दिएका छन् । ‘आफ्नै सहयोद्धा अध्यक्षबाट यति धेरै आक्रोश, आग्रह, घृणा र कुण्ठा अटेसमटेस भएर बसेको छ, त्यस्ता व्यक्तिबाट मलाई सरकार र पार्टी सञ्चालनका क्षेत्रमा कस्तो सहयोग भयो होला ?’ ओलीले थप प्रश्न गरेका छन् ।

ओलीको प्रतिबद्धता

–विचार, संगठन, आचरण र आदर्शमा कुनै विचलन आउन दिन्नँ

–पार्टीका सबैलाई साथमा लिएर आन्दोलनको रक्षा र विकास गर्दै अगाडि बढ्छु

–सबैको जिम्मा लिन तयार छु

–सामथ्र्यसहितको पार्टी नयाँ पुस्तामा हस्तान्तरण गर्नेछु

–एकतामा सधैं जोड दिनेछु

‘तपाईंले पार्टीका नीति या विधानसम्बन्धी प्रश्नमा मात्रै मलाई लाञ्छित गर्नुभएको छैन, मुलुकको संविधान र कानुन आकर्षित हुने फौजदारी प्रकृतिका आरोपसमेत लगाउनुभएको छ । यति गम्भीर आरोप लागेको मान्छे ‘आत्मालोचना’ गरेर पनि उम्किन सक्दैन, आरोप पुष्टि हुँदा ऊ राज्यको कानुन र पार्टीको विधानअनुसार कारबाहीको भागिदार बन्नुपर्छ । तपार्इंलाई मेरो चुनौती छ कि आरोप पुष्टि गर्नुस् र राज्यको कानुन तथा पार्टी विधानअनुसार मलाई कारबाही गर्नुस् कि त आफ्नै सहयोद्धामाथि निराधार आरोप लगाएर पार्टी एकता भंग गर्ने धृष्टताको जवाफदेही बन्न तयार हुनुहोस्,’ ओलीले भनेका छन् ।

‘स्थानीय चुनावमा सारा घेराबन्दीलाई तोड्दै नेकपा (एमाले) पहिलो शक्तिका रूपमा उदायो । दोस्रो संविधानसभामा कमजोर बनेको जातीय–क्षेत्रीय अतिवाद स्थानीय चुनावसम्म आइपुग्दा लगभग निस्तेज भयो । अवस्था यस्तो भयो कि आफ्नै छोरीलाई जिताउन मतपत्र च्यात्ने लज्जास्पद उपायको सहारा लिनुपर्ने ठाउँमा तपाईंलाई पु¥यायो ।’ ओलीले भनेका छन् ।

अध्यक्ष प्रचण्डलाई सुझाव दिँदै ओलीले भनेका छन, ‘भत्काउने– बनाउने–फेरि भत्काउने यस्तो विषयलाई गर्वको विषय बताउनुहुन्छ । अझ थप, दिक्क लाग्यो भने राजनीति छाड्न पनि पाइन्छ । विश्राम लिन पनि पाइन्छ । तर लोकतन्त्रमा पारदर्शिता र नैतिकता ठूलो विषय हो । युद्धका बेला काम लागेका विधिहरू शान्तिपूर्ण, लोकतान्त्रिक र खुला समाजमा सधैंभरि काम लाग्दैनन् । मेरो प्रश्न तपाईंले लिन खोजेको बाटोप्रति होइन, ती कामलाई ‘सहमति’ को आवरणमा गर्नुभएको दोहोरो मापदण्ड र बहानाबाजीका हकमा हो ।’

सोचेअनुसार पार्टी एकीकरणको काम सहज ढंगले अगाडि बढ्न नसकेको स्वीकार गर्दै अध्यक्ष ओलीले निर्वाचनमा प्राप्त जनमत र मुलुकको संविधानअनुसार बन्नुपर्ने प्रधानमन्त्री पद र पार्टी विधानअनुसार हुनुपर्ने अध्यक्ष पदलाई छ्यासमिस गरेर आफूलाई एक ठाउँमा मात्र सीमित गर्ने निकै प्रयास प्रचण्डले गरेको जनाएका छन् ।

‘आज तपाईंले अलिकति ‘पायक’ परेको हिसाब गरेर कमिटीमा अल्पमत बहुमतको विधि कार्यान्वयन गर्ने वकालत गर्न थाल्नुभएको छ । आफ्ना सहयोद्धा कमरेडहरूको भावना होइन, टाउका गन्न थाल्नुभएको छ, कित्ताकाट गर्न थाल्नुभएको छ,’ उनले भनेका छन्, ‘सम्झिनुहोस् त, केन्द्रीय सचिवालयदेखि स्थानीय कमिटीसम्म अधिकांश ठाउँमा साबिक एमालेको एक जना भए पनि बढी संख्या छ । बहुमतको त्यो अंगगणित तपाईंका विरुद्ध प्रयोग गरिएको भए के हुन्थ्यो ? ठीकै छ, यो विधि अवलम्बन गर्ने हो भने पनि पहिले एकताको आधार फेरौं अनि विधान संशोधन गरौं । मैले त पार्टीका हुन् कि राज्यका, हरेक जिम्मेवारी प्रतिस्पर्धामा विजय हासिल गरेरै प्राप्त गरेको हुँ । महाधिवेशनबाट विचार, संगठन संरचना र नेतृत्व खुला प्रतिस्पर्धाका आधारमा चयन गर्न तपाईँ तयार हो ? म त तयारै छु,’ ओलीले भनेका छन् ।

‘प्रधानमन्त्री बनाउने तर उसले विश्वास गरेको टिम छनोट गर्न नपाउने, उपयुक्त ठाउँमा नियुक्ति गर्न पनि नपाउने, मन्त्रीहरूलाई उसले होइन अरू कसैले चलाउने, उसका हातखुट्टा चारैतिर बाँधिने तर परिणाम भने उसैले दिनुपर्ने, जवाफदेही पनि उही हुनुपर्ने ? हामी यो कस्तो खालको प्रणाली बसाउन खोजिरहेका छौं ? कस्तो खालको लोकतन्त्रको हामी अवलम्बन गर्न खोजिरहेका छौं ?’ ओलीले प्रश्न गरेका छन् ।

ओलीले २४औं नम्बर बुँदामा लेखेका छन्, ‘तपाईंले मलाई ‘व्यक्तिवादी’, ‘गुटवादी’ र ‘एकाधिकारवादी’ आरोप लगाउनुभएको छ । पार्टीमा उत्पन्न अन्योल र गतिरोध’ का लागि, अविश्वास र अन्तरविरोधका लागि, पार्टीमा आएको आचरण र मूल्यमान्यतामा ह«ासका लागि, व्यक्तिवादी अराजकतावादी आचरणका लागि, वैचारिक काम नहुने स्थितिका लागि, पार्टी र सरकारबीचको सम्बन्ध बिग्रने कुराका लागि, पार्टी एकताका क्रममा गरिएका प्रबन्ध र निर्णयको अतिक्रमणका लागि मुख्य जिम्मेवार ‘करार’ गर्नुभएको छ ।’ ओलीले भनेका छन् ‘अझ अगाडि बढेर ‘चरम असहिष्णु’, ‘बहुमतको निर्णय मान्दिनँ’ भन्ने दम्भी, ‘बुर्जुवा अराजकतावादी’ र ‘सामन्ती निरंकुश’ आदि अनेकौं फरेब लगाउनुभएको छ । संघीयता विरोधी आदि फौजदारी प्रकृतिका संगिन र झुटा लाञ्छनाहरू लगाइएको छ । कम्युनिस्ट आन्दोलनमा यो कस्तो संक्रामक रोग हो, जसले सामान्य असहमतिलाई पनि जबर्जस्ती कटु, विद्वेषपूर्ण र विग्रहकारी बनाउँछ ? यी यति अराजनीतिक आरोपहरू हुन्, जसलाई यहाँ उल्लेख गर्न पनि मलाई सिकसिक लागिरहेको छ । म यी सबै आरोपलाई एकमुष्ट खारेज गर्दछु ।’

‘आरोप लगाउँदै जाँदा तपाईंले ममाथि ‘संकटकाल लगाउन खोजेको’, ‘संसद् भंग गर्न खोजेको’, ‘द्वन्द्वकालीन मुद्दाहरू ब्युँताउन खोजेको’, ‘अख्तियार लगाउन खोजेको’, नेताहरू ‘लडाउन खोजेको’ आदि फरेब तेस्र्याउनुभएछ,’ उनले भनेका छन्, ‘लोकतन्त्र मेरो निष्ठा हो, बाध्यता होइन । विधिको शासन मेरो छनोट हो, ओठेभक्ति होइन । सिधा र खुला बहस अनि आवश्यक परे सिधा लडाइँ लड्ने मेरो विशेषता हो । छलकपट र दाउपेच मेरो स्वभाव होइन ।’

‘म पार्टीभित्रका समस्याको समाधानका लागि यस्ता हतियारको सहारा लिनुपर्ने कमजोर धरातलमा उभिएका छैनौं,’ ओलीेले भनेका छन्, ‘मैले लडाएर लड्ने त्यति कमजोर हुुनुहुन्छ र हाम्रो पार्टीका नेताहरू ? आफ्नै छायासँग पनि तर्सिनुपर्ने अवस्थाबाट मुक्त हुनुहोस् ।’

ओलीले पार्टीभित्रका सहज बहसलाई स्वस्थ र मर्यादित बनाउन योगदान गर्न आग्रह गरेका छन् । कटुता, विद्वेष र विग्रहको बाटोमा नहिँडाउनू भन्दै उनले पार्टी एकतालाई बलियो बनाउन, विभाजन र विखण्डनको बीउ नरोप्न आग्रह गरेका छन् ।

अर्को बैठक १६ मंसिरमा

सचिवालय बैठकमा ओलीले जवाफी प्रस्ताव पेस गरेपछि अर्को बैठक १६ मंसिरमा बस्ने नेकपा सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । बैठक सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको बताउँदै उनले अब प्रतिवेदन अध्ययन गरेर १६ मंसिरमा सचिवालय बैठक बस्ने निर्णय भएको बताए ।

नेकपामा अध्यक्षद्वय ओली र दाहालले एक अर्कालाई आरोप–प्रत्यारोप गर्दै लिखित प्रतिवेदन पेस गरेपछि स्पष्ट रूपमा दुई लाइनको संघर्ष सुरु भएको छ ।

१८ मंसिरमा स्थायी कमिटी बस्ने सचिवालयले यसअघि नै निर्णय गरिसकेको छ । सचिवालयमा अध्यक्षद्वयको प्रस्तावमा छलफल गरेर साझा प्रस्ताव तयार नगरिएको खण्डमा दुवै प्रस्ताव स्थायी कमिटी बैठकमा पेस हुने नेताहरूले बताउँदै आएका छन् । स्थायी कमिटीले समेत साझा प्रस्ताव तयार गर्न नसकेको अवस्थामा केन्द्रीय कमिटी बैठकमा दुवै प्रस्तावमा छलफल हुनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 229 times, 1 visits today)

epaper

ताजा समाचार

श्रीमानले बँदेल नियन्त्रणका लागि राखेको करेन्ट लागेर श्रीमतिको मृत्यु