काठमाडौं । टेलिभिजन च्यानल तथा युट्युब च्यानलबाट प्रसारण हुने विभिन्न रियालिटी सोमा प्रस्तुत हुने गीतको प्रतिलिपि अधिकार हनन भएको भन्दै स्रष्टाहरूको आफ्नो अनुमतिबिना गीत नबजाउन आवाज उठाएका छन् ।
यस्ता रियालिटी सोमा प्रस्तुत हुने गीतहरू युट्युब च्यानलमा व्यावसायिक रूपमै आउने तर आफूहरू कत्ति पनि पारिश्रमिक नपाउने भन्दै आफ्नो प्रतिलिपि अधिकार हनन भएको उनीहरूको गुनासो छ ।
गीतकार तथा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश बिजीले पछिल्लो समय टेलिभिजनबाट प्रसारण हुने विभिन्न कार्यक्रममा दोहोरी गीत गाउनेक्रम बढेको बताए । टेलिभिजनसँगै विभिन्न युट्युब च्यानलले पनि लोकदोहोरी गीत कलाकारलाई गाउन लगाएर च्यानलमा हाल्ने गरेको पनि बिजीको भनाइ छ, ‘मुलुकका दर्जनांै टेलिभिजन तथा युट्युब च्यानलमा विभिन्न लोकदोहोरी कार्यक्रम राखिएको छ र ती कार्यक्रममा हाम्रा गीत गाउने गरिन्छ । यसरी हामीसँग अनुमति नै नलिई गाइएका गीतहरूलाई युट्युबमा राखेर व्यावसायिक कारोबार गरे पनि सम्बन्धित स्रष्टालाई रोयल्टी दिने गरिएको छैन ।’
अध्यक्ष बिजीका अनुसार आफूहरूका गीतहरूको यस्ता कार्यक्रममार्फत विभिन्न डिजिटल प्लेटफर्मबाट प्रयोग भए पनि रोयल्टी नदिएको भन्दै प्रतिष्ठानमा धेरैको उजुरी परेको छ । सोही उजुरीको आधारमा अब सम्बन्धित स्रष्टाको अनुमतिबिना लोकदोहोरी गीतलाई गाएर कार्यक्रममा प्रस्तुत नगर्न राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले जनाएको छ ।
प्रतिष्ठानले काठमाडौंमा स्रष्टाहरूको एक भेला आयोजना गरेर यो विषयमा छलफल गरेको छ । छलफलको क्रममा सम्बन्धित स्रष्टाहरूले आफ्ना गीतको व्यावसायिक प्रयोग विभिन्न कार्यक्रममा भएको र त्यसको रोयल्टी आफूहरूको नपाएको बताएका छन् । सोही गुनासोको आधारमा प्रतिष्ठानले अब सम्बन्धित स्रष्टाको अनुमतिबिना कुनै गीत संगीतको व्यावसायिक प्रयोजन गर्न नपाउने निर्णय गरेको अध्यक्ष बिजीले बताएका छन् ।
अब कुनै पनि च्यानलले लोकदोहोरी गीतहरूलाई व्यावसायिक प्रयोजन गर्दा सम्बन्धित गीतको उत्पादक, रचनाकार, संगीतकार, गायक गायिकामध्ये कुनै सम्बन्धित अधिकारवालासँग अनिवार्य अनुमति लिन प्रतिष्ठानले सम्बन्धित निकायलाई आग्रह गरेको छ । यसै प्रसंगमा प्रतिष्ठानका अध्यक्ष बिजीले सञ्चारकर्मीसँग बुधबार भने, ‘लोकदोहोरीसम्बन्धी उत्पादक, रचनाकार, संगीतकार, गायकगायिकाहरूले आफ्नो गीत व्यवसायिक रूपमा विगतमा प्रयोग गरेर कत्ति पनि रोयल्टी नदिएको भन्दै त्यसको विरोध गरेका छन् ।
उनीहरूको मागबमोजिम अब प्रतिलिपि अधिकारवाला सम्बन्धित स्रष्टासँग लिखित अनुमति लिएर मात्र विभिन्न च्यानलमा व्यावसायिक कारोबार गर्न हामीले आग्रह गरेका हौं ।’ यो विषयमा आपूहरूले सम्बन्धित च्यानललाई पत्रचारसमेत सुरु गरेको पनि उनले बुधबार सञ्चारकर्मीलाई बताए ।
अबका दिनमा अनुमति र सम्झौताबिना आफूहरूको लोकदोहोरी गीत विभिन्न च्यानलमा प्रयोग गरेमा प्रतिलिपि अधिकारबमोजिम कारबाहीका लागि आफूहरू अघि बढ्ने पनि उनले बताएका छन्, ‘हाम्रा गीतहरूमा दोहोरी खेल्दै त्यसलाई विभिन्न च्यानलमा हालेर टेलिभिजन तथा अन्य च्यानलले युट्युबबाट लाखौं रूपैयाँ पाउने गरेका छन् । तर, ती गीतका वास्तविक सर्जकले कत्ति पनि रोयल्टी नपाएपछि प्रतिष्ठानले यस्तो निर्णय गर्न बाध्य हुनुपरेको हो,’ अध्यक्ष बिजीले सञ्चारकर्मीसँग भने ।






