काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समुहका स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री रघुवीर महासेठले वैशाख १७ र वैशाख २७ गते तोकिएकै मितिमा निर्वाचन हुने दाबी गरेका छन् । र, केपी शर्मा ओली र पुष्पकमल दाहाल दुवै मिलेर चुनावमा जाने पनि उनले दाबी गरेका छन् ।
मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता महासेठले अध्यक्षद्धय ओली र प्रचण्ड मिलेर नै चुनावमा जाने दाबी गरे । उनले भने ‘उहाँ मिलेर नै चुनावमा जानुहुन्छ, उहाँहरु नमिली सुखै छैन् । पार्टी फुट्दैन् । वामदेव गौतमको एकता प्रस्ताव पनि सकारात्मक छ, तर यो प्रस्तावले पार्टी एकता हुने सम्भावना छैन् । उहाँले पनि प्रधानमन्त्री ओलीलाई साथ दिनुहुन्छ ।’
साक्षात्कारमा बोल्दै उनले आफूहरुलाई अदालत र निर्वाचन आयोग दुवैको निर्णय मान्य हुने भन्दै तोकिएकै मितिमा निर्वाचन हुने ठोकुवा गरे । उनले भने ‘चुनाव त एक सय प्रतिशत हुन्छ । म मित्रहरुलाई भन्न चाहन्छु कि चुनावका लागि हामी त तयारीमा जुटिसक्यौं । तपाईहरु पनि जुट्न्होस । हामी अदालतको निर्णय मान्छौं । संसद पूनःस्थापना भनेको पनि उहाँ प्रधानमन्त्री ओलीनै प्रधानमन्त्री बन्ने हो । यदि निर्वाचनको हकमा पनि निर्णय लियो भने हामी आत्मसात गर्छौं । संवैधानिक इजलाशको निर्णय पर्खेर बसेका छौं । छिटोभन्दा छिटो इजलाशबाट निर्णय आउँछ ।’
उनले नेकपा एकता हुँदाको बेला नै सही तवरले नभएको गुनासो पोखे । उनले विगत सम्झिँदै भने ‘हाम्रो पार्टीको एकता जुन प्रकारले सुरु भयो, त्यो राम्रो तवरले भएको भए दुर्घट्ना हुने थिएन् । एकता प्रक्रियाको धेरै कुरा मलाई थाहा छ । नेकपाका दोस्रो अधयक्ष प्रचण्डले जुन राजनिितक अभियोगपत्र भन्नुभयो, त्यसमा पनि यो एकता प्रक्रिया फलानोको भरमा, फलानोलाई साक्षी राखेर भन्नुभएको छ । एकता प्रक्रियामा सूर्य छापमा चुनाव लड्ने भन्ने सहमति थियो, तर त्यो सहमति २४ घण्टा नबित्दै सूर्य छापमा चुनाव लडे राम्रो हुँदैन भनेर हाम्रै पार्टीका नेताहरुले भनेर प्रचण्डजी ब्याक हुनुभयो ।’
चुनाव सकिएपछि पार्टीको नेतृत्वमा करिब दुई तिहाईको सरकार बनेको तर सरकारले राम्रा काम गर्दागर्दैपनि पार्टीभित्रबाट सहयोग नभएको उनको भनाई थियो । ‘प्रतिपक्षमा कांग्रेस थियो, तर उहाँहरुले प्रतिपक्षको भूमिका खेल्नुभएन् । हाम्रै पार्टीभिबाट प्रतिपक्षको भाषा बोल्न थाल्नुभयो । ऐतिहासिक काम गर्दागर्दै पनि आफ्नै पार्टीबाट असहयोग भयो ।’ उनले भने ।
आफ्नो पार्टीको सरकारले धेरै राम्रो काम गर्दापनि त्यसको सही व्याख्या र जनतामा प्रचारप्रसार गर्नुभन्दा पनि यो सरकारले केही गर्न सकेन् भनेर आफ्नै पार्टीका साथीहरु लागेको पनि उनले आरोप लगाए । उनले भने,‘उल्टै सरकारले काम गर्न सकेन भनेर ओलीले राजीनामा दिनुपर्छ भनेर माग गरियो । विशेष संसद अधिवेशनको लागि माग गर्नुभयो । संसदको विशेष अधिवेशन बोलाउने माग गर्दै राष्ट्रपतिसमक्ष हाम्रै साथीहरु जानुभयो । यो प्रकरणले प्रधानमन्त्री झस्किनुभयो । सरकारविरुद्धको मोर्चाबन्दी र घेराबन्दी निरन्तर भयो । एकपछि अर्को श्रृंखलाले यो संसद भंग भयो ।’ प्रतिनिधि सभा विघटन खराब उद्देश्यले नभएको उनको दावी थियो । ‘कांग्रेस र राजपाले आफ्ना योजना हाम्रो पार्टीभित्रैबाट कार्यान्यवन गर्न खोजेपछि प्रधानमन्त्रीज्यूले यो कदम चाल्नुभएको हो । उहाँले कि प्रधानमन्त्री छोड्नुपर्दथ्यो या निर्वाचनमा जानुपर्दथ्यो ।’ उनको भनाई थियो ।






