जिकज्याक मोटरसाईकल चलाएर चालकसंग निउ खोज्ने ६ जना पक्राउ

धनकुटा । धनकुटामा दादागिरी देखाएको आरोपमा ६ जना युवालाई प्रहरीले पक्राउ गरेको छ । साँगुरीगढी गाउँपालिका–६ मालवासेस्थित कोशी राजमार्गमा सवारी साधनलाई रोकेर हुल हुज्जत तथा अभद्र व्यवहार गरेको भन्दै प्रहरीले युवाहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा महालक्ष्मी–१ घर भई धनकुटा–६ पात्ले बस्दै आएका २४ बर्षीय दिपक खड्का, तेह्रथुमको छथर–२ घर भई धनकुटा–९ बस्दै आएका २२ बर्षीय रामकुमार लिम्बु, धनकुटा–९ गुठिटारका १९ बर्षीय आर्यन राई, गुठिटारकै १९ बर्षीय प्रदिप चाम्लिङ्ग, धनकुटा–९ वेलहारावेसीका २३ बर्षीय दिलबहादुर दाहाल र सहिदभूमि–७ खाल्लेका २३ बर्षीय कृष्ण राई छन् ।

उनीहरुले बुधबार साँझ साढे ७ बजे मालवासेमा ट्रकलाई रोकेर अनावश्यक बखेडा झिकी दादागिरी देखाउँदै चालकलाई अभद्र व्यवहार गरेकाले पक्राउ गरिएको धनकुटाका प्रहरी प्रमुख गोविन्द अधिकारीले बताए । ‘हाइवेमा जिकज्याक तरिकाले मोटरसाइकल हुइक्याउँदै अरु सवार साधनसँग ठोक्याएर आफै निउ खोज्दै दादागिरी देखाउँदै रहेछन्,’ एसपी अधिकारीले भने,‘आफु जथाभावी मोटरसाइकल हुइक्याउँदै गल्ति गर्ने अनि राजमार्गमा गाडीलाई रोकेर धाक धम्की दिदैं पैसा असुल्न खोजेको भेटेपछि पक्राउ गरेका हौं ।’

एसपी अधिकारीको नेतृत्वमा हाइवेमा गएको प्रहरीको गस्ति टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुविरुद्ध प्रहरीले बिहिबार जिल्ला प्रशासन कार्यालयमा अभद्र व्यवहार सम्बन्धि मुद्दा दर्ता गरेको छ । मुद्दा दायर गरेर म्याद थप गरी उनीहरुलाई अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 354 times, 1 visits today)

epaper

ताजा समाचार

जटिल प्रसूति समस्यामा परेकी १७ वर्षीया महिलाको हवाई उद्धार