गर्मी मौसमसँगै देखिने स्वास्थ्य समस्या

नेपालमा संक्रमित ह्वात्तै बढेकाले दोस्रो लहरको संकेत छ । पछिल्ला दिनमा संक्रमणको संख्या उकालो लाग्दै गर्दा दैनिक संक्रमण, सक्रिय संक्रमण, सघन उपचारमा भएका बिरामी र भेन्टिलेटरमा रहेका बिरामीको संख्या दर्जनबाट सय गुणाले बढोत्तरी छ । संक्रमितमा ६० प्रतिशत बढी यूके भेरियन्ट देखिएका छन् । पहिलेको कोरोना १ जनाले ६ जनालाई सार्न सक्ने देखिए पनि नयाँले ४० जनासम्मलाई सार्न सक्छ । बेलायती भेरियन्ट भएका संक्रमितमा ११ देखि २० वर्ष उमेर समूहका मात्र २२ प्रतिशत र १० वर्षमुनिका ४ प्रतिशत छन् । अमेरिकाको खोजमा संक्रमणले गर्दा सघन उपचार चाहिने वयस्कभन्दा बामे सर्ने बालबालिकाको शरीरमा यूके भेरियन्ट भाइरसको मात्रा बढी पाइएको थियो । बच्चामा संक्रमणको लुकेको स्रोतका रूपमा देखिनुका साथै समुदायमा संक्रमणवाहकका रूपमा रहेको छ ।

जहाँ भिड त्यहां कोभिड भन्दै कोभिड १९ को उकालो लाग्दा ग्राफलाई मध्यनजर गर्दै सरकारले स्वास्थ्य मापदण्ड पालनासँगै भिडभाड नियन्त्रणमा मुख्य ध्यान केन्द्रित गर्दै छ । सबैले मापदण्ड पालना गरे लकडाउनको अवस्थासम्म पुग्न नपर्ने आंकलन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ जनाभन्दा बढी भेला नहुन आग्रह गरेको छ । रात्रिकालीन व्यवसाय तथा रेस्टुरेन्टहरू राति कडाइका साथ बन्द गर्न तथा संक्रमणको अवस्था हेरी ठूला सहरमा ५ सयभन्दा बढी र साना सहरमा १ सयभन्दा बढी सक्रिय संक्रमित देखिएमा आवागमन व्यवस्थित गर्न, स्कुल, कलेज, पार्टी प्यालेस, सिनेमा हल, भेटघाट, जुलुस सबै बन्द गर्दै अनलाइन सञ्चालन गरिरहेका छन् । गत सालजस्तै सबैतिर एउटै रणनीति लगाउने भुल नगरी भिड हुने सहर र नहुने सहरमा फरकफरक रणनीति अपनाउने नीति लिँदै छ ।

कोरोनाको महामारीमा जनस्वास्थ्यका मापदण्ड पालना गर्दा पनि धेरै संक्रामक रोगबाट बच्न सकिन्छ

गर्मीयाम : दिनपछि रात भनेजस्तै समय परिवर्तन र चक्रसँगै जाडो मौसमपछि गर्मी मौसम त्यसपछि वर्षा मौसम आउने गर्दछ । वातावरण परिवर्तनसँँगै मानिसको स्वास्थ्यमा प्रत्यक्ष–अप्रत्यक्ष प्रभाव पर्दछ नै । गर्मी महिना स्वास्थ्यको दृष्टिले संवेदनशील हुन्छ । सरसफाइको कमी, सडेगलेका फलफूल, जथाभावी खाना र पानीजस्ता कुरामा ध्यान नदिँदा रोगले आक्रमण गर्न सक्ने सम्भावना रहन्छ । बासी, सडेगलेका फोहोर खानेकुरा, फोहोर बानीव्यहोरा र फोहोर पानीको प्रयोग नै यस समयको रोग लाग्ने मुख्य कारण हो ।

मौसमको सुरुवातसँगै टाइफाइड, प्याराटाइफाइड, जन्डिस, हैजा, झाडापखाला, पोलियो, जुका, जापनिज इन्सेफलाइटिस, औलो, कालाज्वर, तथा हेपाटाइटिसजस्ता रोगहरू देखापर्दछन् । खानेपानी उमालेर खाँदा यस्ता समस्या ८० प्रतिशतले आफंै कम हुन्छ । मुलुकमा देखापर्ने जनश्वास्थ्य समस्या खासगरी गरिबी, विपन्नता, अशिक्षा, पोषणयुक्त खानाको अभाव, प्रशस्त खाना खान नपाउनु, सरसफाइ तथा हेरचाहको अभाववाट उत्पन्न हुने गरेको छ । त्यसैमा अझ उपचारका लागि स्वास्थ्य संस्थामा लग्ने प्रचलनको अभावले महामारीको रूप पनि लिने गरेको छ । यस मौसममा हुने सरुवा रोग केही श्वासप्रश्वास र धेरैजसो पाचन प्रणालीसँग सम्बन्धित हुन्छन् । गर्मी मौसममा धेरैजसो रोग फोहोर खाना र पानीबाट लाग्ने भएकाले पाचन प्रणालीमा असर पु-याउँछ ।

कोभिड–१९ को उकालो लागिरहेको ग्राफलाई मध्यनजर गर्दै सरकारले स्वास्थ्य मापदण्ड पालनासँगै भिडभाड नियन्त्रणमा मुख्य ध्यान केन्द्रित गर्दै छ

विशेषगरी काँचो र नपाकेको मासु, बासी खाना, खाना बढी खाने, गह्रौं पचाउन नसकिने खाद्य पदार्थ प्रमुखतया चिल्लोले फुड प्वाइजनिङ हुन्छ । यस्ता बिरामीलाई वान्ता हुने, पखाला लाग्ने, ज्वरो आउने हुन्छ । भिब्रियो कोलेरा नामक ब्याक्टेरियाले आन्द्रामा संक्रमण गर्दा हैजा लाग्छ । तीव्र संक्रमणयुक्त यो रोग झिँगा भन्किएको र फोहोर खानेकुरा खाए लाग्छ । हैजा लागेपछि धेरैपटक दिसा र वान्ता एकैपटक लागिरहन्छ त्यसैले तीव्र गतिमा जलहरण गरी विरामी शिथिल भएर हलचल गर्न नसक्ने अवस्थामा पुग्छ बिरामीकै दिसामार्फत फैलिइ महामारीकै रूप लिन्छ हैजाले । यसमा दिशा चौलानी पानीजस्तो पातलो हुन्छ ।

पटकपटक पातलो दिसा (तीन पटकभन्दा बढी) हुनुलाई झाडा पखाला भनिन्छ । यसले शरीरमा भएको पानी र लवणको मात्रालाई तुरुन्तै कम गर्ने भएकाले शरीरमा विभिन्न किसिमका जलविनियोजनसम्बन्धी स्वास्थ्य समस्याहरू देखापर्दछन् । वान्ता र पखालासँगै भयो भने स्वास्थ्यका दृष्टिले खतरनाक मानिन्छ । यस्तो पखाला पुरानो कोलाइटिस, अपच, तीव्र चिन्ता, काँचोकचिलो, बासी खानाले नै प्रमुखतया लगाउँछ । जसमा दूषित खाना, पानी र फोहर हातद्वारा विषाणु, जीवाणु र परजीवी एकबाट अर्को व्यक्तिमा सर्दछन् ।

गर्मीमा पसीना आउँदा शरीर राम्रोसित सफा भएको हँुदैन । जसले गर्दा शरीरको छालामा रहेको रांै छिद्रहरू बन्द हुन्छन् । चिलाउने घमौरा आउँछन् । छाला रातो हुन्छ । शरीरमा ससाना राता राता दानाहरू निस्किन्छन् । निरन्तर रूपमा चिलाउनाले दानाहरू ठूलाठूला हुने, पाक्ने र घाउ हुने गर्दछ । घमौराबाट बच्नका लागि दैनिक दुईपटक बिहान र बेलुका स्वच्छ चिसो पानीले नुहाउनुपर्दछ । लामो समयसम्म शरीर खुला वा नांगो राख्नुहँुदैन । पातलो सुती कपडा लगाउनुपर्दछ ।

अरू समयको तुलनामा गर्मी तथा वर्षामा तराईतिर बढी लामखुट्टे लाग्छन् । जसले गर्दा उच्च र तीव्र ज्वरो हुने डेंगु, फिलेरिया, इन्सेफलाइटिस, मेनिन्जाइटिस हुने सम्भावना रहन्छ । त्यसैगरी, सेन्डफलाइले बिरामीको छाला कालो हुने, कलेजो सुन्निने, कालाजर लगाउँछ । लामखुट्टेजन्य रोगबाट बच्न लामखुट्टेको विकास र जीवनचक्र पूरा हुन दिनुहुँदैन । जसका लागि लामखुट्टेको टोकाइबाट मानिस जोगिनुपर्दछ । लामखुट्टेको बच्चा, लामखुट्टे तथा परजीवी नाश गर्न, लामखुट्टेको टोकाइबाट बच्न जनचेतनामा अभिवृद्धि गरी उपरोक्त महामारीलाई रोक्न सकिन्छ ।

सरसफाइको कमी, चर्पीको राम्रो व्यवस्था नभएको, शुद्ध खानेपानीको अभाव, झिंगा र अन्य किराफट्यांग्राको बढी प्रकोप भएको ठाउँमा बढी देखिने संक्रामक रोग टाइफाइड हो । झिंगा, संक्रमित माटो र फोहर हातले खानेकुरा बनाउँदा रोग सर्न सक्दछ । यसमा ज्वरो बेस्सरी आउँछ, पाचन प्रणालीसँग सम्बन्धित लक्षणका साथ । टाइफाइडलाई नेपालीमा विषमज्वर अथवा म्यादी ज्वरो पनि भनिन्छ । यो रोग टाइफाइड तथा पाराटाइफाइड ब्याक्टेरिया नामक जीवाणुबाट लाग्छ । बिरामीको दिसा पिसाबबाट दूषित हुन गएको पिउने पानी तथा खानाबाट यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दछ । सुरुमा यो रोग रुघाखोकी लाग्दा जस्तै जिउ तथा टाउको दुख्ने लक्षणबाट सुरु हुन्छ । शरीरको प्रायः सबै भागमा र मुख्य गरी पेटमा गुलाबी दाना आउने, शरीर कम्पन हुने र बिरामी बेहोस पनि हुन सक्छ ।

अन्त्यमा, गर्मी तथा वर्षायाममा विभिन्न किसिमका रोग लाग्न सक्छन् । रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्न नदिनु नै बेस हुन्छ । जुनसुकै उमेर र वर्ग तथा तप्काका मानिसले स्वास्थ्यप्रति सचेत हुनुपर्छ जसका लागि भोजनमा सर्तकता, सफा शुद्ध वा पोटासियम परम्याग्नेटले धोएको खाना, उमालेको किटाणुरहित पानीको प्रयोग गर्नुका साथै खाना खानुअघि र पछि साबुन पानीले हात धुनुपर्दछ र जथाभावी दिसापिसाब नगर्ने, बासी सडेगलेका र अपच हुनेगरी खाना खानुहुँदैन साथै वरिपरिको वातावरण सफा राख्नुपर्दछ । कोरोनाको महामारीमा जनस्वास्थ्यका मापदण्ड पालना गर्दा पनि धेरै संक्रामक रोगबाट बच्न सकिन्छ । रोग हाम्रो शत्रु हो त्यसैले हरेकपटकको सावधानीको जरुरी छ, रोगबाट बच्न ।

तपाइको प्रतिक्रिया
(Visited 523 times, 1 visits today)

epaper

ताजा समाचार

विश्वकप फुटबलः फ्रान्स र नर्वे अन्तिम १६ मा